परिस्थितिलाई प्रदर्शन गर्ने समग्र अवस्थालाई पारिस्थितिकी भन्न सकिन्छ तर विषय वा प्रसङ्गवशले पारिस्थितिकी शब्दलाई प्राकृतिक पर्यावरण (इकोलोजी) सँग मात्र जोडेर बुझ्ने गरिएको छ । प्राणीहरू (जीव तथा वनस्पति ) र अजैविक वस्तुहरू सबै पारिस्थितिकीका परिणाम हुन् । परिस्थितिमा कसरी बाँच्ने, कस्तो परिस्थितिमा बाँच्ने भनेर जीव÷अजीवले अनुकूलनता ग्रहण गर्दै जाँदा पारिस्थितिकी पद्धतिको निर्माण भएको हो । मानिस तर्कशील प्राणी भएकाले ऊ प्रकृति, समाज, संस्कृतिमा अनुकूलित भएर बस्न सक्छ । अनुुकूलनका मापदण्ड बनाउन सक्छ । यदि मानव प्राकृतिक पारिस्थितिकीमा अनुकूल हुन सक्दैनथ्यो भने उसको अस्तित्व रहँदैनथ्यो । संसारभरि हजारौँ संस्कृति छन् । हामीले कसरी एक समूहका रूपमा, हाम्रा संस्कृतिहरू बनाएर हाम्रा र समाजका आवश्यकतालाई अनुकूलन, परिवर्तन र पूरा गर्न सक्छौँ भनेर सांस्कृतिक पारिस्थितिकीले ती सबै अमूर्त अवधारणाको विश्लेषण गरी ती अवधारणालाई ठोस बनाउँछ । सङ्क्षेपमा भन्नुपर्दा सांस्कृतिक पारिस्थितिकी सामाजिक र भौतिक वातावरणमा मानव अनुकूलनको अध्ययन हो । मानव अनुकूलनले जैविक र सांस्कृतिक दुवै प्रव्रिmयालाई जनाउँछ जसले जनसमुदायलाई तत्काल उपलब्ध वा परिवर्तित वातावरणभित्र अस्तित्वमा रहन र व्रिmयाशील हुन सक्षम बनाउँछ ।
पारिस्थितिकीलाई विभिन्न कोणबाट व्याख्या गर्न सकिन्छ । मानवशास्त्री जुलियन स्टिवार्ड (सन् १९०२–१९७२) ले मानिसहरू कसरी विभिन्न वातावरणमा अनुकूलित हुन्छन् भनेर देखाउन सांस्कृतिक–पारिस्थितिकी (कल्चरल इकोलोजी) शब्द र अवधारणलाई पहिलो पटक बहसमा ल्याएका हुन् । हुन त उनी अघिका विद्वान्ले पनि यस विषयमा आफ्ना तर्क अघि नसारेका होइनन् । स्टिवार्डले आफ्नो सिद्धान्त ‘परिवर्तनको बहुरेखीय विधि’ (१९५५) मा मूलतः निम्न पक्षलाई स्पष्ट गर्ने प्रयास गरे– (क) सांस्कृतिक पारिस्थितिकीले सांस्कृतिक परिवर्तनलाई निर्दिष्ट गर्छ । (ख) मानसिले ऐतिहासिक रूपमा केही सांस्कृतिक विरासत प्राप्त गरेको हुन्छ तर परिस्थितिमा अनुकूल हुँदै जाँदा संस्कृतिमा परिवर्तन हुन्छ । (ग) यस्ता परिवर्तनमा मानिसले आफूलार्ई अनुकूल गर्छ अर्थात् मानिसले अनुकूलनको क्षमता राख्छ, जसले गर्दा मानिस जस्तो वातावरणीय वा सांस्कृतिक परिस्थितिमा पुग्दछ, तीसँग अनुकूलन हुन सक्छ ।
मानिसले सहज र सरल रूपमा बाँच्न सामाजिक तथा प्राकृतिक कारक वा तìव (फ्याक्टर) लाई कसरी ग्रहण गर्दै आफूमा अनुकूलन गर्छन् वा आफैँ कसरी ती कारकमा अनुकूलित हुन्छन् भनेर बुझ्नु नै सांस्कृतिक पारिस्थितिकी हो । नेपालको सन्र्दभमा उद्यौली र उभौली पारिस्थितिकीका सांस्कृतिक परिणाम हुन् । सांस्कृतिक पारिस्थितिकीको उदाहरण हुन् । उधौली, उभौली कुनै व्यक्ति वा समुदाय, कसैले कसैलाई सिकाएर प्रचलित भएका होइनन् यी त चिसो हावापानीबाट बाँच्न तातो हावापानीतिर झर्न र गर्मीपछि चिसो हावापानीतिर उक्लन पर्यावरणले मानिसलाई सिकाएको हो । सम्बद्ध क्षेत्रका मानिसहरू यो पर्यावरणमा अनुकूल हुँदै आउँदा अन्नतः उधौली, उभौली संस्कृतिको निर्माण भयो । पर्यावरणले संस्कृतिको निर्माणमा भूमिका निर्वाह गर्ने भएकाले हिमालीले बाक्ला र तराईवासीले पातला पहिरन लगाउन थालेका हुन् । सांस्कृतिक पारिस्थितिकी एक विशिष्ट वातावरणमा सांस्कृतिक अनुकूलनताको अध्ययन हो र त्यो वातावरणमा हुने परिवर्तनहरूले त्यस विशिष्ट संस्कृतिमा कसरी परिवर्तनहरू निम्त्याउँछ भनेर यसले स्पष्ट गर्छ । वातावरणले मानव अनुकूलनको चरित्रलाई प्रभाव पार्छ, पूरै निर्धारण भने गर्दैन । वातावरण र संस्कृति अलग अलग विकासवादी दृष्टिकोण हुन् जसले एकले अर्कोलाई प्रभाव पार्ने क्षमता राख्छन् । भौतिक र जैविक वातावरणले संस्कृतिलाई प्रभावित गर्छन् । यो नै सांस्कृतिक पारिस्थितिकीको अध्ययन हो । मानव आर्थिक रूपमा वा भौतिक उद्देश्यले मात्र सञ्चालित हुन्छ भन्ने विचारको विकल्पमा मानव कार्यहरूमा वातावरणीय निर्धारणवादको अस्तित्व र प्रभावलाई सांस्कृतिक पारिस्थितिकीले स्वीकार गर्छ ।
साहित्यिक पारिस्थितिकीबारे भाषा–साहित्य संस्कृति हुन् । एकातिर साहित्यमा संस्कृतिको प्रभाव रहन्छ भने अर्कोतिर संस्कृति निर्माणमा साहित्यको छाप रहन्छ । विभिन्न तरिकाबाट संस्कृतिको परिभाषा दिन सकन्छि तर सङ्क्षेपमा भन्नु पर्दा मानिसले आफ्ना आवश्यकता पूरा गर्न बनाएका मूर्त–अमूर्त संयन्त्र नै संस्कृति हुन्, साथै समाजको सदस्यको नाताले मानवले सिकेका र प्रदर्शन गर्ने सामाजिक मूल्य, मान्यता, विश्वास परम्परा, लोकरीति, कलासहितका विविध दक्षता नै संस्कृति भएकाले साहित्यिमा सांस्कृतिक पारिस्थितिकी खोज्न सकिन्छ । साथै साहित्यको पनि पारिस्थितिकी हुन्छ ।
यसरी सांस्कृतिक पारिस्थितिकीबारे स्पष्ट भएपछि साहित्यिक पारिस्थितिकीबारे पनि विशिष्टीकृत अवधारणा बनाउन सकिन्छ । तत्कालीन समाजका मूल्य, मायता, परिस्थिति वा लेखकको दृष्टिकोणमा पाठकलाई अनुकूलन गराउन साहित्यले आग्रह गर्दछ । समाजको परिस्थितिको छाप साहित्यमा पर्छ जसरी चिसोको प्रभाव हिमालीको पहिरनमा प¥यो । पारिस्थितिकी र पार्यवरण शब्दलाई कानुनी प्रावधानमा जसरी ‘विषय र प्रसङ्गले अर्को अर्थ नलागेमा’ भनेर चुमुक्र्याउनु हुँदैन । यी शब्द वातावरणसँग मात्र सम्बद्ध छैनन् । राजनीतिक पारिस्थितिकी-पार्यवरण, सामाजिक तथा सांस्कृतिक पारिस्थितिकी÷पार्यवरण भन्न सकिन्छ । सामाजिक र सांस्कृतिक पर्यावरणका विशेषता साहित्यका तत्कालीन पारिस्थितिकी हुन् । यसैले साहित्यिक पारिस्थितिकी वा साहित्यिकी पर्यावरणले समाजमा रहेका सामाजिक कारक वा तìवको विश्लेषण गर्नु पर्छ । कस्तो सामाजिक पर्यावरणमा वीर, भक्ति र वैराग्य रसका काव्य लेखिए ? कुन पर्यावरणमा नारी विद्रोहका साहित्य लेखिँदै छन् ? कुन अवस्थामा झर्रोवादी आन्दोलन चलाइयो ? यी सब आन्दोलनका सामाजिक परिस्थिति विश्लेषण र सामान्यीकरण गरेर साहित्यिक पारिस्थितिकी वा साहित्यिक पर्यावरणबारे एकीकृत अवधारण बनाउन सकिन्छ । कुनै एक ‘वादी’ लेखक हुनुबाट मुक्त भएर साहित्यमा जीवन, दर्शन, ज्ञान–विज्ञान, केही विद्रोह, एकता जस्ता तìव पनि अटाउनु पर्छ भनेर जुन आयामेली आन्दोलन चलाइयो, यस आन्दोलन पछाडि रहेको ‘साहित्यिक पारिस्थितिकी’ लाई मध्यनजर गर्न सकिँदैन । दुःखको वर्णन मात्र साहित्य होइन दुःखको वर्णनमा प्रदर्शित दार्शनीक सौन्दर्य पनि साहित्य हो भन्ने आयामेली लेखन पारिस्थितिकीलाई उपेक्षा गर्न सकिँदैन ।
तर.., सामाजिक–राजनीतिक पर्यावरणबाट साहित्यलाई भिन्न गर्न सकिँदैन, जसरी ऐनबाट मानिसले आफ्नो अनुहार अलग गर्न सक्दैन तर यहीँनेर मुख्य कुरो के छ भने सामाजिक–राजनीतिक पर्यावरणबाट लेखक र लेखन मुक्त हुन नसक्नुको अर्थ साहित्यमा ‘समयको गीत गाउनु पर्छ भन्ने होइन ।’ मञ्च थर्काउने गरी राजनीतिक नारा फलाक्नु मात्र पनि साहित्य होइन । अर्कोतिर को त्यस्ता भाग्यवानी हुन्, जसले चौतारीमा राजा भेटेपछि ‘चौतारीमा राजा भेटियो भन्ने गीत लेखे’ ? यसलाई साहित्यिक पारिस्थितिकी भनिँदैन बरु ‘सीताको गीता’ भन्न सकिन्छ । एउटै व्यक्तिले केही वर्ष अगाडि चाँदनी शाहका गीतलाई पाताको धुलो भने, केही वर्षपछि आकाशको उचाइमा पु¥याए । यसलाई पनि साहित्यिक पारिस्थितिकी भनिदैन, बरु शुभलाभको संलाप भन्नु पर्छ ।
साहित्य लेखनमा प्राकृतिक र भौतिक पर्यावरण वा पारिस्थितिकीले प्रभाव पार्छ, निर्धारण नै गर्छ नभनौँ । यसो भएपछि राजनीतिले साहित्यमा प्रभावसम्म पार्नु पर्छ निर्धारण गर्नु हुँदैन भनेर स्पष्ट हुनु पर्छ । साथै साहित्यले राजनीतिलाई पनि प्रभाव गर्छ । कतिपयको विचार छ– ‘राजनीतिका लागि साहित्य’ यसले निर्धारणवादको अस्तित्वमा सिर्जनशील लेखनलाई धुमिल गर्छ । राजनीति र साहित्य दुई अलग अलग धार हुन् तर गुणधर्म कहीँ न कहीँ मिल्न सक्छन् भन्न सकिन्छ । राजनीति र साहित्यको अन्तिम उद्देश्य ‘लोकहित’ हो तर हित प्राप्त गर्ने मार्ग, औजार, विधि भिन्न छन् भनेर स्वीकार गर्नु पर्छ । यति भएपछि साहित्यलाई राजनीतिक उद्देश्य प्राप्त गर्ने औजार मात्र भन्नु सर्वथा गलत हुने छ । यसको मतलव साहित्यमा राजनीतिक आग्रह नै हुँदैन भन्ने होइन । साहित्यले लहरा र पहराको गीत मात्र गाउँदैन । समाजकै स्वर बोल्छ तर बोल्ने तरिका भने भिन्न हुनु पर्छ । मासु मात्र भनेर हुँदैन । सुकाएको एकाथरी मासु सुकुटी हो, अर्कोथरी मासु नारा हो । हो, त्यसैले साहित्यलाई सुकुटी बनाउने कि ‘नारा’ भन्नेमा साहित्यकारहरू स्पष्ट हुनु पर्छ । बिपीका साहित्यमा राजनीतिक सन्देश र आग्रह छन् तर ती राजनीतिक नाराभन्दा भिन्न छन् । सङ्क्षेपमा भन्नुपर्दा परिस्थितिसँग सम्झौता गरेर, आत्मसमर्पण गरेर हेतुवश लेखिएका साहित्यहरूमा देखिने सामयिकता वा परिस्थितिलाई साहित्यिक पारिस्थितिकी भन्न सकिँदैन तर अहेतुकी रूपमा व्यक्त गरिएका सौन्दर्यपूर्ण अभिव्यक्तिमा साहित्यिक पारिस्थितिकी खोज्न सकिन्छ ।
यसर्थ पिँजडाको सुँगामा साहित्यिक पारिस्थितिकी खोज्न सकिन्छ । यो ‘मौसम अनुसारको ट्युनिक’ मात्र होइन, न त सपाट आव्रmोशको प्रतिशोधात्मक वर्णन (साहित्य ?) हो ।
साहित्य भने पनि, संस्कृति भने पनि यी दुई गतिशील आयाम हुन् । यी मानिसको आवश्यकताबाट जन्मन्छन् र हुर्कन्छन् । यसो भएपछि दुवैमा मानव समाजको छाया पर्छ । राज्य र राजनीति पनि समाज भएकाले यी दुईको प्रभावबाट साहित्यलाई बिल्कुल अलग राख्न सम्भव छैन तर साहित्यलाई कति नारामूलक बनाउने र कति सौन्दर्यमूलक बनाउने भनेर पनि साहित्यकारहरू स्पष्ट हुनु पर्छ ।
सङ्क्षेपमा भन्नुपर्दा साहित्यिक पारिस्थितिकीले साहित्य सिर्जनमा पर्यावरणीय, भौतिक तथा मानवीय पारिस्थितिको अध्ययन, विश्लेषण र समालोचना गर्छ । कुन अवस्थामा कस्ता रचना सिर्जना हुन्छन् वा भएका छन् भनेर केवल भौतिकवादी दृष्टिकोणबाट मात्र साहित्य रचनाको हेतु बुझ्न सकिँदैन । रचनागर्भ तयार हुँदादेखि लेखकमाथि परेका विभिन्न भौतिक, अभौतिक परिस्थितिको अध्ययन गरेर साहित्यिक पारिस्थितिकीको निरूपण गर्न सकिन्छ । नेपाली समाजमा प्रचलित सबाइ र कर्खा जस्ता सिर्जनामा भौतिक परिस्थिति मात्र नभएर साहित्यिक पारिस्थितिकीको पनि विवेचना गर्न सकिन्छ । खास गरी भौतिक परिस्थितिले रचनाको सिर्जनामा तत्कालीन राजनीतिक, आर्थिक जस्ता भौतिक पे्ररणाको खोजी गर्छ तर साहित्यिक पारिस्थितिकीले यी प्रेरणाहरूको सौन्दर्य पक्ष, मानवीय संवेदना, मानवीय बुझाइ जस्ता अमूर्त पक्षको खोजी गर्छ । सांस्कृतिक प्रतीकतावाद वा सांस्कृतिक पारिस्थितिकी जस्ता समाज विज्ञानका नवीन दृष्टिकोणले साहित्यको लेखन तथा समालोचनामा भिन्न र फराकिलो अवधारणा बनाउन सहयोग गर्छ ।
साहित्यलाई समाज विज्ञानभन्दा अलिपर राखेर हेर्न सकिन्छ तर समाज विज्ञानभन्दा निरपेक्ष गर्न नसकिने भएकाले समाजको परिस्थितिको सौन्दर्यपूर्ण अभिव्यक्तिलाई साहित्यिक पारिस्थितिकी भन्न सकिन्छ । मूलतः साहित्यको सिर्जना र समालोचना गर्ने स्रष्टा–दृष्टा दुवैमा साहित्यिक पारिस्थितिकीका प्रभाव आँकलन गर्न सक्ने क्षमता भयो भने परम्परागत समालोचनालाई ठोस र वस्तुनिष्ठ बनाउन सकिने छ । जसरी कुनै आपराधिक घटनाको अनुसन्धान गर्नुअघि घटना पूर्व र पछिका सूक्ष्म वस्तुस्थिति (फेनोमेनोलोजी) को खोजी गरेर घटनाको कारण, प्रभाव र परिणामबारे निष्कर्षमा पुग्न सकिन्छ । त्यसरी नै साहित्यिक पारिस्थितिकीले रचना सिर्जना गर्नु अघिको सर्जकको मनोविज्ञान, बुझाइ, आग्रह, सामाजिक राजनीतिक परिस्थितिको आँकलन गर्न सकिन्छ । लेखक तथा पाठकलाई लेखन वातावरणमा तथा लेखकको आग्रहमा अनुकूलन गराउनु र त्यसको प्रभाव मापन गर्नु नै साहित्यिक पारिस्थितिकीको उद्देश्य हो ।