• २२ मङ्सिर २०८२, सोमबार

निर्यात अनुदानको पुरानो रकम उपलब्ध गराइने

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, मङ्सिर २२ गते । सरकारले निर्यातमा व्यवसायीलाई दिँदै आएको नगद अनुदानबापतको बाँकी रकम उपलब्ध गराउने भएको छ । चालु आर्थिक वर्ष २०८२/८३ को बजेटमार्फत निर्यातमा दिइँदै आएको नगद अनुदानबापतको रकम कटौती गरे पनि पुरानो रकम भने उपलब्ध गराइने भएको हो । अर्थमन्त्री रामेश्वरप्रसाद खनालले व्यवसायीलाई अनुदानबापतको पुरानो रकम उपलब्ध गराइने जानकारी दिनुभयो । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले अनुदान रकम उपलब्ध गराउन अर्थ मन्त्रालयमा प्रस्ताव पेस गरेको जनाएको छ । चालु आवमा निर्यातमा नभई उत्पादनका आधारमा व्यवसायी रकम उपलब्ध गराइने मन्त्रालयले जनाएको छ । 

अर्थ मन्त्रालयका प्रवक्ता टङ्कप्रसाद पाण्डेले वाणिज्य मन्त्रालयबाट अनुदान रकम उपलब्ध गराउनका लागि प्रस्ताव आए पनि निकासाका लागि निर्णय भइनसकेको जानकारी दिनुभयो । जतिसक्दो छिटो निर्णय गरेर रकम निकासा गरिने उहाँले जानकारी दिनुभयो ।

नेपाल निर्यात परिषद्का अध्यक्ष नरेशलाल श्रेष्ठले निर्यातमा दिइँदै आएको दुई आवको पाँच अर्ब अनुदान रकम रोकिएको जानकारी दिनुभयो । स्वदेशी उत्पादनको लागत मूल्य महँगो र कच्चा पदार्थ आयात गरी मूल्य अभिवृद्धि (भ्यालु एडिसन) गरेर सामान निर्यात गर्नुपर्ने भएकोमा अनुदान रकम रोकिँदा निर्यातमा समस्या परेको उहाँको भनाइ छ । 

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवालले निर्यातलाई प्रतिस्पर्धी बनाउन नगद अनुदानको व्यवस्था गर्नुपर्ने बताउनुभयो । भ्यालु एडिसनका आधारमा निर्यातमा १० देखि १५ प्रतिशतसम्म नगद अनुदान दिनुपर्ने उहाँको भनाइ छ ।

सरकारले निर्यातमा सुरुमा २७ वटा वस्तुमा अधिकतम पाँच प्रतिशतसम्म अनुदान दिने व्यवस्था थियो । पछि आव २०७९/८० को बजेटमार्फत अनुदान दिने वस्तुको सूची र अनुदान प्रतिशत दुवै बढाएको थियो । त्यसपछि ३६ प्रकारका वस्तुमा चारदेखि आठ प्रतिशतसम्म नगद अनुदान दिइँदै आएको थियो । 

उद्योगले निर्यात गरेर प्राप्त गरेको डलर बैङ्क खातामा दाखिला भएको प्रमाणका आधारमा नगद प्रोत्साहन दिने व्यवस्था छ ।