• २० वैशाख २०८१, बिहिबार

गाजा प्रवेशका लागि चार मार्ग खोल्ने इजरायली घोषणा

blog

जेरुसेलम, चैत २३ गते । संयुक्त राज्य अमेरिकाले गाजा युद्धलाई लिएर आफ्नो नीतिमा तीव्र परिवर्तन आउनसक्ने चेतावनी दिएको केही घण्टापछि इजरायलले भोकमरीको जोखिममा रहेको उत्तरी गाजामा सहायता वितरण गर्न ‘अस्थायी’ अनुमति दिने शुक्रबार घोषणा गरेको छ ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले बिहीबार प्रधानमन्त्री बेन्जामिन नेतन्याहुसँगको ३० मिनेटको टेलिफोन वार्तामा इजरायलप्रतिको अमेरिकी नीति गाजामा रहेका नागरिक र सहायताकर्मीको सुरक्षामा निर्भर रहेको बताउनुभएको थियो ।

त्यसको केही घण्टापछि नै बिहीबार मध्यरातमा नै इजरायलले अवरुद्ध गाजामा थप सहायता मार्ग खोल्ने घोषणा गरेको छ ।

नेतन्याहूको कार्यालयले भनेको छ, “इजरायलको युद्ध क्याबिनेटले अश्दोद बन्दरगाह र एरेजमार्फत सहायता वितरण गर्न अस्थायी अनुमति दिएको छ ।

ह्वाइट हाउसले राष्ट्रपति बाइडेनको आग्रहमा लिइएको उक्त कदमको स्वागत गरेको छ र यसलाई ‘अब पूर्ण र द्रुत रूपमा कार्यान्वयन गरिनुपर्छ’ भनेको छ ।

इजरायलले हमासविरुद्ध छ महिनादेखि जारी युद्धका कारण भएको क्षतिलाई लिएर अन्तर्राष्ट्रिय दबाबको सामना गरिरहेको छ र इजरायलको मुख्य समर्थक वासिङ्टनले कडा आलोचना खेप्नुपरेको छ ।

हमास शासित गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार अक्टोबर ७ मा भएको आक्रमणपछि इजरायलको प्रतिशोधात्मक अभियानले कम्तीमा ३३ हजार ३७ जनाको ज्यान लिइसकेको छ ।

अक्सफामका अनुसार उत्तरी गाजाका प्यालेस्टिनीहरूले जनवरीदेखि दैनिक औसत २४५ क्यालोरीमा मात्र बाँच्नुपरेको छ ।

इजरायलले पटक–पटक सहायता कटौती गरेको र सहायता समूहलाई निशाना बनाएको आरोप परोपकारी संस्थाहरूले लगाउँदै आएका छन् ।  यस हप्ता इजरायलले गाजामा खाद्यान्न वितरण गरिरहेका सात जना मानवीय कार्यकर्ताहरूको ज्यान लिने गरी गरेको आक्रमणले भोकमरी रोक्ने प्रयास र इजरायली दमनलाई उजागर गरेको छ । रासस/एएफपी