• १२ मंसिर २०८१, बुधबार

चीनमा नेपाली कन्टेनर प्रवेश

blog

चित्र मिजार

सिन्धुपाल्चोक, चैत २४ गते । नेपाली कन्टेनरले सामान आयातका लागि चिनियाँ क्षेत्र प्रवेश पाउन थालेका छन् । २०७२ साल वैशाख १२ को विनाशकारी भूकम्पपछि पहिलो पटक सामान आयातका लागि नेपाली कन्टेनर चीनको स्वशासित क्षेत्र खासा बजारको रमितेमुनिसम्म जान पाएका हुन् ।

तातोपानी नाकाबाट अहिले दैनिक दर्जनभन्दा बढी कन्टेनर, भ्यान रमितेभन्दा तलको भूभागमा रहेको आयात सेन्टरको यार्डमा सवारी र चालक जान पाइरहेका छन् । उक्त स्थानबाट नेपाली मालवाहक गाडी पुगेर पल्टी गरी सामान आयात गरिरहेका छन् तर भूकम्पले ध्वस्त खासा बजार पुनर्निर्माण भइरहेकाले त्यस स्थानमा नेपाली कन्टेनर जान पाएका छैनन् । 

प्रमुख जिल्ला अधिकारी झक्कप्रसाद आचार्यले तिब्बतको खासा बजारमुनिको रमिते भन्ने स्थानबाट केही तलको क्षेत्रमा रहेको आयात सेन्टर यार्डमा सवारी र चालक सामान आयातका लागि जान पाइरहेको जानकारी दिनुभयो तर अहिलेसम्म औपचारिक पत्र वा विवरण नआए पनि रमितेमुनिको क्षेत्रमा नेपाली मालवाहक गाडी पुगेर सामान आयात गरिरहेको उहाँले थप्नुभयो । विभिन्न चरणमा नेपाल र चीनका अधिकारीबिच भएका बैठकमा चिनियाँ पक्ष सकारात्मक भएर कन्टेनर र चालक जान पाएका जिप्रकाको भनाइ छ ।

रमितेमुनिको मोड क्षेत्रमा टे«लर, कन्टेनर सामान आयातका लागि गइरहेका छन् । चीनको सिगात्सेबाट १३.७५ लामो टे«लरलाई सामान आयात यार्डमा स्थान र प्रवेश निश्चित गरिएको छ । नाका पूर्ण रूपमा सञ्चालनका लागि यो कदम आशालाग्दो रहेको सिन्धुपाल्चोक उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष उमेश प्रधानले बताउनुभयो । तातोपानी नाकालाई पुरानै लयमा फर्काउन चीन सरकारले गरेको उक्त कार्यप्रति नेपाल सरकार र नेपाली व्यापारी व्यवसायीमा उत्साह थपेको प्रधानले टिप्पणी गर्नुभएको छ । चीनले आयातसँगै निर्यातमा पनि चासो देखाएको छ । फलफूल, लत्ताकपडा, विद्युत् सामान आयात भइरहेको छ । 

चीनले तातोपानी नाकालाई थप व्यवस्थित बनाउनका लागि विभिन्न योजना अघि सारेको छ । खासा बजारलाई स्मार्ट सिटी तयार गरी भौतिक पूर्वाधार र संरचना पुनर्निर्माणका कामलाई तीव्र गतिमा अघि बढाएको छ । करिब दुई वर्षभित्र पुनर्निर्माण कार्य सक्ने उसले लक्ष्य लिएको छ । 

भूकम्प र पराकम्पले खासा बजार, रमिते बजार र त्यस भेगका तलका मोड क्षेत्रका चिनियाँ बजार खण्डहर बनेका थिए । खण्डहर बजार छाडेर चीनले आफ्ना नागरिक माथिल्लो बजारमा लगेको थियो । पुनर्निर्माण सकेपछि उसले खासा, रमिते, नाका क्षेत्रमा आफ्ना मानिस राख्ने तयारीमा जुटेको छ । नेपाली मालवाहक गाडी र चालक जान थालेपछि रमिते क्षेत्रमा चिनियाँ होटेल, पसल खुल्न थालेका छन् ।