• १२ साउन २०८१, शनिबार

प्रतिनिधि सभामा बिमस्टेक बडापत्रको प्रावधानमाथि छलफल सुरु

blog

काठमाडौं, चैत २० गते । बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको देशको प्रयास (बिमस्टेक) बडा पत्रको प्रावधानमाथि छलफल सुरु भएको छ ।

मङ्गलबार प्रतिनिधि सभा बैठकमा बिमस्टेकको बडा पत्र सांसदबाट अनुमोदन गर्नुपर्ने भएकाले सो सम्बन्धमा छलफल सुरु गरिएको हो । बैठकमा बोल्नुहुँदै एमालेका सांसद रघुजी पन्तले बिमस्टेकबाट नेपालले प्राविधिक, शैक्षिक र अनुसन्धानको क्षेत्रमा फाइदा लिन सक्ने बताउनुभयो । उहाँले क्षेत्रीय सङ्गठनमा भारतको बढी चासो भएको उल्लेख गर्नुहुँदै देशको हितमा यसलाई परिचालन गर्न नेपाल सरकारले विशेष जोड दिनुपर्ने बताउनुभयो ।

सांसद पन्तले भन्नुभयो, ‘‘बिमस्टेकबाट नेपालले ठोस रूपमा कुनै फाइदा लिएको अहिलेसम्म देखिँदैन । त्यसकारण हामीले हेर्नुपर्ने कुरा के छ भने हामीले प्राविधिक, शैक्षिक र अनुसन्धानका विषयहरूमा यसबाट बेनिफिट लिन सक्छौँ । त्यसका लागि पनि धेरै भरपर्ने चाहिँ एक नम्बरमा भारत त्यसपछि थाइल्याण्ड देखिन्छ । र यो जतिसुकै क्षेत्रीय सहयोगका लागि बनाएको सङ्गठन भने पनि यसमा भारत विशेष रुचि देखिन्छ । यसलाई नेपालको हितमा उपयोग गर्न सक्नुपर्छ ।’’

राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डा. स्वर्णिम वाग्लेले बिमस्टेकमा नेपालको सार्वभौमिकतामाथि आँच आउने कुनै पनि प्रावधान नभएकाले त्यसको स्वागत गर्नुपर्ने बताउनुभयो । उहाँले बिमस्टेकलाई सशक्त बनाउन सकियो भने त्यसले नेपालको हित नै गर्ने विश्वास समेत व्यक्त गर्नुभयो ।

उपसभापति वाग्लेले भन्नुभयो, ‘‘हाम्रो सार्वभौमिकतामाथि आँच आउने प्रावधान यसमा छैनन् । त्यसैले म यसको स्वागत गर्न चाहन्छु । आर्थिक उन्नयन, सामाजिक प्रगति, वैज्ञानिक उपलब्धि, शान्ति, स्थायित्व, कनेक्टिभिटी जस्ता मुद्दाहरूमा क्षेत्रीय सहकार्य गर्ने उद्देश्यले बिमस्टेक बल्ल जाग्दैछ । यसलाई हुर्काएर दौडाउन सकियो भने नेपालको हित नै हुन्छ भन्ने हाम्रो पार्टीको मत छ ।’’

सांसद वाग्लेले आर्थिक उन्नयन, सामाजिक प्रगति, वैज्ञानिक उपलब्धि, शान्ति, स्थायित्व, कनेक्टिभिटी जस्ता मुद्दाहरूमा बिमस्टेकले जोड दिएको उल्लेख गर्दै नेपालले पनि त्यसमा सहकार्यको हातलाई बलियो बनाउँदै लैजानुपर्ने आवश्यकता औँल्याउनुभयो ।