काठमाडौँ, असार २९ गते । पूर्वराष्ट्रपति डा. रामवरण यादवले प्राचीन सनातन धर्म र पूर्वीय सभ्यताले नेपाल र भारतलाई धार्मिक, सांस्कृतिक र जनस्तरको सम्बन्ध प्रगाढ तुल्याउन महत्वपूर्ण योगदान गरिरहेको बताउनुभएको छ । हनुमानढोका दरबार सङ्ग्रहालय विकास समिति र स्वामी नारायण संस्था नेपालद्वारा शनिबार यहाँ आयोजित कार्यक्रममा ‘सत्सङ्गदीक्षा’ पुस्तकको लोकार्पण गर्दै उहाँले हाम्रो पहिचानका रूपमा रहेका अध्यात्म र विज्ञानलाई जोडेर अघि बढ्नुपर्ने आवश्यकतामा जोड दिनुभयो ।
पूर्वराष्ट्रपति यादवले भन्नुभयो, “हामीले हाम्रो संस्कृति, परम्परा र समाजलाई बुझेर काम गर्नु पर्छ, त्यसबाट शान्ति, सहअस्थिति र भ्रातृत्व कामय गर्न सहज हुन्छ । यसबाट विश्वकल्याणमा योगदान पुर्याउन सकिन्छ ।” साधु भद्रेश दास स्वामीले भगवान् नीलकण्ठले तपस्या गरेको मुक्तिनाथ हिमालय पर्वत शृङ्खला र मुक्तिनाथ जस्तो संसारका धार्मिक पर्यटनका लागि अद्भूत पवित्र र पुण्यभूमि रहेको बताउनुभयो ।
उहाँले प्राचीन सनातन धर्मले नेपाल र नेपालीबिचमा संस्कार, प्रेमभाव, भक्तिभाव र मेलमिलापको अनुपम नमुना प्रस्तुत गर्न सफल भएको धारणा राख्नुभयो । नेपाल र भारतबिचको साझा भाषाका रूपमा रहेको संस्कृतिबाट ‘सत्सङ्गदीक्षा’ पुस्तक अनुवाद गरिएको जानकारी दिँदै उहाँले भाषा, वेशभूषा, भोजन र सस्कृति प्रत्येक देशको विशिष्ट पहिचान रहेको बताउनुभयो । पूर्वसांसद शङ्करप्रसाद पाण्डेले नेपालको गौरव ऋषि परम्परा भएको जनाउँदै नेपालको समृद्धिको प्रमुख आधार भनेकै धार्मिक र सांस्कृतिक पर्यटन भएको बताउनुभयो । धार्मिक अभियन्ता शङ्कर तिवारीले हिमालदेखि तराईसम्मका धार्मिक तीर्थस्थल र पुण्यभूमि भएको नेपालमा सत्सङ्गदीक्षाका माध्यमद्वारा नयाँ पुस्तालाई अध्यात्मसँग जोडेर लैजान र सन्तुलित तुल्याउन सहयोग पुग्ने विश्वस व्यक्त गर्नुभयो । लोकार्पण भएको ‘सत्सङ्गदीक्षा’ १११ पृष्ठको उक्त ग्रन्थमा सत्सङ्गको महत्व दर्साउँदै सत्सङ्ग एवं भजनबिना व्यर्थ समय खेरा नफाल्नु तथा आलस्य एवं प्रमादका परित्याग सदैव गर्नु भन्ने जस्ता सन्देश दिइएको छ ।