• ८ मंसिर २०८१, शनिबार

रङ्गकर्मलाई पेसा बनाउन अझै चुनौती

blog

काठमाडौँ, फागुन २६ गते । अहिले रङ्गमञ्चमा आफ्नो भविष्य बनाउन चाहने महिलाको सङ्ख्या धेरै भए पनि निरन्तरता दिनेको सङ्ख्यामा कमी नै देखिन्छ । पछिल्लो समय महिलालाई नै प्रमुख पात्र बनाएर नाटकहरू मञ्चन पनि भइरहेका छन् । नाटकमा पुरुष कलाकारको जति भूमिका छ, उत्तिकै भूमिका महिला कलाकारको पनि हुनु पर्छ भन्ने महिला रङ्गकर्मीको दाबी छ । 

पहिलेको तुलनामा अहिले महिला कलाकारका लागि रङ्गमञ्च ठुलो मञ्च भएको नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका कुलपति निशा पोखरेल बताउनुहुन्छ । पोखरेलले भन्नुभयो, “पहिले नाटकलाई पेसाका रूपमा हेरिँदैनथ्यो, नाटक गर्छु भन्दा जागिर पेसा के गर्छौं भनेर प्रतिप्रश्न गरिन्थ्यो । अहिले यो सोचमा परिवर्तन आएको छ ।”

रङ्गमञ्च नयाँ कलाकारका लागि उत्साह जगाउने पाटो भएको रङ्गकर्मी पशुपति राईको धारणा छ । उहाँ भन्नुहुन्छ, “नाटकमा लाग्न धैर्य, अनुशासन र लगनशीलता जरुरी छ । यति भए एउटा सफल थिएटर आर्टिस्ट बन्न सकिन्छ ।” नाटक सिक्नकै लागि भनेर १५ वर्षअघि धरानबाट काठमाडौँ आउनुभएकी राई त्यतिबेला नाटकमा लागेका महिला कलाकार औँलामा गन्न सकिने जति मात्र हुने गरेको सुनाउनुहुन्छ । उहाँले भन्नुभयो, “पहिला नाटक पढ्नका लागि काठमाडौँ आएको भन्दा धेरै आश्चर्य पर्थे तर अहिले त्यही सिकाइ र परिश्रमबाट मैले नाटक निर्देशन गर्न सफल भएको छु ।”

रङ्गकर्मी सरिता गिरी अचेल रङ्गमञ्चमा महिलाको सहभागिताले काम गर्न उत्साह जाग्न थालेको बताउनुहुन्छ । सुरुवातका दिनमा नाट्यकर्म त्यति सहज नभए पनि अहिले त्यो अवस्था नभएको उहाँको भनाइ छ । अहिले पनि केही ठाउँमा पुरुष हाबी हुन खोज्छन् तर समस्यालाई समाधान गर्दै व्यावसायिक रूपमा अगाडि आउन महिला स्वयम् नै जागरुक हुनु पर्छ । यति हुँदाहुँदै पनि रङ्गकर्मीलाई नै पेसा बनाउन भने अझै कठिन नै छ ।

महिलालाई नाट्यकर्ममा आउन परिवारको सहयोग पनि उत्तिकै महìवपूर्ण हुन्छ । अन्य पेसा व्यवसायमा जस्तो नाट्यकर्ममा कमाइ राम्रो हुँदैन, जसका कारण परिवारका सदस्य पनि भरपर्दो र दिगो कुनै पेसा अँगालोस् भन्ने चाहना राख्छन् । निर्देशक आकाङ्क्षा कार्की कुनै बेला आफन्तले बाहिरबाट पढेर आएको मान्छे किन थिएटरमा काम गर्नुप¥यो राम्रो जागिर गरे हुन्न भन्ने गरेको सुनाउनुुहुन्छ ।