• १६ वैशाख २०८१, आइतबार

ज्योति (कथा)

blog

खाना बनाउँदै, झकाउँदै गर्ने मेरो बानी नै बसिसकेको थियो । म त्यही तालमा थिएँ । मेरो पढाइ देखेर जल्ने काले अचानक स्याँ... स्याँ... गर्दै आएर छेवैमा बस्यो ।

“निन्द्रा पु-याउँदै छौ ?,” उसले मेरो काँधमा हात राख्यो ।

“काँधमा हात राख्नु हुन्न यार देउता बसेका हुन्छन् ।” मैले उसको हात हटाउँदै भनेँ– “वार्षिक जाँच अर्धवार्षिकमा झारे हुने नि ! छिट्टै पढाइ सकेर घर जानु छ ।”

उसले मेरो अनुहारमा दृष्टि गाडेर अट्टहास गर्दै भन्यो, “तिम्रो यो रातदिने परिश्रम निरर्थक देख्छु म ।” 

“परिश्रम पनि निरर्थक हुन्छ !,” मैले आँखा तरेँ । 

“बिचरा !” यति मात्र भनेर उसले कटाक्ष ग-यो ।

त्यसरी जिस्क्याउने आँट कहाँ थियो र कालेको ! उसको फूर्ति देखेर गम्भीर भएँ । एकछिन घोरिएपछि सोधेँ, “तिम्रो विचार के हो खुलस्त पार न !”

“एउटा खबर पाएको थिएँ । तात्तातै सुनाउँछु भनेर दौडिँदै आएको हुँ । तर त्यसले तिम्रो अहङ्कार मात्रै हैन, अनुहारको रङ पनि उतार्छ कि भन्ने पो लाग्न थाल्यो ।” यति भनेर मेरो प्रतिव्रिmया हेर्न थाल्यो ऊ ।

म अत्यन्त भावुक प्रवृतिको मान्छे । मेरो अनुहारलाई मनको ऐनाभन्दा अतिशयोक्ति नहोला । कालेको कुरा र उसको अनुहारमा देखिएको चञ्चलताले मेरो मन झस्कियो । त्यो झस्काइ मेरो अनुहारमा आएर थुप्रिएछ । 

“तिम्रो अनुुहारको चमक उत्री त हाल्यो ! ज्योतिको बिहे धुमधामसित भयो रे ! भन्ने खबर सुनाउन आएको थिएँ भन्दा के फरक पर्ला र !” उसले आफ्नो खबरको वजन घटे झैँ गरेर भन्यो साथमा खल्लो मुस्कान दियो ।

त्यस सन्देशको भाव मेरो जिउमा जसरी फैलिँदै गयो उसैगरी आफू बसेको जमिन भासिए जस्तो भयो । मेरा दुवै हात आफू बसेको स्टुल अँठ्याउन पुगे । मैले आँखा चिम्लेँ । केहीबेरसम्म चिम्लिरहेँ । मेरी ज्योति गई ! अब मैले कसलाई देख्छु । के देख्छु । मैले आँखा उघारेर वरपर हेरेँ । उस्तै त देखिन्थ्यो । सब थोक उस्ताको उस्तै ! आफैँलाई चिमोट्दा झसङ्ग भएँ म । यो कुनै भ्रम हैन भन्ने विचारले टाउको हल्लाएँ । मैले आफूलाई मात्रै सुम्पिनु थियो भने कल्पनाको संसारबाट किन तानेकी मलाई ? आफैँले तोडिदिने, भुलिदिने वाचाबन्धनले किन बाँधेकी ! किन ? प्रलय जाने गरी चिच्च्याउन सक्ने भए फेरि सृष्टि गर भनेर भगवान्को काम बढाइदिन्थेँ । 

कल्पनातीत खबरले मेरो जिउ झनझनाउँदै गइरहेको थियो । मैले आफ्नै कानमा दिएँ एक झापु । अनि दाह्रा किट्किटाउँदै भनेँ, “अचानक उल्टोपाल्टो पो सुन्न थालिस् । यस्तो अशुभ समाचार ग्रहण गर्दा फुट्न किन नसकेको ! खै, दोहो¥या त !” मैले कान थापेँ ।

फेरि चोट पाइन्छ जस्तो गरेर ट्वाँ... परिरह्यो कान । कान्छीऔँलो कोचेर जोर जोरले हल्लाउन थालेँ । 

ममाथि देखिएको अस्वाभाविक भावभङ्गीले कालेलाई तर्साएछ । उसको अनुहार फिक्का पर्दै गयो । कर्के आँखाले मतिर हेर्दै बिस्तारो बिस्तारो सर्दै ढोकामा पुग्यो । उसको सन्देशले मलाई अर्धपागल जस्तो बनाइदिएको थियो । कान कोट्याउन छोडेर म आफैँलाई चिथोर्न थालेँ । काले बिस्तारै उठेर सुस्तरी पाइला चाल्दै बाहिरियो । 

“काले ! म यहाँ आएकै थिइनँ, मैले केही भनेकै छैनँ... भन्ने कसम खाँदै जा न !”

मेरो वाक्यलाई पछाडिबाट आएको झटारो जस्तो ठानेर भाग्यो ऊ । मेरो दृष्टिले ओझेल नहुन्जेल पछ्यायो उसलाई ।

मैले के सुनेँ । किन सुनेँ । कसको के बिराएको थिएँ र ! के मेरो बायाँ आँखो फरफराएको थियो ? एकछिन सम्झने प्रयत्न गरेँ । अँह, मेरो आँखो फरफराएन । धुमधामको बिहेलाई मागी बिहे भनिन्छ । बिहेको कुरा चल्दा उसले मलाई सम्झी होली । मलाई बाडुली लागेको थियो कि ! फेरि टोलाएँ म । अहँ, मलाई कुनै सम्झनाले घोचेन । कुनै अपसकुनबिना नै मेरो जीवन टुङ्गियो त ! ज्योति डुबेकै हो त ! कसैले छिनेकै हो त ! तिमी मेरो म तिम्रो... भन्ने त्यसको लयात्मक स्वर अर्कैतिर सरेको हो त ! 

यति ठुलो घटना घट्दा सानोतिनो सङ्केत त मिल्नै पर्ने हो । मृत्यु हुनुअगावै रोग लाग्नु अथवा बुढ्यौली आउनु भने जस्तो कुनै निहुँ वा लक्षण देखिनुपर्ने हैन र ! मेरो माया त्यति कमजोर थियो त !... सोच्दासोच्दै मेरो सोचाइ अवचेतन अवस्थामा पुग्यो । लगभग एक महिना अगाडि सपनामा कोही आएर मेरो बायाँ अङ्ग माग्यो । आश्चर्यमा डुब्नुको साटो खितखिताएँ म । मेरो बायाँ अङ्ग सकसक्याउने, चिलाउने हुन थाल्यो । तर कन्याउन सकिनँ । कस्तो हास्यास्पद सपना थियो । आधा अङ्ग माग्नुको अर्थ के थियो ? मैले त्यसको अर्थ लगाउन सकिनँ । तर त्यस सपनाले मेरो खोपडीमा जरा गाड्यो । बेलाबखत घोच्ने गर्न थाल्यो । त्यस घोचाइले मलाई उकुसमुकुस बनाउँदै रह्यो । हल्काफुल्का झु¥याउँदै रह्यो । 

अस्ति रातिकै सपना त हो क्यार ! त्यही आधा अङ्ग माग्ने बदमास थुप्रै मान्छेसमेत झोलीझाम्टा लिएर आयो । ती सबै मिलेर मेरो बायाँ अङ्ग काटेर लिए । रुनु पर्नेमा म खित्का छोडी छोडी हाँसेँ, हाँस्दै रहेँ, पागल जस्तो ! जब ब्युँझेँ सपना सम्झेर उदेग लाग्यो, उदासिएँ । यसको फल अमङ्गलकारी हुन सक्ने शङ्का लाग्यो । किनभने सपनाको फल उल्टो हुन्छ भन्ने बुढापाकाको भनाइ सम्झेँ । साथै म त तिम्रो अर्धाङ्गिनी के भनेर मेरो बायाँ काँधमा झुन्डिने ज्योतिलाई सम्झेँ । यस सम्झनाले मेरो मुटुमा ढ्याङ्ग्रो ठोक्यो । 

के मेरी अर्धाङ्गिनीले छोडेको लक्षण हो त ? बिहे नै नगरी अर्धाङ्गिनीको दाबा गर्थी ऊ । म त लट्ठै पर्थें । हाम्रा बाचा, विचार, विश्वास, माया सबै मिलेर यति धेरै बाँधेका थिए कि बेग्लै हौँ भन्ने लाग्दै लाग्दैनथ्यो । त्यही भएर त्यस्तो सपना आएको हुन सक्छ । कालेले ठिकै भनेको थियो होला । मेरो कानको गल्ती थिएन होला । बित्थामा चड्कन पायो । 

सपनामा मरिमरी हाँस्नुको तात्पर्य डोलीमा चढाउँदा यादगार बन्ने गरी चिच्च्याई चिच्च्याई रोएकी थिई कि ! मलाई सम्झेर । तर जन्तीहरू कस्ती संस्कारी बेहुलीभन्दा हुन् । दुलाहाको सामुन्ने पर्दा आँखा चिम्लेर मलाई सम्झी होली । उसको सहचर बन्नुपर्दा अँधेरो मनपराई होली । मलाई सम्झन । उज्यालोमा मलाई हेर्नै लजाउँछे ! कस्ती लजालु स्वभावकी सुशील स्वास्नी भनेर दङ्ग पर्दो हो मूर्ख दुलाहा ! 

विपनीमा यसरी रुनलाई पो हाँसेको थिएँ कि ! अब रोएर के नै हासिल होला र !... यस प्रकार मेरो सम्झना पनि बेकाबु भइरहेको थियो । जथाभावी लतार्दै मलाई सुरुमा पु¥यायो, उसलाई देखेकै दिन मेरो दृष्टिले टपक्क टिपेर मनमा राखेको हो । दङ्ग प¥यो मन । भाँती भाँतीका सपना सजाउन थाल्यो । त्यो साकार पार्न र अगाडि बढ्नलाई उसको सहयोग खोज्न थाल्यो । बाटोमा बसेर ढुक्न थालेँ । ऊ आउँथी, जान्थी । मेरो दृष्टिले परबाट ल्याउँथ्यो र ओझेल नहुन्जेल पछ्याउँथ्यो । अनि अँधेरिँदै फर्किन्थ्यो । मेरो आकर्षण र भावनाको कुनै सङ्केत देखाइन । मित्रताको प्रस्ताव कसरी राख्नु ! उसको मुखबाट नकारिने आँट थिएन ममाथि । एक त आफू खोटिने, दोस्रो भविष्यको आशा र कल्पनाको आधार टुङ्ग्याउने काम हुने । मानौँ धिक्कारिनलाई जाइलाग्न चाहन्नथेँ म । त्यही भएर लाज छोपे जस्तै मन सम्हाल्न खोजेँ । उसलाई मनबाट निकाल्न खोजेँ । तर सकिनँ । विकल्पमा म कल्पनाको सहारा लिन थालेँ । 

मेरो कल्पनाको गृहस्थी सुरु भयो । कल्पना नै किन नहोस्, न्यायोचित भएन भने सन्तुष्टि मिल्दैन भन्ने मान्यता राख्थेँ । कुनै खटपट जन्मिएमा अक्कलको हतियारले त्यसलाई तह लगाउँथ्यौँ । हामी दुःखले हैन खुसीले बाझाबाझ पाथ्र्यौं । रिसाउनु, खुसाउनु र नखरा देखाउनु जीवन हाँक्ने ऊर्जा ठान्थ्यौँ । 

त्यसलाई सम्झनामा ताजै राख्न र आफ्नो कल्पना फराकिलो बनाउन बाटोमा जान्थेँ र आँखैभरि समेट्थेँ । अनि माइत गएर आएकी ठान्थेँ । नाच्थेँ । रमाउँथेँ । मेरो झुकाव यति सघन भइसकेको थियो कि उसको छाया पनि चिन्न थालेको थिएँ । 

यो सांसारिक गतिविधि एउटा भ्रम हो भन्ने पनि सुनिन्छ । म मेरो कल्पनालाई फाल्तु किन मानौँ ! एक्लै हात हल्लाउनु । मुस्कुराउनु । बडबडाउनु मेरा निम्ति सामान्य हुँदै गएको थियो । मेरो चर्तिकला देख्नेहरू आश्चर्यमा डुब्थे । साहित्यकार हुन आँट्यो कि क्या हो भन्थे । तर साहित्यिक रचनाले हैन मलाई घरगृहस्थीको कल्पनाले उडाइरहन्थ्यो । 

वर्षदिन बितेछ । मलाई कल्पनाको वार्षिकी मनाउन मन लाग्यो । वर्षभरिमा भएगरेका सबै कर्म तौलिँदातौलिँदै पूरै रात बितेछ । बिहान अबेरसम्म सुत्दा पनि आलस्यले छोडेन । मुखमा पानी छ्यापेर भगाएँ । अनि चियाचमेना खाइवरी बाटोमा पुगेँ । अगिल्लो दिन पनि बाटोमा गएर कल्पनाको मलजल समेटेकै थिएँ । अनि निदै उड्ने गरी रातभरि केलाएको थिएँ । भोलिपल्टै बाटोमा दृष्टि बिछ्याउन पुग्नुको कारण अत्यधिक अनुराग बिसर्जन गर्नलाई थियो त ! जसले मेरो निद उडाइदिएको थियो । निकैबेर उभिएपछि आज आउँदिन कि भन्ने पो लाग्यो । छटपटी बढ्दै गइरहेका बेला परबाट आउँदै गरेकी देखिई । मेरो खुसीको सीमा रहेन । गद्गदाएँ । मेरो खुसी अनुहारैभरि नाचेको थियो कि ! उसको दृष्टि पनि मेरो अनुहारमा के परेथ्यो टाँसिएको टाँसियै भयो । उसको अनुहार धपक्क बल्यो । हिँड्नै बिर्सिई । मोहनी जस्तो उसको आकर्षणले मलाई तान्दै लग्यो ।

मैले रातभरि जागा बसेको सपना देखिछ ? कि यसले हेरेरै मात्र आफ्नो चित्त बुझाउन थाल्यो भन्ने विचार गरेर आत्तिई । जेहोस्, बेसै भयो । मेरो खुसीका पखेटा लागे । कुन महिना हो यो, कुन बार हो, आज कुन ग्रहनक्षत्रको दयादृष्टि बस्र्यो ममाथि !... खुसीले उचालिँदाउचालिँदै जब कल्पनाको आड लिएर दिन काटिरहेको यथार्थ सम्झेँ तब तुरुन्त सम्हालिएर वरपर हेरेँ । ऊ ओझेल भइसकेकी थिई । के यो पनि कल्पनै थियो त ! कल्पनै थियो भने म त घरमै हुनुपर्ने ! बाटोमा भए पनि आफ्नै तरफ हुनुपर्ने ! उसले हिँड्ने ठाउँमा कसरी आइपुगेँ । दोधारमाथि दोधार थपिएर मलाई रिँगाइदिएको थियो । 

यो शुभ–सकुन हो कि अपसकुन ? अब आएर यथार्थको बाटो समात्नु ! एक वर्षदेखि जोड्दै लगेको कल्पनाको घरगृहस्थी भल्काइदिनु ! यस अन्योल्याइले मेरो कल्पना अल्झायो । दिनभरि हुँदै रातभरिसम्म कता–कता अट्किरहेँ । बिहान त्यहीँ गएर उभिएँ । बाँकी मेरो कुनै कामै थिएन जस्तो । छिट्टै पुगेछु ढुक्न । निकैबेरपछि आउँदै गरेकी देखिई । पर्खिंदा पर्खिंदा थाकेर हाँस्नै बिर्सेछु । उसको मुस्कानले पो झस्किएको थिएँ । ऊ नजिकिएपछि “चन्द्र !” मैले हात बढाउँदै भनेको थिएँ । 

“ज्योति...!” रसिलो मुस्कानसहित उसले आफ्नो नाम भनेर हात खप्ट्याएकी थिई । 

“चन्द्रकी ज्योति ! त्यही भएर त तिमीलाई देख्न नपाएपछि म मलिन हुँदै गएर पूरै अँधेरिन्छु । दिनमै पर्छ रात ।” मेरो यस उद्गारले उसको हाँसो ह्वात्तै झ¥यो । मोती जस्ता उसका दाँत चम्किँदै गए । झरना कलकलाए झैँ उसको हाँसोले मेरो कान भर्दै गयो । म हेरेको हे¥यै भएँ । इन्धन पाए झैँ मेरो कल्पना जागेर मलाई उडाउन थाल्यो । जब म सम्हालिएँ ऊ ओझेल भइसकेकी थिई । ममाथि थुप्रै खुसी चार्ज भइसकेको रहेछ । त्यसैले उचाल्दै घर पु¥यायो । भोक–शोकले मलाई पहिल्यैदेखि छोडिसकेको थियो । कोठाभित्र पसेर चुकुल लगाएँ अनि नयाँ उपलब्धि सम्झेँ । प्रत्येक वस्तुमा ज्योति र उसको हाँसो फैलिन थाल्यो । म मोहित भएर टोलाइरहेँ । 

सयमसँगै हामी अगाडि बढ्दै गयौँ । बाटोमा मात्रै हैन, फुर्सदमा र एकान्तमा पनि भेट्न थाल्यौँ । हाम्रो माया झाँगिँदै गयो । 

“हामी यसरी जुट्छौँ भन्ने तपाईंलाई विश्वास थियो ?” उसको जिज्ञासामा मैले भनेको थिएँ, “सायद थियो, किनभने म संसारको बेस्ट मान्छे हुँ भन्ने कुरा मेरी आमा बिर्सिनै दिन्नन् । तिमी मेरा निम्ति बेस्ट छ्यौ । त्यही भएर मेरो कल्पनाले हाम्रो घरबार जोडिसकेको थियो ।”

उसले हाँसेर मेरो गालामा चुम्बन दिई । सायद म सही थिएँ । त्यस विचारले झन् हौस्यायो मलाई ।

“पुरुषको बायाँ अङ्ग सानो र स्त्रीको दाहिने अङ्ग ठुलो हुन्छ ।” उसको यस कथनले खितखिताएको थिएँ । मेरो हाँसोलाई मजाक सम्झिछ, “हल्का फरक हुन्छ के !” उसले भनेपछि मेरो नाक समातेर हल्लाउँदै आफ्नो झोँक पनि उतारेकी थिई । प्रायः आफूलाई मेरै अङ्ग ठानेर बायाँ काँधमै झुन्डिरहन मनपराउँथी ऊ । 

एकपल्ट घुमघाम गर्दै हामी मन्दिरमा पुगेका थियौँ । त्यहाँको वातावरणले हामीलाई भगवान्को बारेमा चिन्तनमनन गर्न बाध्य बनायो । “यदि भगवान्ले वर माग भनेका भए तिमी के माग्थ्यौ ?” मैले ठट्टा गरेँ । 

“आफूबाहेक राम्री स्त्री सबै मरिहालून् भन्थेँ, मात्र तिम्रा लागि...” भनेर खितखिताएकी थिई । 

त्यो सबै बिर्सी त्यसले ! यदि त्यस्तो हो भने त्यसलाई भेटेर भुल्नै नसक्ने अवस्थामा पु-याउनु पर्छ । बिर्सेकी छैन भने पश्चात्तापमा डुबाउनु पर्छ । अरूलाई स्वीकार्नु थियो भने मलाई किन जगाएकी ! किन तानेकी कल्पनाको दहबाट !

मेरो मन बारम्बार ज्योतिलाई नै सम्झँदै थियो । मानौँ मेरो मुटुमा ज्योतिकै आगो बलेको थियो । त्यसलाई निभाउने आँट थिएन ममाथि ! बस, तड्पिरहेको थिएँ । ऊ मेरो खप्परमा घुसेदेखि टोलाइरहन्थेँ म ! “ढोका थुनेर के गर्दै छ बाबु !” अभिवावकको स्वरले झसङ्ग हुने स्थितिमा पुगेको थिएँ । “पढ्दै छु” भनेर कुरो बनाउन पनि भुल्न थालेको थिएँ । 

एक दिन आमाले, “बाबु ! चुकुल खोल् त !” भनेको सुनेर टाउको कन्याउन थालेँ । ढोकामा ढ्याक ढ्याक भएपछि ए... चुकुल भनेको त्यहाँ पो छ भन्ने सम्झेँ ।

“आज खाना खाने हैन ?” आमाले आश्चर्य प्रकट गरिन् । 

“खाना” भन्ने शब्दले पनि अल्झाएछ मलाई ! “क्या...” भनेर टोलाएको थिएँ ।

“खाना खाना !” हातले सङ्केत दिँदै आमा दिक्दारिएकी थिइन् । 

“ए... खाना !” मलाई अचानक भोकको अनुभूति भएछ, “हो हो खाने हो...” भनेर टाउको हल्लाउँदै भान्सामा पसेको थिएँ ।

अभिवावकले छोरो मायाजालमा डुब्यो भन्ने पत्ता लगाएछन् । मलाई ठुलै सहरमा पढ्न पठाउने निर्णय सुनाए । 

मलाई ताज्जुब लाग्यो । अभिवावकको त्यो जुक्ति तात्तातै सुनाउन म ज्योतिकहाँ पुगेको थिएँ । उसले केहीबेर घोरिएर टाउको तल–माथि हल्लाउँदै भनी, “पढाइ त टुङ्ग्याउनु नै प¥यो । आफ्नै भविष्यका लागि । त्यसका लागि सहरै सही । तर म पनि एउटा अभिलाषा राख्न चाहन्छु ।”

मैले पुलुक्क उसको मुखमा हेरेँ । तर बोली फुटेन ।

“तिम्रो पढाइको उपलब्धि सुनेर, देखेर गर्वले फुल्न पाइयोस्, हाँस्न पाइयोस्, नाच्न पाइयोस् ...” बोल्दाबोल्दै ऊ भक्कानिएकी थिई । 

अन्ततः मैले पनि पूरै विश्वासिलो पाराले टाउको हल्लाएको थिएँ । अठोट ! मेरो त्यो अठोट सर्वपरी भयो । मानौँ म त्यही ज्योतिका निम्ति उसैको ज्योतिले पढ्थेँ । म कापी–कलम र किताब मात्रै चिन्थेँ । त्यसको परिणामले मेरो छाती फुल्दै आएको थियो । शिक्षाले घमण्ड चुलिनु नपर्ने हो । तर साथीसँगीको प्रतिव्रिmयाले मलाई अहम्–भावको खोल ओढाइदिएको थियो । 

यति हुँदाहुँदै पनि सुटुक्क आएर कालेले त्यस्तो खबर सुनाएर गयो । पत्याऊँ त कसरी पत्याऊँ नपत्याऊँ त कुन दुनियाँमा जाऊँ ! त्यो खबर सुनेदेखि मलाई चिन्ता खानु चिन्ता लाउनु चिन्तासँगै सुत्नु भएको छ । यस्ता तमाम स्मृतिहरू कसरी बिर्सूं म ! 

मैले मनपराउन थालेको वर्षदिनपछि पत्याएकी थिई उसले । मेरै मनलाई ऐना बनाएर बाँचुन्जेलका सपना देख्ने र देखाउने गर्थी । त्यसको खेलौना थिएँ त ! मन भरियो, सकियो । निकैबेर घोरिएँ तर ज्योतिबाहेक केही सोच्नै सकिनँ । केही देख्नै सकिनँ । ऐना झैँ फुटालेको मन जोड्नै सकेनँ । उसले अधिकार जमाएको मेरो बायाँ अङ्गदेखि नै घृणा जाग्न थाल्यो । मैले बायाँ काँध छामेँ, पाखुरो छामेँ, खुट्टो पनि छामेँ, सब ज्योतिसँगै गए जस्ता बिरानो लाग्न थाले । कठ्याङ्ग्रिँदै गइरहेको भान पर्न थाल्यो । नछुऊँ, नहेरूँ जस्तो लाग्न थाल्यो । मेरो चेतना पनि निस्व्रिmय हुँदै गयो । मलाई भाउन्न भएर आयो । अधबेस्रो भएँ ।

००

“चन्द्र ! के भयो तँलाई ? यस्तो हुलिया बनाएर कहाँबाट आइस् ?” बुवाको स्वरले झस्किएर आफ्नो जिउतर्फ हेरेँ । बायाँ काखीमा बैसाखी थियो । 

बायाँ खुट्टो र हात त्यसैमा टाङ्गिएका थिए । मेरो बायाँ आँखो पनि बुझिएको थियो । बायाँपट्टिको मुख पनि बटारिएको थियो । कालेको खबर सुनेदेखि दिन, हप्ता, महिना, वर्ष कति बिते, कसरी बिते थाहा पत्तो थिएन मलाई । मानौँ म चन्द्र हुँ भन्ने पनि जान्दिनँ जस्तो ... ! 

बुवाको स्वर सुनेर घरभित्रबाट बाँकी परिवार फटाफट निस्कन थाले । मलाई देखेर अवाक् देखिन थाले । आश्चर्यमा डुब्न थाले । मलाई चिन्नै सकेनन् जस्तो । यथार्थले सबैको चैन उडायो । के, किन, कसरी, यस्तो के देख्नुप¥यो ? यस्ता अनेक जिज्ञासासहित आत्तिँदै आएर मलाई अँगाल्न थाले । रुँदै चिच्च्याउँदै मलाई सुमसुम्याउन थाले । अनि त मेरो मगजमा फेरि ज्योति जागी । 

“म कहाँ आइपुगेँ ?...” स्वरसँगै वरपर दौडेको मेरो दृष्टिले उपस्थित सबैको सातो उडायो । 

“दैव !...” अभिवावक टाउकोमा हात राखेर भुइँमा थेच्चिए । 

म आफ्नो गन्तव्यतर्फ लम्किएँ । जहाँ पहिलो पटक ज्योतिलाई देखेको थिएँ । भेटेको थिएँ । जुन बाटो ज्योति हिँड्ने गर्थी । त्यहीँ पुगेर उभिनु त थियो मलाई । सायद जीवन छउन्जेल ! आधा जिउ बैसाखीमा टङ्गाएर बाटोमा उभिँदा कस्तो देखिन्छु होला ! मेरो जात्रा हेर्नेहरूको ठेलमठेल हुने छ । जात्रा हेर्न आएकी ज्योति मलाई चिनेर मूर्ति बन्नेछ । म उसको दृष्टिसँगै हराउँदाहराउँदै सायद विलयन हुने छु ।