• १० मंसिर २०८१, सोमबार

पचास रुपियाँको नोट [कथा]

blog

ऐना हेर्न पनि बिर्सिने भइसकेछु । धेरै दिनपछि ऐना हेरेँ । हेर्नु के थियो र ? गढीसकेका आँखाहरू जसलाई मुस्किलले अड्याएर राखेको गुजमुज चाम्रो छाला र त्यसमा वरिपरि कालो पोतोले घर बनाई सकेछन् । गल र गालाका छाला मासु झोल्लिएर तल लत्रिरहेको देख्दा थोते मकै जस्ता मेरा थोतुरे दाँतहरूले हाँस्ने जाँगरै चलाएनन् । 

चार पाइला चाल्दा जिउ फतक्क गल्छ । जसरी हिउँ गल्दै गएर जमिन ओवानो हुँदै जान्छ । हो ! समयले नयाँ समय बोकेर खन्याउने हो ! यही कर्मक्रममा म पनि थोत्रिएर बेकाम भइसकेछु । बितेका पुराना चिजहरूलाई नियाल्दै हिजो जस्तै लागे पनि अनुहारको छाला लुरुक्क तन्किए जस्तै समय तन्केर दिनहरू कति छिटै भागिदिएछन् । कानको सुनाइ, आँखाको देखाइ र गोडाको हिँडाइको रफ्तार क्षीण हुँदै गएको एकैचोटि पो प¥यो । अब भने बाँच्ने रहर पूरा भइसकेको छ । मरेपछि कहाँ पुगुँला मलाई पत्तो छैन । जता पुगुँला, यहाँभन्दा त फरक अवश्य होला । मानिसहरूको ओहोर–दोहोर सडकमा निकै कम छ । यस्तै ओहोर–दोहोरको कालव्रmमभित्र म पनि एक दिन गायब हुने नै छु । 

उहाँ चाँडै जानुभो । सबै भार मेरै थाप्लोमा पर्दा म रन्थनिएको थिएँ । उहाँको गोलो अनुहार र सुस्त बोली अहिले सम्झिरहेछु, “सुभद्रा, अस्तिदेखि मलाई साह्रै गाह्रो भएको छ, ढिला नगरौँ, आज अस्पताल जाऊँ ।” तुरुन्तै हाँस्ने कोसिस गर्दै भन्नुभयो, “हैन के, ठट्टा गरेको ।” पछि थाहा भयो मलाई त्यो उहाँको अन्तिम ठट्टा रहेछ । अन्तिम अवस्थामा पुगिसकेपछि तकियामा मुख लुकाएर भन्नुभएको थियो, “म हल्का भएँ । सबै बोझ तिमीलाई बोकाएर जाँदै छु ।” एकै पटक संसारले मलाई थिचे जस्तो भयो । 

बोकाएको त्यो बोझको भारीले गर्दा म धक फुकाएर रुन सकिनँ । गह्रुँगा समयहरू कसरी सजिलै गइदिए । माथि कुनामा थन्क्याइएको मेरो दाइजोका हन्डाचिन्डा खैरिएर माट्टीएको देख्दा आफैँ हुँ कि भनी झुक्किन्छु । मन बटारिएर पनि किन इच्छा मर्दैन हँ ? भएको एउटै नातिको बिहे गराएर पनाति खेलाउने इच्छा थियो । विदेशमा गएको छ । कहिले...कहिले ? तर अस्ति फोनमा कुरा गर्दा चाँडै आउछु आमा भनेको थियो । हिजो राति छोराबुहारी कुरा गर्दै थिए । एक ठाउँमा कुरा चलाउँदा केटीले सोधेर पठाइन रे, घरमा झारपात छन् कि छैनन् अरे । हरे ! पछि बुझ्दा थाहा भो झारपात भनेको त बुढाबुढी सासुससूरा । यहाँ त घाँस पराल झारपात सबै छौँ । हिजोदेखि दम बढेर घाँटी ख्यार–ख्यार बज्छ । राति ज्वरोले जिउ रनक्क रन्केको थियो । अहिले भने केही बिसेक भए जस्तो लागेको छ ।

बुहारी नानी दौडदै आइन् । “थाहा पाउनु भो आमा ?” “के हो र ?” “मैजुबहालकी कट्टेलनी बज्यै आज बिहानै बित्नुभएछ ।” “ओहो ! पशुपति लगिसके ? कोही धर्मभेटीमा गइदिए हुन्थ्यो ।” बुहारीले उल्टै सोधिन् “उनी हजुरभन्दा दुई वर्ष कान्छी होइनन् र ?” मन झसङ्ग भयो । मन मारेर उत्तर दिएँ “कालले जेठो कान्छो भन्दैन । जसको मिति आको छ ऊ जान्छ ।” अहिले मलाई कट्टेलनी बितेको भन्दा म जेठी भएको बुहारीले सम्झउँदा दुःख लाग्यो । “दुध सकिएछ । कालो चिया ल्याऊँ ?” “पर्दैन भो ।” बुहारीले फत्फताउँदै भनिन् “डेरीको दुध पनि ५० रुपियाँ पुगिसकेछ । कसरी धान्नु यो खर्च यस्तो महँगीमा ।” मैले पनि थपिहालेँ “उहिले एक्काइस सालमा मैले जागिर खाँदा मेरो तलब ५० रुपियाँले घर खर्च सबै पुग्थ्यो । हरे एक पोका दुधको अहिले ५० रुपियाँ ।” “आहा कस्तो सस्तो जमाना हैन आमा ।” “तिमी यहाँ आउँदा त मेरो पेन्सन पाकिसकेको थियो ।” बुहारीलाई एकदम चाख लागेर हो कि उनको अनुहार उज्यालो भयो । झटपट बोलिन् “एकछिन है आमा, पाउडर दुध छ छिट्टै चिया बनाएर ल्याउछु है ।” मैले नाइ..नाइ..भन्दा भन्दै उनी दौडिहालिन् । 

एकछिन् झ्याल बाहिर हेरेँ । सबै चिज अल्छी लाग्दो देखिए । हलुवावेतको रुखबाट काग करायो –‘कागकाग’ एक पसर नरम हावाले गाला छुँदै कता हरायो । आजभोलि किन होला टाढाको कुरा पनि मलाई नजिक लाग्छ । ऊ त्यो काग एकसुरले कराइरहेको छ । त्यही पनि मलाई आफ्नो लाग्न थालिसक्यो । 

“इ..चिया आमा...।” म झसङ्ग भएँ । “ओहो कति चाँडो....।” उनले आँखाको तालसँगै सोधिन् “अनि..मलाई आज सुन्न मन लाग्यो ।” यसरी कहिल्यै हामी सासूबुहारी मनका कुरा भन्न भ्याएका थिएनौँ । मैले पनि कथा हालिदिएँ । लौजा । बाबु पेटमा थियो । उहाँ चलिबस्नु भो । मेरा दुर्दिनहरू सुरु भए । धन्न माइतीमा आमा तगरै हुनुहुन्थ्यो । बाबा आएर कर गर्नुहुन्थ्यो “सुभु...उतै बस ।” माइतमा बस्न मन लागेन । यताउता भनसुन गरेर सानसानो नोकरी लाग्यो । छ महिनामै दुध छुटाएर बाबु उतै मामाघरमा हुक्र्यो ।” बुहारीले बिचैमा सोधिन् “कस्तो नोकरी आमा ?” “उहिले छोरीलाई पढाउने जमाना थिएन । नौ कक्षा पढ्दा पढ्दै कन्या दान दिइहाले । पिउनभन्दा एक तह माथिको बहिदार सरहको स्वास्थ्य परिचारिका र सजिलोका लागि सुडेल्नी भन्ने गर्थे । अस्पतालमा, मातृशिशु कल्यान शाखा अन्तर्गत भएकोले आइमाईहरूलाई सुत्केरी गराउने र परिवार नियोजनको साधन बाँड्ने काम पनि पथ्र्यो । आफ्ना त श्रीमान् चलि बस्नु भयो । त्यस्तो, साधनको आवश्यकतै परेन ।” बुहारीले मुसुमुसु हाँस्दै...हाँसो रोकिन् । 

माथिबाट छोरो कराइहाल्यो “के को लुटपुट हो ? अझै भात पाकेको छैन ? मैले हिजै सम्झाएको हैन आज सबेरै आमाको पेन्सन झिक्न जानु पर्छ भनेर ।” बुहारी नानी भान्छामा दौडिन् । “आमा आमा छिटो तयार हुनुहोस् । बैङ्क र अफिस मैले दुवै ठाउँ भ्याउनु पर्छ । बेला बेलामा छड्के जाँच आएर हैरान पार्छ । झन् गएको महिनादेखि त औँठोछापे मेसिन राखेर कहीँ कतै फुत्किन पाइँदैन ।” हाम्रो गफले विश्राम लियो । झ्यालबाहिर हेरेँ । कताबाट झुक्किएर आएको बादलको थुप्रो तल माथि गोता लगाउँदै भागिहाल्यो । 

पहिलो गाँस निल्न नपाउँदै छोरोले सोधिभ्यायो “अँ आमा पेन्सनपट्टा र चेक झिक्नुभयो ?”  “तयार छ चिन्ता नगर” बुहारीले दुःख मनाउ गर्दै साग थपिन् “ओहो ! साग दिन बिर्सेछु कस्तो होस् भयो आज..। हरे एक मुठा रायोको सागको ५० रुपियाँ, न सकिने भयो बा ।” छोरोले कुरालाई पन्छाउँदै सोध्यो “आजको दिन आमासँग तिमी गैदेऊ, हुन्न ।” आफ्नै सुरमा फतरफतर उनको रोकिएन “बाहिर निस्क्यो कि पैसा छर्दै जानुपर्ने । रत्नपार्कसम्म मात्र जानुपरे पनि आउँदा जाँदा ५० रुपियाँको नोट हिँडिहाल्छ । म त सामान किन्दा होलसेल हो कि हैन । भनेर सोधेर किन्छु । हजारको किनेमा कमसे कम ५० रुपियाँ त बच्ला । त्यही ५० रुपियाँले आधा किलो चिनी टर्छ ।” छोरो खाँदाखाँदै पड्किहाल्यो “बिहानैदेखि कत्ति ५० रुपियाँको रटान हो । मेरो गिदी फ्राइ भएर बिक्री भइसक्यो तिम्रो ५० रुपियाँमा ।” उनी पनि के कम ? “आजकाल के भाछ हजुरलाई ? एकछिन गफगाफ पनि नगर्ने, न गफ गर्न दिने !” 

“मेरो कुरा सुन्यौ ? आजको एक दिन आमासँग गइदेऊ भनेको खै सुन्या ?” बुहारी अलि मत्थर भइन् “बिन्ती छ आजलाई म नसक्ने भएको छु ।” “किन ? के त्यस्तो आइपरेको छ र ?” “श्री राधाकृष्ण सेवा आश्रमको उद्घाटनका लागि बडो मुस्किलले समय निकालेर भारतबाट बालब्रह्मचारी गुरु टहल किशोरजी महाराजको आज कार्यक्रम छ । म जानै पर्छ । त्यहाँ अरू त अरू पुलिसको एआइजी र उनकी श्रीमतीसमेत गुरुको सेवा सत्कारमा व्यस्त छन् । अँ सम्झाइदिनु भयो । आश्रमका लागि अलिकति चन्दा छोडिदिनु होला ।” “चन्दा पनि बुझाउनुपर्ने हो ? ल ल ५० रुपियाँ छोडिदिउँला ।” “लाजमर्दो..काँ ५० रुपियाँको चन्दा भन्नुहुन्छ । कम्तीमा पनि पाँच हजार १११ र चन्दादाताको शिलापत्रमा लेखिने रे ।” उसले मुख अमिलो बनाउँदै झक्र्यो “आ...हुन्न अब सकिँदैन । घरखर्च यति बढी सक्यो । हुनेले पो धेरै दिने हो । नहुनेले ५० रुपियाँ पनि धेरै हो ।” “५० रुपियाँ ? के अचम्म ! कहिलेकसो धर्मकर्ममा पनि मन लगाउनु नि ।” 

बसमा ज्येष्ठ नागरिकको सिटमा बस्ने मौका मिल्यो । भिड पनि त्यतिविधि थिएन । छोराले सहचालकलाई ५० रुपियाँ को नोट दियो । हामी उत्रिने ठाउँ आइसकेछ । हतार...हतार...केहीबेर हिँड्दै बैङ्कमा पुग्यौँ । आज बैङ्कमा त्यति भिडभाड रहेनछ । अनि काम सजिलैसँग निवट्यौँ ।

बैङ्कको कर्मचारीले सोधे, “आमाको पेन्सनको चेक २१ हजार ९५० हजुरसँग ५० रुपियाँको नोट छ ? म हजुरलाई २२ हजार दिन्छु । मैले छोरोलाई पुलुक्क हेरेँ । उसले ५० रुपियाँको नोट दिएर २२ हजार बुझ्यो । हामी फर्केर बस स्टपमा पुग्यौँ । उसले घडी हेर्दै भन्यो “ल ढिला भइसकेछ । एक छिनपछि बस आइहाल्छ । यहाँबाट भाडा २५ रुपियाँ मात्र हो । खलासीले बढी लग्ला । यी...५० रुपियाँ ।” मैले उसको आँखामा सिधै हेरेँ । उसले अप्ठ्यारो मान्दै भन्यो “बसमा पाकेटमारको बिगबिगी छ । भरे आएर अरू हिसाब गरौँला ।” नजिकै आउँदै गरेको ट्याक्सीलाई करायो “ट्याक्सी...।” “आमा म गएँ..।” “कता जाने हजुर ?” ढोका ढ्याम्म लगाउँदै उत्तर दियो “ज्येष्ठ नागरिक, महिला तथा बालबालिका मन्त्रालय, सिंहदरबार ।” “हस् ।” 

बसको अत्तोपत्तो थिएन । आधा घण्टा भइसक्यो । मैले हातको ५० रुपियाँको नोटलाई हेरिरहेँ । चक्कर आए जस्तो भयो । घामको प्रचण्ड तापले टाउको तात्तिएर फुट्ला झैँ भएर भुइँमा थचक्क बसेँ । बिहान सबेरै खाएर होला भोक र तीर्खाले जिउ लल्याङलुलुङ हुँदै गयो । हात कमाउँदै त्यो ५० रुपियाँको नोट बेस्सरी समाते कच्याककुचुक । अझै बस आएन । कताबाट हो आमा र बच्चा बिस्कुट टोक्दै नजिकै आएँ । सडकपारिबाट एक जना दौडदै आएर ठिङ्ग उभियो । हामीतिर एक टकले हेरेर गाउँन थाल्यो “साइली घ्यू खान देउली, माइली बिलौनी तारेर....साइँली माइली घ्यू खान देउली बिलौनी तारेर...बिलाउनी तारेर ..।” गाना सकियो । फुच्चेले सोधिहाल्यो “ए दाइ तिम्रो नाउँ के हो ?” उसले आँखा तर्दै करायो “पूर्णे खत्री....जुठो पर्ति ।” आमाचाहिँले छोरोलाई घचेट्दै भनिन् “चुप..चुप...बौला हो के...।” 

मैले आँखा चिम्म गरेँ । आँखा खोल्दा सबै हिँडिसकेछन् । व्यथाले च्याप्दै ल्यायो । नसा सबै खिचिएर जिउ कक्रक्क पा¥यो । ओठमुख र घाटी सुकेर किक्लिक..किक्लिक हुँदै म भुइँमा सुतिदिएँ । मानिसहरूको हल्ला बढ्दै गयो । कसैले कराएको सुनेँ “एम्बुलेन्स बोलाऊ ११२ नम्बरमा कल गर । महानगरको निःशुल्क एम्बुलेन्स आउँछ ।” मेरा आँखा चिम्लिँदै गए । मुठीमा ५० रुपियाँको नोट ख्याल हुँदैथियो । म हल्का हुँदै तानिँदै गएँ । 

कहाँ हो कहाँ घना वन र दुधिलो पर्वत देखेँ । माथि माथि झुन्डकाझुन्ड मालचरी छरिएर उड्दै गए । मुनि एउटा फुच्चे गोठालो गाई चराउँदै थियो । उसले माथि हेरेर गीति भाकामा सोध्यो “कहाँ जान्छौ मालचरीका बगाल ?” झुन्डबाट कसैले जवाफ फर्काइहाल्यो “भगवान्लाई भेट्न जान्छौ बरीलै..।” फुच्चे जोसिएर करायो भगवान्लाई भेट्न के के लग्यौ पाउर ।” चराहरू सबैले एकै स्वरमा बोले “फूलपाती अक्षता चन्दन बरीलै...।” ओहो अनि बल्ल थाहा पाएँ । कता हो कुन्नि हातबाट छुटिसकेछ ५० रुपियाँको नोट ।” 

  

Author

रमेशजङ्ग थापा