• २० वैशाख २०८१, बिहिबार

लगानी वातावरणमा सुधार

blog

केही समययता मुलुकको अर्थतन्त्रमा देखिएको शिथिलता क्रमशः हटेर अर्थतन्त्रका सम्पूर्ण सूचक चलायमान हुन थालेको नेपाल राष्ट्र बैङ्कको तथ्याङ्कले देखाएको छ । कोरोना सङक्रमण, रुस–युक्रेन युद्ध, इजरायल–हमास युद्धलगायतका कारण सुस्ताएको अर्थतन्त्र लयमा फर्काउन सरकारले गरेको प्रयत्नले सफलता पाएको अर्थशास्त्रीहरूको बुझाइ छ । पछिल्लो एक वर्षको अवधिमा प्रत्यक्ष विदेशी लगानी र प्रतिबद्धता पनि वृद्धि भएको पाइनुले लगानी वातावरणमा राम्रो सुधार आएको छ । यसबाट मुलुकको अर्थतन्त्रले आगामी दिनमा अझ गति लिने अपेक्षा गरिएको छ । मित्रराष्ट्रहरूको भ्रमणका क्रममा होस् अथवा विभिन्न विश्वमञ्चमा सहभागिता जनाउने क्रममा, नेपाललाई लगानी गन्तव्य मुलुकका रूपमा चिनाउन कार्यकारी प्रमुखलगायतले निरन्तर गरेको प्रयत्न सार्थक देखिनुलाई सरकारको सफलता मान्नु पर्छ । 

नेपालमा लगानीका निम्ति अनुकूल वातावरण बनाउन यसबिचमा लिइएका नीतिहरू नै मूल कारण हुन् । अर्थतन्त्र सुधारका निम्ति नीतिगत सुधार पनि भएका कारण वैदेशिक लगानी बढ्दै गएको केन्द्रीय बैङ्कले स्पष्ट गरेको छ । चालु आर्थिक वर्ष २०८०/८१ को चार महिना (साउन–कात्तिक) मा खुद प्रत्यक्ष वैदेशिक लगानी तीन अर्ब ६४ करोड रुपियाँ भित्रिएको  छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो लगानी केवल ४२ करोड ९२ लाख रुपियाँमा सीमित थियो । यसै गरी उद्योग विभागले सार्वजनिक गरेको तथ्याङ्कमा पनि चालु आवको पाँच महिना (साउन–मङ्सिर) मा प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धतामा उल्लेख्य वृद्धि भएको देखिएको छ । यस अवधिमा १९९ उद्योगमार्फत कुल २४ अर्ब ३५ करोड ७२ लाख ३७ हजार रुपियाँको प्रतिबद्धता आएको छ  । गत वर्षको सो अवधिमा १११ उद्योगमार्फत १२ अर्ब ४४ करोड ९२ लाख ८८ हजार ७०४ रुपियाँको विदेशी लगानी प्रतिबद्धता आएको थियो । साउन महिनामा वैदेशिक लगानी उत्साहजनक रूपमा बढेर करिब १२ अर्ब रुपियाँ बराबरको प्रत्यक्ष वैदेशिक लगानी स्वीकृत भएको उद्योग विभागले जनाएको छ । जब कि अघिल्लो आवको साउनमा दुई अर्ब ६४ करोड रुपियाँको मात्र लगानी प्रतिबद्धता आएको थियो । यसै गरी भदौमा दुई अर्ब ७२ करोड र असोजमा एक अर्ब ९८ करोड रुपियाँको विदेशी लगानी प्रतिबद्धता आएको थियो भने कात्तिकमा एक अर्ब ७५ करोड र मङ्सिरमा दुई अर्ब २५ करोड रुपियाँको लगानी प्रतिबद्धता आएको विभागको तथ्याङ्कमा उल्लेख छ । यसरी वृद्धि हुनुमा लगानीको सुनिश्चितता भएको, उदीयमान अर्थतन्त्र, छिमेकी बजारको सम्भाव्यता र विश्व परिवेश अनुरूपका क्षेत्र पहिचान गरेर लगानीकर्ता आकर्षित हुन थालेको आर्थिक विश्लेषकहरूको भनाइ छ । 

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विश्वमञ्चमार्फत लगानीकर्तालाई बारम्बार नेपालमा लगानी गर्न आउन आह्वान गर्दै आउनुभएको छ । संयुक्त अरब इमिरेट्स (युएई) मा आयोजित ‘संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी सम्मेलन’ (कोप–२८) मा नेपालको प्रतिनिधित्व गर्दै भाग लिने क्रममा उहाँले युएईका लगानीकर्तालाई नेपालमा लगानी गर्न आउन आग्रह गर्नुभएको छ । त्यसअघि मित्रराष्ट्रहरूको भ्रमणका क्रममा होस् अथवा विभिन्न विश्वमञ्चहरूमा सहभागिता जनाउने क्रममा, नेपाललाई लगानी गन्तव्य मुलुकका रूपमा चिनाउन नेपाल सरकार प्रयत्नशील छ । केही समयअघि मित्रराष्ट्र भारत तथा चीनको भ्रमणका क्रममा पनि प्रधानमन्त्री प्रचण्डले लगानीका लागि कुनै किसिमको दुबिधा नलिन आग्रह गर्नुले लगानीकर्तामा विश्वास अभिवृद्धि भएको थप प्रतिफल पछिल्लो लगानी वृद्धिको तथ्याङ्कलाई मान्न सकिन्छ ।

सरकारले वैदेशिक लगानी तथा प्रविधि हस्तान्तरणसम्बन्धी ऐनमार्फत एकल बिन्दु सेवा केन्द्रको अवधारणा अवलम्बन गरेका कारण लगानीकर्ताको आकर्षण वृद्धि भएको आकलन गरिएको छ । एकद्वार प्रणालीबाट सबै प्रक्रिया अगाडि बढाउन सकिने व्यवस्थाले पक्कै पनि लगानीकर्तामा उत्साह थपिएको हुनु पर्छ । विदेशी तथा स्वदेशी लगानीकर्तालाई सञ्जालीकरण गर्दै अगाडि बढ्न सकियो भने अवश्य पनि लगानीका क्षेत्र फराकिलो हुँदै जाने छन् । विदेशी लगानीलाई सहजीकरण गर्न सरकारले गत वर्षको मङ्सिरदेखि नै लगानीको न्यूनतम सीमा पाँच करोडबाट घटाएर दुई करोड रुपियाँ बनाएको थियो । 

चालु आवको बजेटबाट नीतिगत सुधारका कार्यक्रम अगाडि बढाउँदै प्रक्रियागत सरलीकरण, अन्तरनिकाय समन्वय, लगानीकर्तालाई प्रतिफल लैजानका लागि गरिने शीघ्र निर्णयले पनि विदेशी लगानी बढ्न थालेको हो । सरकारले दुई वटा लगानी सम्मेलन सफलतापूर्वक आयोजना गरिसकेको र तेस्रो लगानी सम्मेलनको तयारी चलिरहेको पूर्वसन्ध्यामा लगानी वृद्धि हुन थाल्नुले थप आशा जगाएको छ । पर्यटन र सेवा क्षेत्रमा लगानीकर्ताको आकर्षण उत्साहजनक देखिएको छ । राजनीतिक स्थिरता, ऐन कानुनद्वारा लगानी सुनिश्चित र प्रतिफल उपभोगको प्रत्याभूति हुनुले तेस्रो लगानी सम्मेलन थप फलदायी हुने छ ।