• १२ साउन २०८१, शनिबार

हिमाली घोरल संरक्षित वनमा

blog

बैतडी समाचारदाता

बैतडी, चैत २० गते । ग्वाल्लेक संरक्षित वनमा पहिलो पटक हिमाली घोरल बच्चा र भालेसहित देखा परेको छ । सो वन क्षेत्रमा यसअघि रतुवा मृग, जरायो, चितुवा, हिमाली भालुलगायत १६ वटा स्तनधारी जनावर सूचीकृत रहे पनि घोरल भने पहिलो पटक देखा परेको हो । 

दशरथचन्द नगरपालिका र मेलौली नगरपालिकाको मध्य भागमा रहेको ग्वाल्लेक संरक्षित वनको मेलौली नगरपालिका–४, तिताबै क्षेत्रमा तीन वटा हिमाली घोरल देखा परेको डिभिजन वन कार्यालयका प्रमुख दिलीपकुमार यादवले बताउनुभयो । शावक (बच्चा) सहित देखा परेको पोथी घोरल र अर्को भाले रहेको बताइएको छ । ग्वाल्लेक संरक्षित वननजिकैको तिताबैको बाँसपहिरोको गोद्याओराढनजिक अचम्मको जनावर देखिएपछि तस्बिर खिचेको स्थानीय मोहनबहादुर चन्दले बताउनुभयो । 

दृश्यमा कैद भएको पोथी घोरल र शावक शान्त देखिन्छन् । उक्त स्थानमा वन कार्यालयको टोली खटाइएको डिभिजन वन कार्यालयका प्रमुख यादवले जानकारी दिनुभयो । 

संरक्षित वनमा पहिलो पटक देखिएको यो जन्तु हिमालय घोरल नै भएको उहाँले बताउनुभयो । यो प्रजाति नेपालका साथै भारत, भुटान, म्यानमार, पाकिस्तानलगायत देशका समुद्री सतहको आठ सयदेखि दुई हजार आठ सय मिटरका चट्टानी भिरपाखामा पाइने वन कार्यालयले जनाएको छ ।

नेपाल सरकारले सङ्कटापन्न प्रजाति सिलङ्गोलगायत लौठसल्ला पाइने बैतडीको ग्वाल्लेक र सिगास वनलाई संरक्षित वन घोषणा गरेको छ । जथाभाबी सडक निर्माणका कारण वन संरक्षण कार्यक्रम सञ्चालन गर्न भने कठिनाइ भइरहेको बताइएको छ ।