• १२ साउन २०८१, शनिबार

उपप्रधानमन्त्री लामिछाने र विश्व बैङ्कका निर्देशक जोर्भोसको शिष्टाचार भेट

blog

उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेसँग भेट गर्नुहुँदै विश्व बैङ्कका देशीय निर्देशक फारिस हदाद जेर्भोस । तस्बिर : गृहमन्त्रीको निजी सचिवालय

काठमाडौं, चैत २० गते । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने र विश्व बैङ्कका देशीय निर्देशक फारिस् हदाद जेर्भोसबिच शिष्टाचार भेट भएको छ। मंगलबार सिंहदरबारमा भएको भेटमा जेर्भोसले सफल कार्यकालको शुभकामना व्यक्त गर्दै विश्व बैङ्कले सामाजिक संरक्षण, डिजिटाइजेशन तथा विपद् व्यवस्थापन समेतका क्षेत्रमा सहयोग गर्न पाउँदा खुसी लागेको बताउनुभयो। 

जेर्भोसले नेपालमा सञ्चालनमा रहेका, निर्माणाधीन अवस्थामा रहेका र परियोजना सम्भाव्यता अध्ययन भइरहेका ठुला जलविद्युत परियोजनाहरूबाट हुन सक्ने विपद् जोखिमलाई मध्यनजर गर्दै विस्तृत विपद् जोखिम न्यूनीकरण परियोजना र तिनै तहका सरकारका संस्थागत क्षमता विकासमा सहयोग गर्न इच्छुक रहेको बताउनुभयो।

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले विश्व बैङ्कले नेपाललाई भूकम्प पश्चात्‌को पुनर्निर्माण, सामाजिक संरक्षण, विपद् व्यवस्थापन लगायत विभिन्न क्षेत्रमा गर्दै आएको सहयोगको लागि आभार प्रकट गर्नुभयो। 

नेपाल र विश्व बैङ्क बिचमा हुने सहकार्यलाई सहज एवं प्रभावकारी बनाउन विगतमा भए गरेका समझदारी पत्र, सम्झौता, प्रतिबद्धता तथा संवादहरूको पुनरावलोकन गर्दै आगामी दिनमा सबल र प्रभावकारी सहकार्य हुने विश्वाससमेत व्यक्त गर्नुभयो।


मन्त्री लामिछानेसँग मंगलबार संयुक्त राष्ट्र सङ्घीय शरणार्थी सम्बन्धी उच्च आयोग (युएनएचसीआर) का देशीय प्रतिनिधि क्यारोलिन स्पान्नथ बर्माले पनि शिष्टाचार भेटघाट गर्नुभयो। 

भेटघाटका क्रममा बर्माले मन्त्री लामिछानेलाई बधाई तथा नयाँ कार्यकालको शुभकामना व्यक्त गर्नुभयो। उहाँले लामो समयदेखि युएनएचसीआर र गृह मन्त्रालयका बिचमा शरणार्थी मामिलाका सम्बन्धमा सौहार्दपूर्ण समन्वय र सहकार्य हुँदै आएकोमा खुसी व्यक्त गर्दै आगामी दिनमा अझ सबल र प्रभावकारी सहकार्य हुने विश्वास प्रकट गर्नुभयो।

यसैगरी उपप्रधान तथा गृह मन्त्री लामिछानेले नेपालको शरणार्थी मामिलालाई व्यवस्थित गर्न युएनएचसीआरले विभिन्न समयमा निर्वाह गरेको भूमिकाको प्रशंसा गर्नुभयो। शरणार्थी मामिलाका सन्दर्भमा आइपर्ने विभिन्न विषयमा परस्पर समन्वय र सहकार्य गर्न मन्त्रालय सधैँ तयार हुने उहाँको भनाइ छ ।