गोरखापत्र समाचारदाता
ललितपुर, फागुन ३० गते । ललितपुर महानगरपालिकाको लखनखेलस्थित नव निर्मित प्रशासकिय भवन (ब्लक सि)को शनिवार उद्घाटन गरिएको छ । ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले सो भवनको उद्घाटन गर्दै महानगरपालिकाका प्रशासनिक काम गर्न सो भवनसहित तीन वटा भवन तयार भएकाले अब नगरबासीले सजिलै महानगरको सेवा लिन सक्ने बताउनुभयो ।
उहाँले महानगरको पुरानो भवनलाई प्रशासनिक भवन ए र गत मङ्सिर २० गते राष्ट्रपतिले उद्घाटन गर्नुभएको भवनलाई बि र यस भवनलाई ललितपुर महानगरको प्रशासनिक भवन सि नाम दिइएको उल्लेख गर्दै नगरबासीका लागि आवश्यक सेवा प्रवाह गर्न हाललाई अन्य भवनको आवश्यकता नपर्ने समेत बताउनुभयो । सो अवसरमा उहाँले यस भवन निर्माण प्रक्रियामा प्राविधिक सहयोग उपलब्ध गराउने परामर्शता कम्पनीलगायतलाई सम्मानपत्र प्रदान गर्नुभयो ।
महानगरका उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले आधुनिक सुविधासहितको अपाङ्गतामैत्री यस भवनबाट ललितपुरका स्थानीयले गुणस्तरीय सेवा पाएर सन्तुष्ट हुने अवसर आएको बताउनुभयो । ललितपुरका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टाराईले विकासका लागि सधैँ सकारात्मक निर्णयसहित डटेर काम गर्ने नगर प्रमुख महर्जनका कारण ललितपुर महानगरलाई नमुना नगरका रुपमा विकास गर्न सक्षम भएको र यस्ता निर्णयमा विविध दृष्टिले आफु समेत संलग्न रहन पाएको भन्दै खुुसी व्यक्त गर्नुभयो ।
महानगरका प्रमुख प्रशासकीय अधिकृत रेखादास श्रेष्ठले महानगरले ए, बि र सि नामाकरणसहित आधुनिक उपकरण, सेवासहितको भवन तयार गरी नगरबासीले हालसम्म विभिन्न स्थानबाट लिनुपर्ने सेवालाई एकतृत रुपमा तीन भवनबाट सेवा प्रवाहका लागि तयार भएको बताउनुभयो । ज्येष्ठ नागरिक, अपाङ्गतामैत्री व्यवस्थासहितको शौचालय, भर्याङ, लिप्ट, ११७ सिटको सेमिनार हलसहित तयार गरिएको र यस भवनबाट वडा-१२ का सम्पूर्ण सेवा र छरिएर विभिन्न स्थानबाट दिने गरिएको महानगरको अन्य प्रशासनिक काम पनि यस भवनबाट दिइने बताउनुभयो ।
महानगर वडा १२ का अध्यक्ष नारायणलाल अवालेले यस भवन निर्माणको प्रक्रियामा मुद्दामामिलादेखि अन्य झन्झटिलो प्रक्रियाका कारण धेरै लामो समय लागे पनि महानगर र स्थानीयको सकारात्मक पहलका कारण निर्माण प्रक्रिया पुरा हुँदा आफु अत्यन्तै खुसी भएको बताउनुभयो । उहाँले नयाँ भवनबाट वडा-१२ का स्थानीयका लागि सुलभ ढङ्गले गुणस्तरीय सेवा प्रवाह गर्ने अवसरका लागि भवन निर्माण प्रक्रियामा सहयोग गर्ने महानगर समूह र सबै सहयोगीहरुप्रति कृतज्ञता व्यक्त गर्नुभयो ।