• १९ वैशाख २०८१, बुधबार

कर्णालीबाट प्रादेशिक प्रदर्शनी सुरु

blog

सुर्खेत, फागुन १८ गते । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानद्वारा आयोजित ‘प्रादेशिक ललितकला प्रदर्शनी २०८०’ कर्णाली प्रदेशको सुर्खेतबाट सुरु भएको छ । ‘सामाजिक रूपान्तरणः ललितकलाको अभियान’ नारासाथ प्रज्ञा–प्रतिष्ठानले सातै प्रदेशमा पहिलो पटक प्रदर्शनी आयोजना सुरु गरेको छ । प्रदर्शनीको उद्घाटन कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले बिहीबार गर्नुभएको छ ।

मुख्यमन्त्री शर्माले हामीसँग रहेको कला, सिप र ज्ञानलाई विश्वसामु कसरी चिनाउने भन्ने नै अहिलेको चुनौती भएको बताउनुभयो । उहाँले सङ्घीय, प्रादेशिक र स्थानीय सरकार एवं निजी क्षेत्रसँगको सहकार्यमार्फत कला क्षेत्रको विकासमा अघि बढ्न सकिने बताउनुभयो ।

नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले संस्थागत नेतृत्व गर्ने अर्थमा प्रज्ञा–प्रतिष्ठान रहेको बताउनुभयो । उहाँले प्रदेशस्तरीय प्रदर्शनीपछि राष्ट्रिय प्रदर्शनी आयोजना गरिने अवधारणा अनुसार प्रदेश प्रदर्शनी थालिएको चर्चा गर्दै प्रदेश प्रदर्शनीले कलाकारमा उत्साह जगाएको बताउनुभयो ।

प्राज्ञ पाल्साङमो लामाले नेपाली कलाको जगलाई बलियो बनाउने गरी प्रदर्शनीले मार्ग कोर्नेमा आफू विश्वस्त रहेको बताउनुभयो । उहाँले प्रदेश प्रदर्शनीले नेपाली समाजमा विकसित कलाकृतिलाई राष्ट्रको मूलधारमा ल्याउन महत्वपूर्ण सहयोग मिल्ने विश्वास व्यक्त गर्नुभयो । 

जननमुना माध्यमिक विद्यालयका प्राचार्य याम श्रेष्ठ, जनसांस्कृतिक महासङ्घका अध्यक्ष भीम कुमाखी, डा. नवराज केसीलगायतले कलाको विकासमा प्रदेशस्तरीय कलाकारको सहभागिताले महत्वपूर्ण योगदान पुग्ने धारणा व्यक्त गर्नुभयो । प्रदर्शनीसँगै कला कार्यशालाको पनि आयोजना गरिएको छ । प्रदर्शनीमा कर्णाली प्रदेशका ४६ जना कलाकारको सहभागिता रहेको छ । प्रदर्शनीमा ६६ वटा कलाकृति समावेश छन् । कर्णाली प्रदेशको प्रदर्शनी फागुन २१ गतेसम्म सञ्चालन हुने जनाइएको छ । प्रदर्शनीबाट छानिएका कलाकृतिलाई २०८१ जेठ १५ देखि काठमाडौँमा आयोजना हुने ‘राष्ट्रिय ललितकला प्रदर्शनी २०८१’ मा समावेश गरिने जनाइएको छ ।