काठमाडौं, पुस १४ गते। नेपालमा बालबालिका जन्मिएको ६ महिनाभित्र दुधदानीबाट दुध खुवाउनेको सङ्ख्या बढ्दै गएको छ।
परिवार कल्याण महाशाखा अन्तर्गतको पोषण शाखा प्रमुख लीलाविक्रम थापाले जन्मिएको छ महिनाभित्र बोतलबाट दुध खुवाउनेको सङ्ख्या बढ्दै गएको जानकारी दिनुभयो।
जनसाङ्ख्यिक तथा स्वास्थ्य सर्वेक्षण (एनडीएचएस) को तथ्याङ्कले पनि २००१ मा दुधदानीबाट दुध खुवाउनेको सङ्ख्या पाँच प्रतिशत देखाएकोमा यो सङ्ख्या बढेर २०२२ मा २२ प्रतिशतमा पुगेको देखाएको छ। बाग्मती प्रदेशमा सबैभन्दा बढी ४३ प्रतिशत र कर्णाली प्रदेशमा सबैभन्दा कम ११ प्रतिशत छ।
त्यस्तैगरी, कोशी २५, मधेश १२, गण्डकीमा २७, लुम्बिनीमा २४, सुदूरपश्चिममा १५ प्रतिशतले दुधदानीबाट दुध खुवाउने गरेका छन्।पढे लेखेका तथा उच्च आय भएका परिवारले नै बालबालिकालाई स्तनपान नगराउने गरेको देखाएको छ।
पोषण शाखाका प्रमुख थापाका अनुसार उच्च आर्थिक आयस्रोत भएका ४६, उच्च शिक्षा हासिल गरेका ४९ प्रतिशतले दुधदानीबाट दुध खुवाउने गरेका छन्।
जनचेतनाको अभावले दुधदानीबाट दुध खुवाउनेको सङ्ख्या बढ्दै गएको थापा बताउनुहुन्छ। स्तनपानको महत्त्व नबुझ्दा फर्मुला मिल्क खुवाउने प्रचलन बढ्दै गएको थापाको तर्क छ।बोतलको दुधको खपत बढ्नु दुःखको विषय भएको थापाको भनाइ छ।
परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालका बालरोग विशेषज्ञ डा. शैलेन्द्रवीर कर्माचार्यले आमाको दुधमा पाइने रोगसँग लड्ने प्रतिरोधात्मक तत्त्व बट्टाको दूधमा नपाइने बताउनुहुन्छ।
उहाँ भन्नुहुन्छ,“बट्टाको दुध सेवन गर्ने शिशुहरूमा रोगसँग लड्ने क्षमताको कमी हुँदै भविष्यमा कुपोषित मात्र नभएर मोटोपना, मधुमेहलगायतका रोगहरू लाग्न सक्ने अध्ययनले देखाएको छ ।”
यसका साथै बट्टाको दुध सेवन गर्ने शिशुभन्दा स्तनपान गर्ने शिशुको बौद्धिक विकास भएको पाइएको छ।
पूर्ण स्तनपान गराउने लुम्बिनी प्रदेशमा कम
नेपालमा पूर्ण स्तनपान गराउनेको सङ्ख्या घट्दै गएको छ।एनडीएचएस २०२२ को प्रारम्भिक रिपोर्टले पूर्ण स्तनपान गराउने आमाको सङ्ख्या २०१६ को तुलनामा १० प्रतिशतले घटेको देखाएको छ।सन् २०१६ मा ६६ प्रतिशतले पूर्ण स्तनपान गराएका थिए भने २०२२ मा घटेर ५५ प्रतिशतमा झरेको छ।
उक्त तथ्याङ्कअनुसार लुम्बिनी प्रदेशमा पूर्ण स्तनपान गर्नेको सङ्ख्या सबैभन्दा कम ३६ प्रतिशत रहेको छ।पूर्ण स्तनपान गराउनेको सङ्ख्या सबैभन्दा बढी कर्णाली र सुदूरपश्चिम प्रदेशमा ७४ प्रतिशत रहेको छ।त्यसैगरी, कोशी प्रदेशमा ५३, मधेश प्रदेशमा ६५ प्रतिशत, बागमती प्रदेशमा ४३ प्रतिशत र गण्डकी प्रदेशमा ६४ प्रतिशत रहेको छ।
बालरोग विशेषज्ञ डा. कर्माचार्यले आधुनिकता, सामाजिक सञ्जालको असर, आमाको दुधको विकल्पका उपलब्धता र शरीर बिग्रने डरले स्तनपान गराउने महिलाको सङ्ख्या घट्दै गएको बताउनुहुन्छ।
उहाँ भन्नुहुन्छ, “शरीर बिग्रिने डरका कारण स्तनपान गराउने महिलाको सङ्ख्या घट्दै गएको छ।तर धेरै जनालाई थाहा छैन।स्तनपान गराएर शरीर बिग्रने होइन, झन् मानसिक र शारीरिकरूपमा स्वास्थ्य हुनुका साथै शरीर पहिलाको जस्तै हुन मद्दत गर्छ ।”
पूर्ण स्तनपान शारीरिक र बौद्धिक विकास गर्छ
सबै प्रकारको कुपोषण न्यूनीकरणमा स्तनपानको महत्त्वपूर्ण भूमिका खेल्ने देखाएको छ। स्तनपानको अभ्यासलाई सुधार गरिएमा वार्षिक रूपमा विश्वभर आठ लाख २० हजार शिशुको ज्यान जोगाउन सकिन्छ।बालरोग विशेषज्ञ डा.कर्माचार्यका अनुसार पूर्ण स्तनपान भनेको बच्चा जन्मिएको एक घण्टाभित्रबाट छ महिनासम्म आमाको दूध मात्र खुवाउने प्रक्रिया हो। डा.कर्माचार्यले आमाको दुध शिशुको लागि पूर्ण आहारा भएकाले बच्चालाई ६ महिनासम्म अन्य खानेकुरा आवश्यक पर्दैन।
पूर्ण स्तनपानले शिशुको शारीरिक र बौद्धिक विकास अन्य बच्चाको तुलनामा राम्रो हुने चिकित्सक बताउँछन्।दुधमा बच्चालाई चाहिने सम्पूर्ण पौष्टिक आहार, प्रोटिन, फ्याट, क्याल्सियमजस्ता तत्त्व पाइने डा.कर्माचार्य बताउनुहुन्छ।
आमाको बिगौती दुधले भविष्यमा बालबालिकालाई विभिन्न प्रकारका रोगको जोखिमबाट टाढा राख्नुका साथै बाल मृत्युदर घटाउन मद्दत गर्ने विभिन्न अध्ययनले देखाएको छ।
शिशु जन्मेपछि ६ महिनाको उमेरसम्म उसलाई चाहिने सम्पूर्ण पौष्टिक तत्त्वहरू आमाको दूधमा नै पर्याप्त मात्रामा पाइने हुँदा जन्मेको ६ महिनासम्म आमाको दुध मात्र खुवाउन चिकित्सकको सुझाव छ।
चिकित्सकका अनुसार बच्चा जन्मेको ६ महिना पुरा भएपछि पोषिलो थप खानाका साथसाथै कम्तीमा दुई वर्षसम्म स्तनपानलाई पनि निरन्तरता दिनुपर्छ।
सरकारले सन् २०३० सम्म पूर्ण स्तनपान गराउने आमाको सङ्ख्या ९० प्रतिशत पुर्याउने लक्ष्य लिएको छ।तर, आधुनिकता, सामाजिक सञ्जालको असर, आमाको दुधको विकल्पका उपलब्धता र शरीर बिग्रने डरका कारण पूर्ण स्तनपान घट्दै जाँदा लक्ष्य हासिल गर्न चुनौती थपिएको थापाको भनाइ छ।