• १२ साउन २०८१, शनिबार

बाह्रबर्से सिकाली जात्रा काठमाडौँमा ल्याइने

blog

फाइल तस्बिर ।

काठमाडौँ, चैत २१ गते । सम्पूर्ण मानव जगत्को कल्याण, समृद्धिको कामना गर्दै सिकाली जात्रा १२ बर्से नाच आयोजना गरिने भएको छ । 

सिकाली जात्रा व्यवस्थापन तथा समन्वय समितिद्वारा मङ्गलबार आयोजित कार्यक्रममा खोकनाको सिकालीमा हरेक वर्ष नाचिने देवगण नाच १२ वर्षको अन्तरालमा ललितपुर, काठमाडौँ, कीर्तिपुरलगायतका क्षेत्रमा देखाउने परम्परा अनुसार यही बिहीबार राजधानीमा सिकाली अजिमा नृत्यको आयोजना गरिने जानकारी दिइयो । 

सिकाली जात्रा, अजिमा जात्रा व्यवस्थापन तथा समन्वय समिति एवं ज्यापु महागुठी नगर समिति प्रमुख पञ्चनारायण महर्जनले चैत २२ गते ३ बजे खोकनाको सिकालीबाट देवगण निस्किएपछि पाटनमा भक्तजनबाट पूजा सगुन/प्रसाद ग्रहण गर्दै साँझ ५ बजे काठमाडौँको पचली पुग्ने कार्यक्रम रहेको जानकारी दिनुभयो ।

समितिका अध्यक्ष महर्जनले भन्नुभयो, “यस वर्ष सिकाली जात्रा परम्पराको १२ वर्षे मेला परेको छ । बिहीबार  देवगण काठमाडौँमा प्रवेश गर्ने तिथि परेकाले सोही दिन खोकनाबाट देवगण आएर हनुमानढोकाभित्र नासःतलेजु भगवतीको अगाडि त्रिशूल चोक र कालभैरवपछाडि  देवी नाच प्रदर्शन गर्ने कार्यक्रम रहेको छ ।”

ललितपुर महानगरपालिका–२२ वडाका अध्यक्ष रवीन्द्र महर्जनले यस जात्रामा गोडामा चप्पल, जुत्ता नलगाई, चोखोनितो रहेर देवगणको पहिरन र मुकुण्डो लगाएर रोग, भोक, विपत्ति नास होस् भन्ने कामना गरी नृत्य गर्ने परम्परा रहेको जानकारी दिनुभयो । 

उहाँले देवगण बन्ने व्यक्तिको एक पुस्ता बितेपछि निजको छोराले यस परम्परालाई निरन्तरता दिने प्रचलन रहेको बताउनुभयो ।  सिकाली जात्रा सञ्चालनको ललितपुर महानगरपालिकाले ६० लाख  सहयोग गरेको बताइएको छ । सिकाली जात्रामा काली, विष्णु, भैरव, महादेव, रुद्रायणी, गणेश, हनुमान, कुमार, ब्रह्मा, इन्द्रायणी, महाकाली, कुमारी र वाराही देवगणका रूपमा सहभागी हुने परम्परा रहेको छ ।