• १२ साउन २०८१, शनिबार

सङ्कटमा भेडापालन

blog

भोटे समुदाय

रामबहादुर विक

मार्तडी, चैत २१ गते । बाजुराको बुढीनन्दा नगरपालिका–१० का चीनबहादुर विष्ट गर्मी लागेसँगै भेडा लिएर औलबाट गाउँतिर फर्किंदै हुनुहुन्छ । गत कात्तिकमा लेकबाट औलतिर झरेका विष्ट अहिले लेकतिर फर्किन लाग्नुभएको हो । विष्टसँगै अन्य तीन परिवार पनि छिमेकी जिल्ला अछाममा चरिचरनका लागि लिएका भेडाबाख्रासहित बिच बिचमा बास बस्दै घर (लेकतिर) फर्किंदै छन् । चिसो मौसममा औलतिर झर्ने र गर्मीमा लेकतिर जाने भेडापालकको दैनिकी नै हो । 

भोटे समुदायको मुख्य पेसा भनेकै भेडापालन हो । पुस्तौँ तथा पुर्खादेखि यो पेसा अँगाल्दै आएका विष्ट गर्मीमा भेडा लेक र चिसोमा औल झार्नु दैनिकी नै भएको बताउनुहुन्छ । १५ वर्षको उमेरदेखि बाजेसँगै भेडा गोठालो जाने गरेका विष्टले ६० वसन्त काट्दा पनि सोही पेसालाई निरन्तरता दिँदै आउनुभएको छ । बुढेसकालमा घरमै बसेर आराम गर्नुपर्ने बेलामा पनि उहाँ भने भेडाबाख्रा लिएर लेकबेँसी धाइरहनुभएको छ । भेडाबाख्रा चराउन त सक्नुहुन्न तर पनि भेडाको बथान राख्ने स्थान कुरेर बस्नुहुन्छ । 

बडीमालिका–८, बाउलीमा भेडाको बथान लिएर विष्ट र उहाँकी श्रीमती सुन्तला पुर्खाले अँगालेको पेसाबाट खासै कमाइ नभए पनि गुजारा चल्ने गरेको बताउनुहुन्छ । उहाँहरूको नौ जनाको परिवार छ । छोराहरूले बाजे र बुवाले गरेको पेसा छाड्दै गएको सुन्तलाले सुनाउनुभयो । युवाले गाउँ छाड्ने प्रवृत्तिका कारण यस समुदायको भेडापालन पेसा लोप हुँदै गएको बुढीनन्दा नगरपालिका–१०, पाण्डुसैनका पदम सिंहले बताउनुभयो । बुढापाकाले यो पेसा अँगाले पनि युवा पुस्ता भने पलायन भइसकेको जानकारी उहाँले दिनुभयो ।

“भेडाको ऊन निकालेर केही सामग्री बनाउँछौँ, त्यही सामग्री बेचेर आम्दानी गर्ने गरेका थियौँ,” स्थानीय अगुवा सिंहले भन्नुभयो, “तर अचेल यसको नि महìव हराउन थाल्यो ।” कुनै समय बाजुराको उत्तरी क्षेत्र र हुम्लामा भेडापालक अछाम, बझाङ र डोटीसम्म पुग्ने गरेका थिए । 

अधिकांश युवा विदेश पलायन हुँदा भेडापालन व्यवसाय लोप हुने चिन्ता बढेको छ । गाउँमा पछिल्लो पुस्ताले भेडा गोठालो गर्न मान्दैनन् । सरकारले पनि भेडा पाल्दै आएका किसानका लागि प्राथमिकता नदिएको गुनासो उहाँहरूको छ । 

बुढीनन्दा नगरपालिकाका प्रमु्ख जनक बोहोराले भेडापालन व्यवसाय लोप हुन नदिन र भेडापालक कृषकलाई व्यावसायिक बनाउनका लागि पालिकाले पहल गरिरहेको बताउनुभयो । भेडाबाख्रा मासु र ऊनका लागि आकर्षक व्यवसाय मानिन्छ । उहाँका अनुसार भेडा व्यवसायलाई व्यावसायिक बनाउन उन्नत जातका साँड (बोका) खरिद गर्ने गरिएको छ । भेडापालक किसानलाई मात्र नभई अन्य पशु व्यवसाय गर्दै आएका किसानलाई समेत प्रोत्साहित गर्न नगरपालिकाले सहयोग गर्ने गरेको उहाँले बताउनुभयो ।