• १२ साउन २०८१, शनिबार

नागरिक उन्मुक्ति पार्टीका अध्यक्षद्वारा मुख्यमन्त्रीलाई विश्वासको मत नदिन 'ह्विप'

blog

नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रन्जिता श्रेष्ठ चौधरी ।

अविनाश चौधरी

धनगढी, चैत २१ गते । नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रन्जिता श्रेष्ठ चौधरीले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहलाई विश्वासको मत नदिन 'ह्विप' जारी गर्नु भएको छ । 

प्रदेश सभाको महत्त्वपूर्ण निर्णयमा ह्विप लगाउने अधिकार पार्टीको केन्द्रीय अध्यक्षलाई भएको भन्दै उहाँले आज आफ्ना पार्टीका प्रदेश सभा सदस्यहरूका लागि ह्विप जारी गर्नु भएको हो । अध्यक्ष चौधरीले मुख्यमन्त्री शाहले लिने विश्वासको मतको विपक्षमा मतदान गर्न आफ्नो पार्टीका सदस्यहरूलाई निर्देशन दिनुभएको छ । 

सुदूरपश्चिम प्रदेशमा नागरिक उन्मुक्ति पार्टी सरकारमा रहेको छ । सरकारमै रहेको पार्टीलाई सरकारको विपक्षमा मत जाहेर गर्न अध्यक्ष चौधरीले अनौठो निर्देशन जारी गर्नुभएको छ । मुख्यमन्त्री कमलबहादुर शाहले भोलि प्रदेश सभामा विश्वासको मत लिने तय भएको छ । 

यसअघि अध्यक्ष चौधरीले प्रदेश सरकारबाट हट्न आफ्नो पार्टीको प्रदेश संसदीय दललाई निर्देशन दिनु भएको थियो । तर प्रदेश संसदीय दलले उहाँको निर्देशनलाई टेरेको छैन। तर नागरिक उन्मुक्ति पार्टीका संरक्षक एवम् अध्यक्ष रन्जिता पति रेशमलाल चौधरी भने यही सरकारलाई समर्थन गर्ने पक्षमा हुनुहुन्छ । उहाँकै सल्लाहमा प्रदेशमा नागरिक उन्मुक्ति पार्टीले थप मन्त्री पठाएको थियो । यही विषयलाई लिएर नागरिक उन्मुक्ति पार्टीभित्र पछिल्लो समय खैलाबैला मच्चिएको छ । 

अध्यक्ष र संरक्षक नै विभाजित बनेका छन् । सो पार्टीभित्र आन्तरिक विवाद चर्किएको छ ।