• १९ वैशाख २०८१, बुधबार

परिवर्तन हुँदै प्रदेश सरकार

blog

काठमाडौँ, चैत २२ गते । सङ्घीय सरकारको सत्ता समीकरण परिवर्तन भएसँगै प्रदेश सरकारको गठबन्धनमा पनि परिवर्तन भएको छ । प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले फागुन २१ गते नेपाल कम्युनिस्ट पार्टी (एमाले) सहितका दलसँग सहकार्य अघि बढाएपछि प्रदेश सरकारमा पनि समीकरण बदलिएको हो । 

सत्ता समीकरण परिवर्तन भएको प्रभाव र प्रमुख सत्ता घटकबिच भएको सहमति अनुसार कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले बुधबार राजीनामा दिनुभएको छ । उहाँको राजीनामासँगै कर्णाली प्रदेश सरकारको नेतृत्व अब एमालेले गर्ने छ । 

यसै गरी गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पनि बुधबारै पदबाट राजीनामा दिनुभएको छ । उहाँले प्रदेश सभालाई सम्बोधन गर्दै राजीनामा दिनुभयो ।  दुवै प्रदेशमा नयाँ सरकार गठनका लागि आह्वान भएको छ । सुदूरपश्चिम र लुम्बिनी प्रदेशमा भने बिहीबार मुख्यमन्त्रीले विश्वासको मत लिने तयारी छ ।

वामपन्थीबिच सहकार्य

नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी नेपालसहितका राजनीतिक दलको गठबन्धन बदलिएपछि प्रदेश सरकारको नेतृत्व गर्ने सन्दर्भमा पनि नयाँ सहमति भएको छ ।  

एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा नेपालसहितका दलले प्रदेश सरकार पुनर्गठनको प्रव्रिmया थालेका छन् । एमाले उपमहासचिव प्रदीपकुमार ज्ञवालीले राष्ट्रिय राजनीतिको आवश्यकता र केन्द्रमा सुरु भएको सत्ता सहकार्य अनुसार प्रदेश सरकार बन्ने बताउनुभयो । उहाँले भन्नुभयो, “छिटो छिटो सरकार परिवर्तन त्यति सुखद् त होइन । यसले आलोचनालाई बल पु¥याउँछ तर अब बिस्तारै प्रदेशको राजनीति स्थिरतातिर जान्छ भन्ने विश्वास गर्न सकिन्छ ।”

माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङले सम्भव भएसम्म वामपन्थी दलबिच सहकार्य हुने बताउनुभयो । उहाँले भन्नुभयो, “मिलेसम्म विचार दृष्टिकोणलाई फराकिलो बनाउने र सहकार्यलाई अघि बढाउने नै हो ।”

सुदूरपश्चिम र कोशीमा तयारी

नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता कमलबहादुर शाह मुख्यमन्त्रीको जिम्मेवारीमा हुनुहुन्छ । माओवादी केन्द्र, एकीकृत समाजवादी, नागरिक उन्मुक्ति पार्टी र एक स्वतन्त्र सांसदको समर्थनमा उहाँ मुख्यमन्त्री बन्नुभयो । तर सङ्घीय सरकारमा समीकरण परिवर्तन भएपछि सुदूरपश्चिम सरकारबाट माओवादीसहित दलका मन्त्री फिर्ता हुनुभएको छ ।  बिहीबार मुख्यमन्त्री शाहले विश्वासको मत लिँदै हुनुहुन्छ । सत्ता जोगाउन उहाँले २७ जना सांसदको साथ चाहिन्छ । 

यसै गरी कोशी प्रदेश सरकार फेर्ने तयारीमा लागेको एमालेले माओवादी केन्द्रका नेतासँगको अनौपचारिक संवाद अघि बढाएको छ । एमाले नेता हिक्मतकुमार कार्कीले कोशी प्रदेशमा सरकार गठनका लागि अनौपचारिक रूपमा संवाद भइरहेको बताउनुभयो । 

विश्वासको मतमा विभाजन

नागरिक उन्मुक्ति पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरी र संस्थापक नेता एवं संरक्षक रेशमलाल चौधरीबिच सहमति हुन नसक्दा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री शाहलाई विश्वासको मत दिने–नदिने सन्दर्भमा नागरिक उन्मुक्ति पार्टीमा दुई धार देखिएको छ । अध्यक्ष चौधरीले मुख्यमन्त्री शाहलाई विश्वासको मत नदिन निर्देशन (ह्विप) जारी गर्नुभएको छ । उहाँले प्रदेश सभाको महत्वपूर्ण निर्णयमा निर्देशन दिने अधिकारी अध्यक्षलाई भएको प्रस्ट पार्नुभएको छ ।  त्यसै गरी नेता चौधरी पक्षका नेता एवं नागरिक उन्मुक्ति पार्टीका प्रदेश संसदीय दलका नेता घनश्याम चौधरीले मुख्यमन्त्री शाहलाई विश्वासको मत दिन निर्देशन जारी गर्नुभएको छ । उहाँ प्रदेश सरकारका मन्त्री पनि हुनुहुन्छ । 

राप्रपाको निर्णय

राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रदेश सरकार गठनका क्रममा सङ्घीय सरकारका घटकलाई साथ नदिने निर्णय गरेको छ । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनका अनुसार पदाधिकारी बैठकले सङ्घीय सरकारमा सहभागी नहुने र प्रदेश सरकारका सन्दर्भमा प्रदेश समितिसँगको समन्वयमा निर्णय लिने निर्णय गरेको छ ।