काठमाडौं, पुस ३ गते । साझा यातायातका एक मात्र चालक महिला हुनुहुन्छ हर्मिता श्रेष्ठ । उहाँको जन्म धरानमा भएको हो । सानै उमेरदेखि गाडी चलाउने रहर, यही रहरले उहाँलाई सफल व्यावसायिक चालक बनायो पनि । सानो छँदा घरमै रहेको भ्यान सिकेका हर्मितालाई ठूलो भएपछि लाग्यो अब जानेको काम गर्नुपर्छ । उहाँ अचेल कीर्तिपुर बस्नुहुन्छ । बिहानै बाइक हाँकेर ललितपुरस्थित साझा यातायातको कार्यालयसम्म पुग्नुहुन्छ र दिनभरि बस चलाएर साँझ घर फर्कनुहुन्छ ।
यसैगरी दैनिकी बिताउँदै आउनुभएकी हर्मिता भन्नुहुन्छ, “दिनमा चार टिप चलाइन्छ । अहिले पाटनढोका – दक्षिणढोका रुट चलाइरहेका छौं । बिहान आउने र बेलुका बस यही कार्यालयमा राखेर घर फर्कने हो ।”
सडकमै काम गर्ने ट्राफिक प्रहरी र चालक सहकर्मी भनिए पनि सहकार्यका लागि सहयोगी भावना नपाइएको गुनासो छ । अपाङ्गमैत्री सार्वजनिक यातायातका साधनमा त्यस्ता व्यक्तिलाई चढ्न र ओर्लिन समय लाग्ने कुरा सम्बन्धित पक्षले बुझ्नुपर्ने उहाँको भनाइ छ ।
उहाँले साझा यातायातमा चालक पेसा गर्नुभएको पाँच वर्ष भयो । यो पेसामा केही अप्ठ्यारा पो छन् कि भन्ने जिज्ञासामा उहाँले सडकमा ट्राफिक प्रहरीबाट भनेजस्तो सहज अनुभव हुन नसकेको बताउनुभयो । यसबाहेक यात्रु, सहचालक तथा कार्यालयमा सबैको सहयोग रहेको उहाँको भनाइ छ ।
हर्मिता भन्नुहुन्छ, “हामी मजदुर त रोडमा काम गर्ने हो । यात्रु चढाउने, ओराल्ने । बुढाबुढी मान्छे अलि विस्तारै चढ्ने, ओर्लने गर्नुहुन्छ । साझाको यो विद्युतीय गाडी ब्रेक लागेपछि मात्रै ढोका खुल्छ । त्यसैले एकैछिन दुई सेकेण्ड ढिला हुने बित्तिकै रोडमै काम गर्ने ट्राफिक दाइ, भाइहरुले चाहिँ किन ढिलो ? यही बसले चाहिँ जाम गर्यो भन्ने खालको कुरा हुन्छ ।”
सडकमै काम गर्ने ट्राफिक प्रहरी र चालक सहकर्मी भनिए पनि सहकार्यका लागि सहयोगी भावना नपाइएको उहाँको गुनासो छ । अपाङ्गमैत्री सार्वजनिक यातायातका साधनमा त्यस्ता व्यक्तिलाई चढ्न र ओर्लिन समय लाग्ने कुरा सम्बन्धित पक्षले बुझ्नुपर्ने उहाँको भनाइ छ ।
उहाँसँग यसअघि १६ वर्ष युएनको कार्यालयमा चालक पेसाको अनुभव छ । त्यो समय पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म लामो दूरीका बस हाँकेको उहाँ स्मरण गर्नुहुन्छ । साझामा कसरी जोडिनुभयो भन्ने जिज्ञासामा उहाँले आवेदन खुलाएको बेला जाँच पास गरेर चालकको काम गर्दै आएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “आवेदन दिएर जाँच पास गरें अनि जागिर खाएँ । महिला, पुरुष केही नभनीकन जागिर दिनुभयो, खुसी लाग्यो ।” सार्वजनिक रुटमा कोही यात्रु हर्मितासँग फोटो खिच्न रुचाउँछन् । गाउँघरतिरबाट आउने दिदीबहिनीले आफूलाई देखेर खुसी हुने गरेको उहाँले सुनाउनुभयो ।
यसबाहेक, बसमा अनेक थरीका मानिस आवतजावत गर्छन्, अन्य दुर्व्यवहार पनि हुन्छन् कि भन्ने जिज्ञासामा उहाँले चालक छुट्टै स्टेरिङमा भएकाले पनि होला त्यसखाले व्यवहार आफूमथि नभएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “दाइहरुले चलाएको होला भनेर रोकिदिनुस् दाइ भन्नुहुन्छ । पछि त दिदी पो हुनुहुँदो रहेछ भन्नुहुन्छ । यात्रा गरेर निस्कँदा पनि दिदी भनेर नमस्कार गरेर जानुहुन्छ । बुढाबुढी मान्छेले आशीर्वाद दिएर जानुहुन्छ ।”
यसै पनि जोखिममय रहने चालक पेसामा महिला र पुरुष दुवै बराबर खट्नुपर्छ । काम अनुसार पारिश्रमिक पनि महिला र पुरुषलाई समान रहेको उहाँले बताउनुभयो ।
करिब २३ वर्ष चालक पेसा अँगाल्नुभएकी हर्मिताले अब भविष्यमा अरु काम गर्ने योजना तत्काल बुन्नुभएको छैन । उमेर ढल्किँदै जाँदा बिहान, बेलुका हिँड्न गाह्रो हुने चिन्ता भने एकातिर लागेको छ । तर चालक पेसामा अरु महिला पनि आएदेखि सहज हुने थियो भन्ने आशा भने छ ।
उहाँले सरकारले नै इच्छुक महिलाका लागि सवारी सिक्ने अवसर प्रदान गरेर लाइसेन्स दिनुपर्ने व्यवस्था मिलाउनुपर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, “महिलाले पनि गर्न सकिने रहेछ । अलिकति फुर्सद नभएर वा फुत्त निस्केर काम गर्न बन्देज जस्तो पनि छ महिलालाई । यो क्षेत्रमा धेरै महिला आउनुभए हुन्थ्यो । सिक्नुभए हुन्थ्यो । ठूलो–ठूलो हेभी बसहरु चलाउन, सिक्न दिने सरकारी कुनै ड्राइभिङ सेन्टर खोलेर इच्छुक महिलाले सिक भनेर पर्फेक्ट पारेर लाइसेन्स दिएको भए हुने थियो ।”
भिडियो : मनोजरत्न शाही र केशव गुरुङ