• १२ साउन २०८१, शनिबार

गोरखापत्र समाचार प्रभाव

बालक उपचारका लागि दुई लाख रुपियाँ जुट्यो

blog

आइसियुमा उपचाररत १२ वर्षीय बालक अरुण ऐरी ।

गोकर्ण दयाल

बैतडी, चैत ७ गते । आर्थिक अभावले समयमै उपचार नपाउँदा स्वास्थ्यमा गम्भीर समस्या भएका १२ वर्षीय बालकको विषयमा गोरखापत्रमा समाचार प्रकाशित भएपछि दुई दिनमा करिब दुई लाख रुपियाँ सहयोग जुटेको छ ।

बैतडीको सिगास गाउँपालिका–१, अङडेगाडाका १२ वर्षीय अरुण ऐरीको आर्थिक अभावका कारण उपचारमा कठिनाइ भएको विषयमा चैत ५ गतेको गोरखापत्रमा समाचार प्रकाशित भएको थियो । 

सय जनाभन्दा बढी व्यक्तिले उपचारका लागि नेपालबाट एक लाख ८० हजार र भारतबाट २० हजार गरी दुई लाख रुपियाँ सहयोग गरेका हुन् । बालकको उपचारका लागि बुधबार पनि आर्थिक सहयोग जुट्ने क्रम जारी रहेको बालकका आफन्तले बताएका छन् ।       

केही हप्ताअघि बालकको तिघ्रामा घाउ (गानो) भई उच्च ज्वरो आएको थियो । अस्पताल जाने खर्च नहुँदा जङ्गली जडीबुटीले उपचार गरे पनि निको नहुँदा बालक घरमै बेहोस भएका थिए । 

छरछिमेक मिलेर चैत १ गते डडेलधुरा अस्पताल लगी बालकको उपचार सुरु गरिएको थियो । तर उपचार सम्भव नभएपछि धनगढी अस्पतालमा रेफर गरिएको थियो । 

धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचाररत बालकको रगतमा सङ्क्रमण भई स्पाइसिसका कारण किड्नी र कलेजोमा सङ्क्रमण फैलिएको चिकित्सकले बताएका छन् ।

ऐरीलाई भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ । उपचारपछि बालकको स्वास्थ्य अवस्थामा केही सुधार आए पनि खतरामुक्त भने हुन नसकेको चिकित्सकले बताएका छन् । बुधबार बालकको फोक्सोमा निमोनियासमेत देखा परेकाले आइसियुमै राखेर थप उपचार भइरहेको डा. रवीन्द्र भट्टले बताउनुभयो । 

उहाँले भन्नुभयो, “अस्पताल ल्याउने बेलामै बालकको स्वास्थ्य अवस्था जटिल थियो । ल्याउँदा ल्याउँदै भेन्टिलेटरमा राखेर उपचार सुरु गरेका हौँ । बालक अझै खतरामुक्त भएका छैनन् ।” बालकका बुवा बलदेव ऐरीले मजदुरीका लागि आफू भारतमा रहेका बेला बिरामी भएको छोरोलाई समयमै अस्पताल लग्न नसकिएको बताउनुभयो ।  

उपचारका लागि मनकारी व्यक्तिहरूले आर्थिक सहयोग जुटाइ दिए पनि ऐरीको स्वास्थ्यमा आशा गरेअनुसार सुधार भने हुन नसकेको उहाँले पीडा सुनाउनुभयो । उहाँले भन्नुभयो, “बच्चालाई समयमै अस्पताल लग्न सकिएन । गरिबीका कारण म भारतमा मजदुरी गर्न गएको थिएँ । घरमा बुढा आमाबुवा र श्रीमती छाडेर परदेसिनु मेरो बाध्यता थियो । अहिले दुःख भोग्नुपरेको छ ।”