• १३ साउन २०८१, आइतबार

सरकारी जग्गाको दुरुपयोग हटाउन निर्देशन

blog

जिल्ला समन्वय समिति सुर्खेत । तस्बिर : नवीन सुवेदी

नवीन सुवेदी

सुर्खेत, चैत ३ गते । जिल्ला समन्वय समिति सुर्खेतले गोदामका लागि लगिएका सरकारी जग्गा अर्कै प्रयोजनमा प्रयोग गरेको पाइएपछि हटाउने भएको छ । 

सुर्खेत उपत्यका नगर विकास समितिको स्वामित्वमा रहेको जग्गा तत्कालीन जिल्ला विकास समिति वीरेन्द्रनगरको गोदामलाइन र हटियालाइनमा रहेको जग्गा दिएको थियो । गोदामका लागि प्रयोग नभएर अर्कै प्रयोजन भइरहेकाले समितिले खाली गराउन शनिबार सूचना जारी गरेको छ ।

सुर्खेत उपत्यका नगर समितिले आफ्नो जग्गा भोगचलनका लागि जिल्ला समन्वयलाई दिएको थियो । समितिले गत जेठ ३२ गते जग्गा दिएको थियो । सो प्रयोजनमा प्रयोग नभए फिर्ता गर्न निर्देशन दिएपछि समन्वयले आफै सरकारी जग्गामा बनेका संरचना हटाउन लागेको जनाएको छ । 

पहिलो पटक सूचना माग गर्दा समन्वयले लिखित जानकारी नदिएको भन्दै गत माघ २३ र पुनः फागुन ११ गते दुई पटक पत्र पठाएको सुर्खेत उपत्यका विकास समितिले जनाएको छ । ‘गोदामका लागि भनेर दिएको जग्गा निजी प्रयोजनमा प्रयोग भइरहेकाले सम्झौता रद्द गरी खाली गर्न सूचना जारी गरेका छौँ’ जिल्ला समन्वयले जारी गरेको पत्रमा उल्लेख छ ।

‘वीरेन्द्रनगर–६ स्थित गोदामलाइन र हटियालाइनमा रहेको चार कोठे स्टल भवन र भवनले खर्चेको सरकारी जग्गा आगामी वैशाख ७ गतेभित्र आफूले बनाएका संरचना हटाइखाली गरिदिन ३५ दिने सूचना जारी गरेका छौँ’ सूचनामा जनाइएको छ ।

समितिले जारी गरेको सूचनामा तोकिएको अवधिभित्र आफूले बनाएका संरचना खाली नगरे प्रचलित नियमानुसार खाली गरिने र खाली गराउँदा हानी नोक्सानी तथा अन्य परिस्थितिको जिम्मेवार स्वयम व्यक्ति–फर्म–व्यवसायी हुने उल्लेख छ । नगर विकास समितिले घण्टाघर, गोदामलाइन, हङकङबजार र हटियालाइनमा निजी व्यक्तिलाई भाडामा दिएको जग्गा खाली गरिसकेको छ ।