• १६ वैशाख २०८१, आइतबार

जुम्ल्याहा दिदीबहिनीको पौडीमोह

blog

नेपालमा हुने सबैजसो पौडी प्रतियोगितामा अहिले एक जुम्ल्याहा दिदीबहिनी प्रायः देखिने गर्दछ, देवाण्षी र आध्यश्री जोशी । जुम्ल्याहाबिच खेल भयो भने कस्तो होला । छुट्याउनै गाह्रो होला होइन त । प्रायः जुम्ल्याहालाई छुट्याउन कठिन हुन्छ नि त तर देवाण्षी र आध्यश्रीको हकमा त्यस्तो छैन । यी दुई हरेक कुरामा फरक छिन् । एक काली, अर्की गोरी छिन् । देवाण्षी सबैसँग बोलिरहने, मनमा जे आयो त्यही बोल्ने, धेरै जिस्किने खालकी छिन् । त्यसैले देवाण्षीका साथी पनि धेरै छन् । आध्यश्री कम तर मिलाएर बोल्छिन् । देवाण्षी दुई मिनेटले कान्छी छिन् तर शारीरिक रूपमा दुईमध्ये देवाण्षी बलियो छिन् ।

यद्यपि दुवैको सपना भने एउटै छ । नेपालको अन्तर्राष्ट्रिय पौडी खेलाडी बन्ने । यसै गरी उचाइ र खेलको बेला कसैलाई जित्न दिन्न भन्ने सोचाइ पनि यी दुई जुम्ल्याहा दिदीबहिनीबिचमा समानता छ । “प्रायः प्रतियोगितामा यी दुई सँगै प्रतिस्पर्धा गर्छन् । त्यसबेला एकअर्कालाई दिदीबहिनी होइन प्रतिद्वन्द्वी मात्र ठान्छन् । एकअर्काविरुद्ध हार्न चाहँदैनन्,” देवाण्षी र आध्यश्रीका बुबा निम जोशी भन्नुहुन्छ । १० वर्षका मात्र भए देवाण्षी र आध्यश्री । दुवै सेन्टमेरिज स्कुलमा ५ कक्षामा पढ्छन् तर सानै उमेरमा यी दुवैले पौडीमा थुप्रै पदक हासिल गरिसके । तुलना गर्ने हो भने पदकको मामिलामा अहिले देवाण्षी अलि माथि छ तर ब्रेस्टस्ट्रोक इभेन्टमा देवाण्षीले पनि आध्यश्रीलाई हराउने कमै मात्र हुन्छ । ब्रेस्टस्ट्रोकमा आध्यश्री राम्रो खेल्छिन् । देवाण्षी चारै इभेन्टमा अब्बल छिन् ।

यी दुईले १० ओँ एनएसए कपबाट पौडी प्रतियोगितामा भाग लिन सुरु गरेका हुन् । त्यसपछि दुवैले निसर्ग पौडी, लिन्कन पौडी र प्रदेशस्तरीय प्रतियोगिता पनि खेले तर सुरुका यी चारै प्रतियोगितामा दुवैले पदक जित्न सकेनन् । दुवै सहभागितामै सीमित भए । गत वर्ष ११ औँ एनएसए कप राष्ट्रिय पौडी प्रतियोगितामा दुवैले पहिलो पटक पदक हािसल गरेका हुन् । आध्यश्री यु–१० मा ५० मिटर ब्रेस्टस्ट्रोकमा तेस्रो भइन् । देवाण्षीले त सो प्रतियोगितामा चार पदक जितिन् । यु–१० ५० मिटर ब्याकस्ट्रोकमा च्याम्पियन, यु–१० ५० मिटर बटरफ्लाईमा दोस्रो र यु–१० ५० मिटर फ्रिस्टाइल तथा २०० मिटर ब्याकस्ट्रोक (खुला) मा तेस्रो स्थान हासिल गरेर देवाण्षीले सनसनी मच्चाइन् । २०० मिटर ब्याकस्ट्रोक खुलामा देवाण्षीले जुनसकै उमेरकाले पनि भाग लिने पाउने इभेन्टमा पदक जितेकी हुन् । सो इभेन्टमा देवाण्षी तेस्रो हुँदा नेपालकी ओलम्पियन तथा नम्बर एक स्विमर गौरिका सिंह पहिलो भएकी थिइन् । सोही प्रतियोगिताबाट दुवैको पदक जित्ने व्रmम सुरु भयो । अहिले आफ्नो उमेर समूहमा त देवाण्षी हरेक इभेन्टमा च्याम्पियन नै हुन्छिन् । देवाण्षी नवौँ निसर्ग स्विमिङ च्याम्पियनसिपमा यु–१० ५० मिटर बटरफ्लाई, ब्याकस्ट्रोक र फ्रिस्टाइलमा गरी तीन स्वर्ण पदक जितिन् । त्यसपछि १९ औँ लिटल एन्जल्स स्विमिङमा २५ मिटर ब्याकस्ट्रोक र २५ मिटर बटरफ्लाईमा च्याम्पियन भइन् । सातौँ लिन्कन पौडीमा त देवाण्षी पाँच इभेन्ट यु–१० ५० मिटर बटरफ्लाई, ब्याकस्ट्रोक, ब्रेस्टस्ट्रोक, फ्रिस्टाइल र १०० मिटर व्यक्तिगत मेडलेमा स्वर्ण पदक जितेर गजबको क्षमता देखाइन् । त्यसपछि जेम्स अन्तर स्कुल स्विमिङ प्रतियोगितामा पनि देवाण्षी आफूले खेलेका चारै इभेन्ट यु–१० ५० मिटर बटरफ्लाई, ब्याकस्ट्रोक, बे्रस्टस्ट्रोक, फ्रिस्टाइलमा च्याम्पियन बनिन् ।


देवाण्षीले खेलेको पछिल्लो प्रतियोगिता २६ औँ राष्ट्रिय खुला तथा एज गु्रुप स्विमिङमा पनि देवाण्षीले खुलामा ५० मिटर बटरफ्लाईमा तेस्रो स्थान हासिल गरेर आफ्नो उमेर समूहमा मात्र होइन आफूभन्दा ठुलासँगको प्रतिस्पर्धामा पनि पदक जित्न सक्छु भन्ने सिद्ध गरिन् । सो प्रतियोगितामा यु–१० ५० मिटर बटरफ्लाई, ब्याकस्ट्रोक, फ्रिस्टाइलमा पहिलो भइन् । ५० मिटस बे्रस्टस्ट्रोकमा भने देवाण्षी दोस्रो स्थानमा रहिन् । देवाण्षीलाई उनकै दिदी आध्यश्रीले पछाडि पारेर च्याम्पियन बनेकी हुन् ।

आध्यश्रीले पनि ११ औँ एनएसएमा पदक जितेपछि नवौँ निसर्गमा ५० मिटर ब्रेस्टस्ट्रोकमा स्वर्ण र ५० मिटर बटरफ्लाईमा कांस्य पदक जितिन् । १९ औँ लिटल एन्जल्स पौडीमा पनि ५० मिटर ब्रेस्टस्ट्रोकमा पहिलो स्थान हासिल गरिन् । २५ मिटर फ्रिस्टाइलमा तेस्रो भइन् । यसै गरी सातौँ लिन्कन पौडीमा ५० मिटर ब्रेस्टस्ट्रोकमा रजत र १०० मिटर व्यक्तिगत मेडलेमा कांस्य पदक जितिन् । जेम्स अन्तर स्कुल पौडीमा ५० मिटर ब्रेस्टस्ट्रोकमा दोस्रो भइन् भने २६ औँ राष्ट्रिय खुला तथा एज गु्रुप स्विमिङमा ५० मिटर ब्रेस्टस्ट्रोकमा च्याम्पियन बनिन् । “देवाण्षी र आध्यश्रीलाई सफलता सजिलै प्राप्त भएको होइन । यी दुवै जाडो महिनामा पनि दैनिक बिहान ५ बजे नै पौडी प्रशिक्षणका लागि सातदोबाटो जान्छन् । दुई घन्टा अभ्यास गरेपछि त्यहीँ ब्रेकफास्ट गरेर स्कुल लाग्छन्,” बुवा निम भन्नुहुन्छ, “यति जाडोमा ५ बजे उठेर जानु परे पनि अहिलेसम्म जान्न भन्दैनन् । उनीहरूले मेहनत गरिरहेका छन् । प्रगति पनि भइरहेको छ । अब हाम्रो लक्ष्य नै दुवैलाई अन्तर्राष्ट्रिय स्विमर बनाउने हो ।”