• १३ असोज २०८१, आइतबार

घरधुरीभन्दा लाभग्राही बढी

blog

मुसीकोट समाचारदाता

रुकुमपश्चिम, चैत २२ गते । रुकुमपश्चिममा भूकम्पका कारण घर क्षति भएपछि कायम गरिएका लाभग्राहीको सङ्ख्या घरधुरीभन्दा बढी रहेका पाइएको छ । गत कात्तिक १७ गते जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पका कारण घर क्षति भएकाको विवरण घरधुरीभन्दा बढी पाइएको हो । 

जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी प्रवेश बडुवालका अनुसार अस्थायी आवास निर्माणका क्रममा हालसम्म ३२ हजार ९९६ जना लाभग्राही कायम भएका छन् । करिब ३५ हजार लाभग्राही कायम हुने उहाँको अनुमान छ । केन्द्रीय तथ्याङ्क विभागले २०७८ सालमा गरेको घरधुरी सर्वेक्षण अनुसार आठबिसकोट नगरपालिका, चौरजहारी नगरपालिका, सानीभेरी गाउँपालिका र त्रिवेणी गाउँपालिकाका २३ हजार ९९० घरधुरी छन् तर यी चार स्थानीय तहमा मात्र २८ हजार ६९५ लाभग्राही कायम भएका छन् । अझै पनि स्थानीय तहबाट लाभग्राही कायम भएर आउने क्रम जारी रहेको सहायक प्रमुख जिल्ला अधिकारी बढुवालले बताउनुभयो । 

तथ्याङ्क कार्यालय रुकुमपश्चिमका सुपरिवेक्षक सतीशकुमार चौधरीले जनगणना–२०७८ का क्रममा लिइएको विवरण अनुसार आठबिसकोट नगरपालिकामा सात हजार ५५३ घरधुरी रहेको जानकारी दिनुभयो । यही पालिकामा भूकम्पबाट प्रभावित १० हजार ३९४ घरधुरी लाभग्राही कायम भएका छन् । चौरजहारी नगरपालिकामा छ हजार ८३७ घरधुरी रहेको सरकारी आँकडा छ भने सात हजार ५०२ घर लाभग्राही छन् । 

त्यसै गरी सानीभेरी गाउँपालिकामा छ हजार ७४ घरधुरी लाभग्राही कायम भएका छन् भने यहाँ पाँच हजार २९२ घरधुरी रहेको तथ्याङ्क कार्यालयले जनाएको छ । जिल्लाको मुसीकोट नगरपालिकामा भने आठ हजार ६९३ घरधुरी रहेकामा एक हजार ६६० लाभग्राही कायम भएका छन् । बाँफीकोट गाउँपालिकामा चार हजार ६०७ घरधुरी रहेकामा दुई हजार ६४१ लाभग्राही कायम भएका छन् । सुपरिवेक्षक चौधरीले घरधुरी विवरण सङ्कलन गर्दा खाली रहेका र एउटै व्यक्तिका दुईभन्दा बढी घर पनि गणना गरिएको बताउनुभयो । 

सहायक प्रमुख जिल्ला अधिकारी प्रवेश बढुवालले सरकारले बनाएको भूकम्प प्रभावित घरपरिवारलाई अस्थायी आवास कार्यविधि, २०८० अनुसार स्थानीय तहले लाभग्राही कायम गरेर पठाएको बताउनुभयो । उहाँले यस कार्यमा जिल्ला प्रशासन कार्यालयको भूमिका नरहेको तर सरकारले पठाएको अस्थायी आवास निर्माणको रकम सम्बन्धित पालिकाको खातामा पठाइने गरिएको बताउनुभयो । कार्यविधिले कहिलेसम्म लाभग्राही कायम गरिसक्ने भन्ने यकिन नगरेकाले स्थानीय तहहरूले अझै पनि लाभग्राही कायम गरेर पठाउने गरेको उहाँले जनाउनुभयो । 

आठबिसकोट नगरपालिकाका प्रमुख रवि केसीले झट्ट हेर्दा लाभग्राही बढी देखिए पनि यो स्वाभाविक रहेको दाबी गर्नुभयो । दुई वर्षको बिचमा घरहरू थपिएको, अंशबन्डा गरेकाहरू अलग भएकालगायत कारणले २०७८ को भन्दा हाल घरधुरी बढी भएको उहाँको भनाइ छ । वडास्तरबाटै स्वघोषणा गरेर पीडित आवश्यक प्रक्रिया र कागजातसहित आउने भएकाले पालिकाबाट लाभग्राही कायम गरिएको उहाँले स्पष्ट पार्नुभयो । सरकारले अस्थायी आवासका लागि प्रतिआवास ५० हजार रुपियाँ अनुदान दिने भएपछि धमाधम लाभग्राही यकिनको काम भइरहेको छ । 

हालसम्म ३२ हजार ९९६ लाभग्राहीलाई २५ हजार रुपियाँका दरले पहिलो किस्ताबापतको रकम उपलब्ध गराइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । दोस्रो किस्ता वितरणको काम भने अझै हुन सकिरहेको छैन ।