चन्द्र पन्दाक
ताप्लेजुङ, असार २९ गते । ताप्लेजुङको सदरमुकाम फुङ्लिङ बजार क्षेत्रभित्र बङ्गुर तथा सुँगुरको खोर हटाउन उर्दी गरिएको छ । बजार क्षेत्रभित्र अव्यवस्थित रुपमा रहेका बङ्गरको खोर तथा संरचना हटाउन फुङ्लिङ नगरपालिकाले उर्दी गरेको हो ।
नगरपालिकाले गएको शुक्रबार सूचना जारी गर्दै फुङ्लिङ बजार क्षेत्रका बिभिन्न स्थानमा अव्यवस्थित रुपमा रहेका सुँगुरको खोर हटाउन उर्दी जारी गरेको छ । अव्यवस्थित रुपमा बनाइएका बङ्गुर तथा सुँगुरका खोरका कारण बजार क्षेत्रमा दुर्गन्ध फैलिएको साथै वातावरण प्रदूषित बनाएको भन्दै नगरपालिकाले खोर (बङ्गुर राख्ने ठाउँ) हटाउन उर्दी गरेको हो ।
फुङ्लिङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद गौतमले जारी गरेको सूचनाअनुसार बजार क्षेत्रको तोक्मेडाँडा, कफीहाउस लाइन, तोक्मेडाँडा हुँदै पालसिङडाँडा, बुद्धचौक, बिहीबारे क्षेत्रमा बङ्गुरको खोर हटाउनुपर्ने छ । यस्तै बजारको शेर्पाटोल क्षेत्र, दाहालगाउँ, बाझोगरा आधारभूत विद्यालय क्षेत्र, वीरेन्द्रचौक क्षेत्रमा रहेका खोरहरु हटाउन आग्रह गरिएको छ ।
बजार क्षेत्रकै हुलाक टोल, नवज्योति बोर्डिङ स्कूल, नयाँ बसपार्क, हेलिप्याड आसपासका क्षेत्र, बाल मन्दिर आधारभूत विद्यालय क्षेत्रका बङ्गुर तथा सुँगुरको खोर हटाउनुपर्ने भएको छ । त्यस्तै पुरानो गोसलाइन, कञ्चनजङ्घा बोर्डिङ स्कूल, रिजाल लाइन, भानुजन माध्यमिक विद्यालय, सेतीधारा बोझे क्षेत्रमा समेत अव्यवस्थित रुपमा रहेका बङ्गुरका खोर तथा संरचना हटाउन नगरपालिकाले अनुरोध गरेको छ ।
यता सात दिनभित्र बङ्गुर तथा सुँगुरको खोर हटाउन उर्दी भएपछि सामाजिक सञ्जालमार्फत नगरपालिकाको तीब्र आलोचना हुन थालेको छ । कमजोर आर्थिक अवस्था भएका वर्गीय परिवारले आफ्नो जीविकोपार्जन गर्न बङ्गुर तथा सुँगुर पालन गर्दै आएका र बङ्गुर पालन गरिँदै आएको खोरहरु हटाउँदा उनीहरु समस्यामा पर्नेभन्दै आलोचना हुन थालेको छ । खोरहरु हटाउनुपर्ने भए बङ्गुर सुँगुर पालनमै निर्भर रहँदै आएकाहरुका लागि नगरपालिकाले विकल्प दिनुपर्ने पनि माग हुँदै आएको छ ।