• १३ साउन २०८१, आइतबार

सडक आयोजनालाई बजेटमा समेट्नुपर्छ : सांसद विश्वकर्मा

blog

नेकपा (एमाले) का सांसद तथा पूर्वमन्त्री छविलाल विश्वकर्मा ।

गोरखापत्र अनलाइन

काठमाडौं, चैत ७ गते । नेकपा (एमाले) का सांसद छविलाल विश्वकर्माले निर्वाचन क्षेत्र रणनीतिक सडक आयोजनालाई आगामी आर्थिक वर्षको बजेटमा समेट्नुपर्ने बताउनुभएको छ । बुधवार प्रतिनिधि सभा बैठकमा धारणा राख्नुहुँदै उहाँले सो कुरा बताउनुभएको हो ।

आगामी आर्थिक वर्ष २०८१–८२ का लागि विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकताको सम्बन्धमा छलफलमा भाग लिँदा सांसद विश्वकर्माले निर्वाचन क्षेत्र रणनीतिक सडक आयोजनालाई प्राथमिकता दिनुपर्ने बताउनुभएको हो । उहाँले सुरक्षित आवास कार्यक्रमले पनि निरन्तरता पाउनुपर्ने सुझाव दिनुभयो । 

उहाँले तराई–मधेस समृद्धि कार्यक्रमलाई थप प्रभावकारी बनाउनुपर्ने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘प्रत्येक निर्वाचन क्षेत्रमा रणनीतिक सडक थियो । यो रणनीतिक सडक अहिले अधुरो छ । बेवारिसे बनेको छ । सरकारको प्राथमिकतामा यसलाई पूर्णता दिने विषय बन्नु पर्दछ ।’

सुरक्षित आवास कार्यक्रमले यसपटक निरन्तरता पाएन । जबकि यस्ता जनताहरू छन्, जसको शिरको माथि छानो छैन । ओत नभएको हुनाले जनताहरू असुरक्षित भएको स्थितिमा यो सुरक्षित आवास कार्यक्रमले जनताहरूलाई धेरै लाभान्वित बनाएको थियो’ उहाँले भन्नुभयो, “प्रभावकारी हुनेगरी सुरक्षित आवास कार्यक्रमलाई अगाडि बढाउनुपर्छ । तराई–मधेस समृद्धि कार्यक्रमलाई थप प्रभावकारी बनाउनुपर्छ । स्वास्थ्य बिमा प्रभावकारी बन्न सकेन । यसको दायरालाई फराकिलो बनाउने र सबै जनताको पहुँच पुग्नेगरी यसलाई अगाडि बढाउनुपर्छ ।’

त्यस्तै, स्वास्थ्य बिमा प्रभावकारी बन्न नसकेको भन्दै सांसद विश्वकर्माले यसको दायरालाई फराकिलो बनाएर सबै जनताको पहुँचमा पुगाउनुपर्ने बताउनुभयो ।