काठमाडौँ, पुस ९ गते । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–१३, फटकशिलाका कुलप्रसाद तिवारीको गाई मरेपछि किलो रित्तो भएको चार महिना पूरा भएको छ । आर्थिक रूपमा विपन्न उहाँ सरकारले उपलब्ध गराउने भनिएको क्षतिपूर्ति बापतको रकम पर्खिएर बस्नुभएको छ । उहाँले धेरै स्थानमा स्थानीय तहले राहत दिएको सुने पनि आफ्नो गाउँमा कहीँकतैबाट कुनै पनि सहयोग नपाएको गुनासो गर्नुभयो । 
धुलिखेल नगरपालिका–१२, शङ्खुपाटीचौरका गायत्री आचार्यको पनि लैनो गाई ‘लम्पी स्किन’का कारण मरेको थियो । एक लाख रुपियाँ पर्ने गाई मरेपछि राहत पाउने आसमा रहनुभएकी उहाँले हालसम्म स्थानीय, प्रदेश र सङ्घीय सरकारबाट कुनै पनि राहत नपाएको गुनासो गर्नुभयो । आफ्नै नगरका अरू वडाले पीडित किसानलाई राहत वितरण गरेको सुने पनि आफ्नो वडामा राहत पाउन नसक्दा उहाँ निराश हुनुभएको छ ।
उहाँहरूजस्तै ‘लम्पी स्किन’ सङ्क्रमणले किलो रित्तो भएका ६५ हजार ४४१ परिवार सरकारी राहत कुरेर बसेका छन् । चालु आर्थिक वर्ष २०८०/८१ मा मात्रै मुलुकभरका १५ लाख ३६ हजार १८० पशुमा ‘लम्पी स्किन’ को सङ्क्रमण हुँदा ६५ हजार ४४१ वटा पशु मरेका थिए । असारदेखि असोजसम्म उच्च बिन्दुमा पुगेको फैलावटको दर क्रमिक रूपमा घट्दै अहिले शून्य अवस्थामा पुगे पनि पीडित किसानले भने राहतको आशा नै मारेका छन् ।
पशु सेवा विभागका महानिर्देशक उमेश दाहालले समयमै किसानलाई क्षतिपूर्ति दिलाउन नसकेको स्विकार्नुभयो । उहाँले कृषि तथा पशुपन्छी विकास मन्त्रालय, पशु सेवा विभागले क्षतिको विवरण अर्थ मन्त्रालयमा पठाएको धेरै समय भए पनि रकम निकासा हुन नसकेको बताउनुभयो ।
उहाँले झिँगा, लामखुट्टे र भुसुनाको टोकाइले सङ्क्रमित पशुबाट स्वस्थ पशुमा सर्ने ‘लम्पी स्किन’ को सङ्क्रमण चिसो बढेसँगै शून्यको अवस्थामा झरेको छ तर जोखिम कायमै रहेकाले यो वर्षको क्षतिपूर्ति र आगामी वर्षमा हुने जोखिम न्यूनीकरणसम्बन्धी योजना तयार थाल्न आवश्यक बजेट व्यवस्थापन सरकारले गरिदिनुपर्ने बताउनुभयो ।
सङ्क्रमण भएर निको भएका पशुको घाउको खत रहेको र दुध उत्पादनमा कमी भए पनि पछिल्लो समय थप पशु सङ्क्रमित भएको रिपोर्टिङ भएको छैन । विभागका प्रवक्ता डा. चन्द्र ढकालले सङ्क्रमण बढेको जानकारी प्राप्त नभएको तर सङ्क्रमित पशु क्रमिक रूपमा निको भएको जानकारी प्राप्त भएको बताउनुभयो ।
चालु आर्थिक वर्ष ‘लम्पी स्किन’ कै कारण किसानले ७५ अर्ब ५२ करोड ८२ लाख रुपियाँ बराबरको क्षति बेहोरेका छन् । पशु चिकित्सा परिषद्को अध्ययन अनुसार एउटा स्वस्थ्य पशुमा लम्पीको सङ्क्रमण भएमा ४९ हजार १३५ रुपियाँको आर्थिक क्षति हुन्छ । सोही आधारमा कृषि मन्त्रालयले किसानलाई क्षतिपूर्तिका लागि आवश्यक विवरण कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय र अर्थ मन्त्रालयमा पठाएको छ ।
कृषि मन्त्रालयका वरिष्ठ कृषि प्रचार अधिकृत दीपक पौडेलले क्षतिपूर्ति दिने प्रक्रिया अर्थ मन्त्रालयमा रोकिएपछि किसानलाई उपलब्ध गराउने विषय नै रोकिएको बताउनुभयो । उहाँले कृषिमन्त्रीले पटक पटक ध्यानाकर्षण गराउँदा पनि अर्थ मन्त्रालयबाट रकम निकासा हुन नसकेको बताउनुभयो ।
सरकारको पछिल्लो तथ्याङ्कका आधारमा पशुधनको क्षेत्रमा इतिहासकै सबैभन्दा ठुलो क्षति किसानले बेहोरेका छन् । यसका तत्कालीन र दीर्घकालीन असर रहे पनि तत्कालका लागि कुल गार्हस्थ उत्पादनमा भने खासै नपार्ने तर किसानलाई क्षतिपूर्ति समयमै दिलाउन नसकेको विभागका प्रवक्ता ढकालले बताउनुभयो । उहाँले किसानको आर्थिकस्तर माथि उठाउन तत्काल राहतको प्याकेज आवश्यक परेको स्पष्ट पार्नुभयो ।
‘लम्पी स्किन’ सङ्क्रमणकै कारण दुध उत्पादन, जैविक मल उत्पादन, पशुलाई खनजोत र ढुवानीमा समस्या देखिन थालेको छ । अहिले उत्पादनमा आउने असर मात्रै देखिए पनि मरेका पशुको सट्टामा नयाँ पशु खरिद गर्न, उपचार, पोषणमा लाग्ने खर्चले कुल आयमा असर पार्ने राष्ट्रिय तथ्याङ्क कार्यालयका तथ्याङ्क अधिकृत नन्दलाल सापकोटाले जानकारी दिनुभयो । उहाँले कुल गार्हस्थ उत्पादनमा कृषि र पशुको २३ प्रतिशत योगदान रहेको तथा त्यसमा पशु मात्रैको योगदान छ प्रतिशत रहेको सन्दर्भमा पशु क्षेत्रमा भएको आर्थिक क्षतिले गरिब किसानलाई झन् गरिब बनाउने दाबी गर्नुभयो ।
नेपाल पशु चिकित्सा परिषद्का प्रवक्ता डा. मनोज शाहीले आगामी वर्ष पनि लम्पीको जोखिम रहेकाले विभागको अगुवाइमा बृहत् अनुसन्धान आवश्यक रहेको बताउँदै किसानलाई क्षतिपूर्ति दिन ढिला गर्न नहुने धारणा व्यक्त गर्नुभयो ।
 
                                
                             
                                                 
                                                             
                                                                 
                                                                 
                                                             
                                                                -(1)-square-thumb.jpg) 
                                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                