• ६ जेठ २०८१, आइतबार

नयाँ वर्षको खाना: मिठा परिकार खाँदा होश गर्न चिकित्सकको सुझाव

blog

सिर्जना खत्री 

काठमाडौं,  वैशाख १ गते । आजबाट हामीले नयाँ वर्षलाई स्वागत गरेका छौँ। २०७९ सालको स्वागतका लागि नेपाली पर्वकै रुपमा हामी मनाउँदैछाैँ । नयाँ वर्षसँगै आउने नयाँ उमङ्ग र उल्लासको अवसरमा नयाँ योजनाका साथै नयाँ कामहरुको थालनी गर्ने दिनका रुपमा लिइन्छ । वर्षभरि रमाइलो होस् भन्ने कामनाका साथ पछिल्लो समय नयाँ वर्षलार्ई धूमधाममा साथ मनाउने प्रचलन नेपालीहरुका बीचमा बढ्दै गएको छ । 

नयाँ वर्षलाई मित्रता एकता तथा सद्भावको पर्वका रुपमा पनि लिइन्छ । यो दिन आफन्तहरु भेला भएर विभिन्न मिठा परिकार पकाएर खाने गरिन्छ । त्यस्तैगरी, नयाँ वर्षमा परिवार–परिवार मिलेर घुम्न जाने, पिक्निक जाने प्रचलन बढ्दै गइरहेको छ । घरबाट बाहिर गएको बेलामा घरमा बनाएर खाना लैजानुभन्दा पनि बजारमा पाइने विभिन्न परिकारका खाद्यान्नको उपभोग बढी हुने गर्छ । 

बच्चाहरुलाई भुलाउन आइसक्रिम, केक, पाउरोटीजस्ता खानेकुरा दिइन्छ । बेकरी आइटमहरु केक, पाउरोटी, आइसक्रिमका साथै फास्टफुड र चिल्लोमा तारेर बनाइने मिठाइ, समोसा, पुरीलगायतका खानेकुरा खाने प्रचलन नेपाली समाजमा झन् बढ्दै गएको छ । 

यस्ता खानेकुरा खाँदा स्वास्थ्यमा समस्या आई वर्षभर नै अस्पताल धाउनुपर्ने अवस्था आउन सक्ने चिकित्सक बताउँछन् । नेपालमा प्रयोग हुने हानिकारक तेलजन्य परिकारका कारण कम उमेरमा नै हृदयाघात, मतिष्कघात, उच्च रक्तचाप, मघुमेह, मोटोपन र अन्य धेरै रोगको समस्या देखिनुका साथै अकालमै मृत्यु हुने गरेको तथ्यांकले देखाएको छ ।  

बजारमा उपलब्ध कतिपय तेलकै कारण अस्पतालमा मुटु र मिर्गौलाका समस्या लिएर आउने बढेको चिकित्सकको अनुभव छ । 

यसको प्रमुख कारण मानिसहरुले दैनिक उपभोग गरिने हानिकारक चिल्लोयुक्त खाना र यसको अधिक प्रयोगका साथै शारीरिक व्यायामको कमीले हो । चिल्लोयुक्त खानामा अत्यधिक मात्रामा ट्रान्सफ्याट हुनेहुँदा यस्ता खानेकुरा नखान सुझाव दिनुहुन्छ, वरिष्ठ कार्डियोभास्कुलर सर्जन डा. प्रेम राज वैद्य । 

प्राकृतिक स्रोतबाट प्राप्त हुने ट्रान्सफ्याटको अनुपातमा निकै कम हुन्छ । रातो मासुमा ५ देखि १० प्रतिशतसम्म ट्रान्सफ्याट हुन्छ । दूध, दही, घिउमा एक–दुई प्रतिशत मात्र ट्रान्सफ्याट हुन्छ, जसलाई खानु सुरक्षित मानिन्छ । 

डा. वैद्यका अनुसार, यस्ता खानेकुराले मानिसको शरीरमा कोलेस्ट्रोलको सन्तुलनमा गडबडी ल्याउँछ । 

“यस्ता खानाले स्वास्थ्यमा फाइदा गर्ने एचडिएल कोलेस्ट्रोल घटाउँछ र खराब गर्ने एलडिएच कोलेस्ट्रोल बढाउँछ,” उहाँले भन्नुभयो । कोलेस्ट्रोल जमेर धमनीमा अवरोध भएर हृदयाघात हुने वैद्य बताउनुहुन्छ । 

उहाँले भन्नुभयो, “धमनीको अवरोध भएपछि रक्तचाप पनि बढ्छ, जसका कारण स्ट्रोक मतिस्क घात र हृदयाघात पनि हुन सक्छ ।”  विश्व स्वास्थ्य सङ्गठनको र विश्वव्यापी मान्यता अनुसार ट्रान्सफ्याट हुँदै नभएको वा दुई प्रतिशत भन्दा कम भएको खानेकुरा हानिकारक हुँदैन ।

ट्रान्सफ्याट मिसिएका खाना खाँदा मानिसको मुटु, रक्तनली, मिर्गौला र मस्तिष्कमा गम्भीर असर पु¥याउने र यसले मानिसको मुत्युदर पनि बढाउन थालेको अनुसन्धानमा पनि पत्ता लागेको छ । त्यसैगरी, विश्वभर नै ट्रान्सफ्याट भएका खाद्यान्नलाई प्रतिबन्ध लगाउने अभियान शुरु गरिएको  छ । 

नेपालमा प्रयोग हुने हानिकारक तेलजन्य परिकारका कारण कम उमेरमा नै हृदयाघात, मतिष्कघात, उच्च रक्तचाप, मघुमेह, मोटोपन र अन्य धेरै रोगको समस्या देखिनुका साथै अकालमै मृत्यु हुने गरेको तथ्यांकले देखाएको छ । 

नयाँ अध्ययन अनुसार, ट्रान्सफ्याटयुक्त खानाको प्रयोगका कारण विश्वमा पाँच लाखभन्दा बढी मानिसको मृत्यु हुने गरेको छ । विश्व बजारमा उपलब्ध गराइने खाद्यवस्तुलाई कारखानामा उत्पादन गरिएको ट्रान्सफ्याक्टमुक्त बनाई त्यसमा स्वस्थकर तेल उपलब्ध गराउन सकिएमा प्रतिवर्ष पाँच लाख मानिसको जीवन बचाउन सकिने तथ्य अध्ययनले देखाएको छ ।

त्यसैले, सन् २०२३ सम्ममा औद्योगिक ट्रान्सफ्याटको मात्रा दुई प्रतिशतमा झार्ने लक्ष्य विश्व स्वास्थ्य संगठनको छ । अहिले विश्वका ४० मुलुकले ट्रान्सफ्याट दुई प्रतिशतमा झारिसकेका छन् । 

ट्रान्सफ्याट भनेको के हो ?

चिकित्सकका अनुसार ट्रान्सफ्याटलाई हानिकारक चिल्लोको रुपमा लिइन्छ । यसलाई ट्रान्सफ्याट्टी एसिड पनि भन्ने गरिन्छ । मुख्यतः खानामा दुई किसिमको ट्रान्सफ्याट पाइन्छ । प्राकृतिक ट्रान्सफ्याट जनावरको रातो मासु, दूध, घिउ आदिमा पाइन्छ । जनावरबाट उत्पादन हुने ट्रान्सफ्याट धेरै मात्रामा हुने भएकाले ठिक्क मात्रामा प्रयोग गर्दा खासै हानि नगर्ने चिकित्सक वैद्य बताउनुहुन्छ । 

कृत्रिम ट्रान्सफ्याट भने वनस्पति तेलमा हाइड्रोजनको मिश्रणबाट कारखानामा बनाइन्छ । यसको थोरै प्रयोगले पनि मानिसको शरीरमा हानि पु¥याउँछ । उहाँका अनुसार यस्तो ट्रान्सफ्याट सामान्य कोठाको तापक्रममा पनि जम्ने गर्दछ । चिकित्सकका अनुसार वनस्पती घिउमा ३५ देखि ६५ प्रतिशतसम्म ट्रान्सफ्याट भएको पाइन्छ । 

यसको तुलनामा प्राकृतिक स्रोतबाट प्राप्त हुने ट्रान्सफ्याटको अनुपातमा निकै कम हुन्छ । रातो मासुमा ५ देखि १० प्रतिशतसम्म ट्रान्सफ्याट हुन्छ । दूध, दही, घिउमा एक–दुई प्रतिशत मात्र ट्रान्सफ्याट हुन्छ, जसलाई खानु सुरक्षित मानिन्छ । 

ट्रान्सफ्याटयुक्त तेल खानै नहुने चाँहि होइन । पूरा तेलको २ प्रतिशतभन्दा कम ट्रान्सफ्याट भएको तेल खाँदा उपयुक्त हुने वरिष्ठ कार्डियोभास्कुलर सर्जन डा. वैद्यको सुझाव छ । 

कारखानामा बनाइएको बाक्लो तेल वा डाल्डा घिउमा ४५ प्रतिशतसम्म ट्रान्सफ्याट हुने भएकाले यो स्वास्थ्यका लागि धेरै हानिकारक मानिन्छ । यस्ता ट्रान्सफ्याटयुक्त घिउमा बनाइएका मिठाई, सेल माल्पुवा, ग्वारामरी, पुरी, स्वारी, हलुवालगायत अन्य तयारी जंक फुडहरु नखान चिकित्सकको सुझाव छ । 

कम उमेरमै हृदयाघात बढ्नुको कारण 

४० वर्ष नाघेपछि हृदयाघातको खतरा प्राय सबैमा हुन्छ । तर नेपालमा ४० वर्षभन्दा कम उमेरका मानिसको हृदयाघातबाट मृत्यु हुनेको संख्या बढ्दै गएको अस्पतालको तथ्यांकले देखाउँछ । 

डा वैद्यका अनुसार, उमेरकै कारणले बढ्दै जाने यो खतरा रोक्न नसकिए पनि ट्रान्सफ्याक्टको  कारण हुने हृदयाघातलाई रोक्न सकिन्छ । “खराब कोलेस्ट्रोल वृद्धि गर्ने र राम्रो कोलेस्ट्रोल घटाउने यो ट्रान्सफ्याक्टको कारण हुने हृदयाघातलाई रोक्न सकिन्छ । खराब कोलेस्ट्रोल वृद्धि गर्ने र राम्रो कोलेस्ट्रोल घटाउने यो ट्रान्सफ्याक्टलाई नियन्त्रणमा राख्नुपर्छ,” उहाँले भन्नुभयो ।

मानिसलाई कोलेस्ट्रोल नभइ नहुने वस्तु हो । हामीलाई फाइदा गर्ने कोलेस्ट्रोल शरीरमा धेरै हुनुपर्छ र हानि गर्ने कोलेस्ट्रोल कम हुनुपर्छ । शरीरमा बन्ने सबै हार्मोनहरु कोलेस्ट्रोलकै कारण बन्ने हुन्छ । 

घामको किरण मानिसको छालामा परेपछि त्यही कोलेस्ट्रोलबाट भिटामिन डी बन्ने गर्छ । यदि हाम्रो शरीरमा खराब कोलेस्ट्रोल धेरै भयो भने धमनी भित्र जम्छ र यसैको कारणले कम उमेरकाहरुमा हृदयाघात, मतिष्कघात हुन जान्छ,” वरिष्ठ कार्डियोभास्कुलर सर्जन डा. बैद्यले भन्नुभयो । 

जंक फूडमा किन ट्रान्सफ्याक्ट बढी प्रयोग गरिन्छ ?

बिस्कुट, कुकिज, केक, पफ, दुनोट, दालमोठ, चाउचाउ, आलुचिप्स, चिजबल, फेन्च फ्राई बर्गर, चाउमिन, माइक्रोेओभनमा बनाइएको पप कर्न, फ्रोजन पिज्जालगायत तारेका अन्य परिकारहरु, कफीमा राखिने तयारी क्रिम आदिमा पनि प्रशस्त मात्रामा ट्रान्सफ्याक्टयुक्त तेल राखिएको हुन्छ । किनभने यस्ता खानेकुराहरु लामोसम्म खान मिल्नेगरी बनाइएको हुन्छ । 

हाइड्रोजन मिश्रित ट्रान्सफ्याक्टयुक्त तेल नबिग्रिने भएकाले रेस्टुराँहरु, खाद्य पसल, पार्टी प्यालेस होटलहरुले हाइड्रोजन मिश्रित घिउ तेल राखेर परिकारहरु तयार गर्ने अध्ययनहरुले देखाएको छ । 

यस्ता खानेकुराहरु डाल्डा घिउमा पकाएको हुन्छ, जसमा ट्रान्सफ्याट धेरै हुन्छ । हाइड्रोजन बनाइएको वनस्पति तेल वा घिउ सस्तो हुनुका साथै परिकार पनि स्वादिष्ट हुनाले व्यापारीहरुले यसको प्रयोग गर्ने चिकित्सक बताउँछन् । 

बजारमा मिठाई पसलहरुमा अधिकांशले मिठाई बनाउन ट्रान्सफ्याक्टयुक्त वनस्पति घिउ तेल नै प्रयोग गर्दछन् । यसले गर्दा नेपालमा वनस्पति तेल घिउको बजार ठूलो छ । 

कुन तेल चाँहि उपयुक्त हो ? 

खसी, बाख्राजस्ता चौपायाको रातो मासु र गाईभैँसीको दूधमा हुने प्राकृतिक ट्रान्सफ्याटले खासै हानि नगर्ने चिकित्सक बताउँछन् । त्यस्तै, उद्योगहरुबाट उत्पादन हुने कृत्रिम ट्रान्सफ्याटले धेरै हानि गर्न सक्दछ । वनस्पति तेललाई धेरैबेर र धेरैपल्ट तताउँदा त्यसमा ट्रान्सफ्याटको मात्रा बढ्दै जान्छ  र त्यसमा पकाएका खानेकुरा हानिकारक हुने चिकित्सक बताउँछन् । 

हाइड्रोजेनेसन नगरिएको शुद्ध वनस्पति तेल प्रयोग गर्नुपर्छ । घरमै बनाएको भए धेरै राम्रो । चिल्लो पद्धार्थको प्रयोग गरेपछि त्यही अनुसार व्यायाम गर्नुपर्ने चिकित्सकको सुझाव छ ।