• २१ वैशाख २०८१, शुक्रबार

पदक विजेता एरिका र प्रशिक्षक कुशल अमेरिकामा सम्मानित

blog

सम्मानपछि सामूहिक तस्बिर खिचाइँदै ।

काठमाडौँ, चैत २२ गते । नेपालकी चर्चित कराँते खेलाडी एरिका गुरुङ र राष्ट्रिय टिमका प्रशिक्षक कुशल श्रेष्ठ अमेरिकामा सम्मानित हुनुभएको छ ।

१९औँ एसियाली खेलकुद (एसियाड)मा ऐतिहासिक रजत पदक जितेकी एरिका र प्रशिक्ष कुशल युएसए ओपन कराते च्याम्पियनसिपमा सहभागिता जनाउन अमेरिका पुगेको अवस्थामा सम्मान गरिएको हो । 

एरिका र १०औँ साग गेम्सको स्वर्णपदक विजेता रहनुभएका प्रशिक्षक कुशललाई मोमो हाउस ह्युस्टनले १५ सय अमेरिकी डलरसहित बिहीबार सम्मान गरेको हो । खेलाडी र प्रशिक्षक सम्मान कार्यक्रममा टेक्सासको ह्युस्टनमा बस्ने नेपालीको उपस्थिति थियो ।

गत २८ मार्चदेखि अप्रिल १ सम्म अमेरिकाको टेक्सासमा भएको युएसए ओपन कराँते च्याम्पियनसिपमा एरिकाले १८ देखि २० वर्ष उमेरको ६८ केजी तौल समूहमा स्वर्ण र ६८ केजी तौल समूहको खुलामा रजत पदक जित्नुभएको थियो । युएसए ओपन च्याम्पियनसिपमा नेपाली खलाडीले स्वर्ण जितेको यो पहिलो पटक हो । 

एरिकाले अमेरिकामा जितेको यस पदकले आगामी प्रतियोगितालाई थप सहयोग पुग्नेको प्रशिक्षक कुशलले बताउनुभयो । “सम्मानले थप हौसला मिलेको छ । अब २०औँ एसियन गेम्स र आगामी जुलाईमा भुटानमा आयोजना हुने आठौँ साउथ एसियन कराँते च्याम्पियनसिमा पदक जित्न पनि यस प्रतियोगिता फलदायी बनेको विश्वास गरेका छौं,” प्रशिक्षक कुशलले भन्नुभयो ।

उहाँका अनुसार अमेरिका पुगेको कराँते टोली चैत २७ गते नेपाल फर्कनेछ ।