• १५ वैशाख २०८१, शनिबार

पुरन र मन्सुबको विजयी सुरुवात

blog

बक्सिङमा प्रतिस्पर्धा गर्दै खेलाडी ।

काठमाडौँ, चैत १४ गते । नेपाल एपिएफ क्लबका पुरन राई र लुम्बिनी प्रदेशका मन्सुब बस्नेतले छैटौँ वीर गणेशमान सिंह राष्ट्रिय बक्सिङ प्रतियोगितामा विजयी सुरुवात गर्नुभएको छ । 

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा मङ्गलबारदेखि सुरु भएको प्रतियोगिताको पुरुष ५७ केजी तौलसमूहमा पुरनले मधेश प्रदेशका रबन अलीलाई पराजित गर्नुभयो । मन्सुबले गण्डकी प्रदेशका चन्द्रबहादुर थापाबाट वाकओभर पाउनुभएको थियो । 

गणेशमान सिंह फाउन्डेसनअन्तर्गत वीर गणेशमान सिंह स्पोर्ट्स कमिटी र नेपाल बक्सिङ सङ्घद्वारा संयुक्त रूपमा आयोजित प्रतियोगिताको पुरुष ५१ केजीमा लुम्बिनीका भरत पुनले गण्डकीका रोकी गुरुङ तथा एपिएफका प्रदीप महर्जनले सुदूरपश्चिम प्रदेशका सन्दीप नाथलाई हराउनुभयो । 

पुरुष ६३ केजीमा सुदूरपश्चिमका महेन्द्र चन्दले बागमती प्रदेशका सोहन राई तथा कोशी प्रदेशका एक्लिश शाहीले कर्णाली प्रदेशका रिजन गुरुङलाई पाखा लगाउनुभयो । महिला ५७ केजीमा नेपाल आर्मी लक्लबकी वर्षा श्रेष्ठले बागमतीकी पेमा शेर्पा तथा ६० केजीमा आर्मीकी ललिता महर्जनले लुम्बिनीकी सुजनकुमारी कुमाललाई पन्छाउनुभयो । 

पुरुष ७१ केजीमा एपिएफका विक्रम चौधरीले कोशीका प्रशान्त दाहाललाई, पुरुष ८० केजीमा नेपाल प्रहरी क्लबका प्रदीप पार्कीले मधेशका सरोजकुमार श्रेष्ठ तथा बागमतीका पासाङ शेर्पाले लुम्बिनीका अमर पल्लीलाई हराउनुभयो । 

शनिबारसम्म चल्ने प्रतियोगिताको पूर्व उपप्रधानमन्त्री प्रकाशमान सिंहले एक कार्यक्रमबिच उद्घाटन गर्नुभएको थियो । प्रतियोगिताको पुरुषमा सात र महिलामा ६ गरी १३ स्पर्धामा एक सय पाँच खेलाडीको सहभागिता रहेको नेपाल बक्सिङ सङ्घले जनाएको छ । 

प्रतियोगितामा प्रत्येक स्पर्धामा शीर्ष तीन स्थान हात पार्ने खेलाडीले क्रमशः २५ हजार, १५ हजार र ७५÷७५ सय रुपियाँ पुरस्कार प्राप्त गर्नेछन् । यस्तै उत्कृष्ट पुरुष÷महिला खेलाडीलाई जनही ५० हजार रुपियाँ प्रदान गरिने आयोजकले जनाएको छ ।