• १४ जेठ २०८१, सोमबार

मानवीय कारणबाटै डढेलो, सुक्खायामसँगै बड्दो क्रममा

blog

काठमाडौँ, चैत ३ गते । पछिल्लो समय देशका विभिन्न स्थानमा डढेलो लाग्ने क्रम बढ्न थालेको छ । गर्मीयाम सुरु भएसँगै डढेलो तथा आगलागीका घटना पनि बढेको हो । नेपालमा आगलागीका घटना प्रायः वैशाखको दोस्रो साताबाट बढी हुने गरेको पाइन्छ ।

डढेलोका कारण सबैभन्दा बढी तराईका जिल्ला प्रभावित भएका छन् । कम जोखिम मानिने हिमाली जिल्लामा पनि डढेलो लागेको छ । पछिल्लो एक हप्तामा देशभर ३५ स्थानमा डढेलो लागेको छ । गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय विपत् पोर्टलको तथ्याङ्क अनुसार देशभर एक हप्तामा ३५ स्थानमा डढेलो लागेको छ भने १६५ वटा आगलागीका घटना भएका छन् । पुस महिनादेखि फागुन मसान्तसम्म तीन महिनाको अवधिमा १०६ स्थानका जङ्गलमा डढेलो लागेको तथ्याङ्क छ ।  

पुसदेखि फागुन मसान्तसम्म मानवीय वा प्राकृतिक कारणले आगलागीका घटना भने धेरै भएका छन् । पछिल्लो तीन महिनामा डढेलोसहित मानवीय लापरबाही वा प्राकृतिक कारणबाट एक हजार ४९९ वटा आगलागीका घटना भएका छन् । आगलागीका कारण पुसदेखि फागुनसम्मको अवधिमा ६६ करोड ९४ हजार नौ सय रुपियाँ बराबरको क्षति भएको छ । 

डढेलोविद् सुनिल शर्माले यस वर्ष अघिल्लो वर्षको तुलनामा धेरै डढेलेका घटना हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन जरुरी रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “गत वर्षको तुलनामा यस वर्ष धेरै डढेलोका घटना हुन सक्छन् । यो वर्ष तापक्रम पनि बढेको र हिउँदको समयमा पर्याप्त मात्रामा पानी नपरेकाले डढेलोका घटना बढ्न सक्छन् ।” 

पुस महिनादेखि फागुन मसान्तसम्म तीन महिनाको अवधिमा १०६ स्थानका जङ्गलमा डढेलो लागेको तथ्याङ्क छ ।

जोखिमयुक्त समय आउन बाँकी रहँदा देशका विभिन्न स्थानमा डढेलोका घटना बढ्न थालेपछि स्थानीय चिन्तित छन् । उहाँले भन्नुभयो, “यस वर्ष तापक्रम पनि बढी भयो । हिउँदमा पर्याप्त मात्रामा पानी पर्न सकेन । त्यसैले जङ्गलमा पातपतिङ्गर धेरै थुप्रिएका हुन सक्छन् । त्यस कारण डढेलोको प्रकोप धेरै हुने देखिन्छ ।”   

अपर्याप्त बजेट 

डढेलो रोकथामका लागि बजेट विनियोजन नगरिनु दुःखद भएको डढेलोविज्ञ शर्माको टिप्पणी छ । संविधानले नै विपत् व्यवस्थापन स्थानीय तहको अधिकार भएकाले स्थानीय तहले पर्याप्त मात्रामा बजेट छुटाउनुपर्ने उहाँको सुझाव छ ।

उहाँले भन्नुभयो, “विपत् व्यवस्थापन स्थानीय तहको अधिकार हो । त्यसैले स्थानीय तहले डढेलो नियन्त्रण र यसको सचेतनाका लागि बजेट छुटाउनुपर्ने हो तर त्यसो भएको छैन । धेरै बजेट बाटो निर्माणमै खर्च भएको छ ।” स्थानीय तहले विकासका नाममा अन्य क्षेत्रमा मात्र बजेट छुट्याउने गरेका कारण डढेलोको अवस्था सधैँ उस्तै रहने उहाँको बुझाइ छ । 

छैनन् दमकल 

स्थानीय तहहरूसँग पर्याप्त दमकल नहुँदा डढेलो तथा आगो नियन्त्रण गर्न समस्या हुने गरेको छ । डढेलोविद् सुन्दर शर्माले स्थानीय तहले दमकल खरिद गरेर आवश्यक जनशक्ति व्यवस्थापन गर्नुपर्ने बताउनुभयो ।  

७५३ वटै स्थानीय तहले यसबारे सोच बनाउनुपर्ने उहाँको सुझाव छ । पर्याप्त मात्रामा दमकल नहुँदा स्थानीय र सुरक्षा निकायको सहयोगमा मात्र आगो नियन्त्रण गर्ने प्रयास भइरहेको छ । कहिलेकाहीँ नियन्त्रणमा लिन दुई-तीन दिनसम्म लाग्ने गरेको उहाँले बताउनुभयो ।  उहाँले भन्नुभयो, “स्थानीय तहले दमकल खरिद गरेर आवश्यक जनशक्ति व्यवस्थापन गरेको खण्डमा धेरै डढेलोका घटनामा कमी हुने थियो । धेरै रकम लाग्ने भएमा नजिकका दुई वा तीन स्थानीय तहले समन्वय गरी खरिद गरेर व्यवस्थापन गर्न सके पनि राम्रो हुने थियो ।”

यसरी लाग्छ डढेलो

नेपालमा हुने सबैजसो डढेलोका घटना मानवीय कारणबाट नै हुने गरेको छ । डढेलोविद् शर्माका अनुसार मानिसको लापरबाही र हेलचेक्र्याइँका कारण नै डढेलोका घटना बढ्ने गरेका छन् । 

वनभोज जाँदा चुरोटका ठुटा जथाभाबी फाल्दा, नयाँ पालुवा पलाउने गलत मनसाय राख्दा तथा चोरीसिकारी गर्न सहजता होस् भन्ने गलत मनसाय राखेर आगो लगाउँदा डढेलोका घटना हुने गरेको उहाँको भनाइ छ । यस्तै कतिपयले दाउराका लागि, तस्करले वन पैदावार सङ्कलन गर्न डढेलो लगाउने गरेको उहाँले बताउनुभयो । तराई क्षेत्रमा च्याउ उम्रिने आशामा पनि डढेलोका घटना हुने गरेको उहाँले बताउनुभयो ।

Author
विष्णु पाण्डेय

उहाँ विकास निर्माण तथा समसामयिक विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।