• १३ कात्तिक २०८२, बिहिबार

माओवादी र समाजवादीमा एकता : विस्तृत समीक्षासहित अघि बढ्न सुझाव

blog

काठमाडौँ, कात्तिक १३ गते । नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) बिच पार्टी एकताको चर्चा चुलिएसँगै नेताहरू छलफलमा जुटेका छन् । 

दुई वर्ष अघि २०८० असार ४ गते माओवादी केन्द्र, नेकपा (एस), उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी, नेपाल र नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी गरी चार दलले समाजवादी मोर्चाको घोषणा गरेका थिए । उक्त मोर्चाले चार घटकबिचको एकता प्रक्रिया अगाडि बढाउने विषयमा निरन्तर छलफल गर्दै आएको छ ।  

माओवादी केन्द्रका नेता देव गुरुङका अनुसार पछिल्लो समय समाजवादी मोर्चामा रहेका चार घटकबिच प्राथमिकताका साथ एकताको पहल गर्ने गरी संवाद अघि बढेको थियो । 

नेता गुरुङले भन्नुभयो, “चारवटै घटकको बिचमा संवाद सुरु पनि भएको हो । बिचमा विप्लवजीले नेतृत्व गर्नुभएको पार्टीको सन्दर्भमा अलिकति पर्खौं, हतारो नगरौं भन्ने एक प्रकारको उहाँहरूको कुराकानी भयो  ।”  नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको दलबाहेक अरू घटकका बिचमा एकताका लागि सैद्धान्तिक रूपमा तयारी अवस्थामै रहेको उहाँको भनाइ छ ।

उहाँले समाजवादी मोर्चामा रहेका अरू तीन घटकबिच एकताका लागि सैद्धान्तिक तयारी भए पनि व्यावहारिक तयारीको पाटो भने अझै बाँकी रहेको बताउनु भयो । 

उहाँले भन्नुभयो, “व्यावहारिक रूपमा जति तयारीमा लाग्नुपर्ने हो, त्यो पाटो भने अझै पनि बाँकी छ । यो चाहिँ फाइनल भएको छैन । तर सामान्यतया, अलि छिट्टै अगाडि बढ्नुपर्छ, टुङ्गोमा पुग्ने गरी प्रयास र पहल चाहिँ सुरु गर्नुपर्छ भन्ने प्रकारको कुराको मुख्य अन्डरस्ट्यान्डिङ चाहिँ भएको छ ।”     

पूर्व प्रधानमन्त्री समेत रहनुभएका नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनाल भने बृहत्तर वामपन्थी एकताको पक्षमा रहेको बताउनुहुन्छ । 

नेता खनालले भन्नुभयो, “म वामपन्थीहरूको बिचमा बृहत् एकताको पक्षमा छु । अहिले हामी यो पार्टीलाई अगाडि बढाउने सिलसिलामा मुलुक जुन खालको परिस्थितिबाट अगाडि बढ्दैछ नि, यो परिस्थितिमा सबैभन्दा पहिले हाम्रो पार्टीले चार वर्षको अनुभवको समीक्षा गर्न जरुरी छ ।”

उहाँले पार्टीमा भएको विद्रोहका विस्तृत समीक्षा गर्दै पुनर्गठन एवम् रूपान्तरण गर्नुपर्नेमा जोड दिनुभयो । यस पश्चात् पार्टी एकीकरणको दिशामा अघि बढ्नुपर्ने उहाँको राय छ ।

“पार्टी विद्रोहपछि हाम्रो यात्रा कसरी अगाडि बढ्यो ? हामी ठीक बाटोमा हिंड्यौं या बेठीक । हाम्रा उपलब्धिहरू के भए, हाम्रा कमजोरीहरू के भए । यो कुरालाई पहिले समीक्षा गर्न जरुरी छ । त्यो समीक्षाको साथ साथमा हाम्रो पार्टीलाई अहिलेको परिस्थितिको माग अनुरूप पुनर्गठन र रूपान्तरण गर्न जरुरी छ”, उहाँले भन्नुभयो, “त्यसपछि मात्रै एकीकरणको दिशातर्फ सोच्नु राम्रो हुन्छ । तर, यी सबै कुरा नगरिकन गरिने एकताले सबैलाई एउटा गञ्जागोलभित्र फसाइदिने खतरा हुन्छ ।”

उहाँले एकतामा आउन चाहने सबै वामपन्थीबिचमा बृहत्तर समझदारी र एकता निर्माण गर्नु आजको आवश्यकता रहेको विचार राख्नुभयो । 

जेनजी आन्दोलन र बदलिँदो अवस्था

माओवादी नेता देव गुरुङ जेनजी आन्दोलनले कम्युनिस्ट एकताको आवश्यकता दर्शाएको तथा यसका लागि ग्राउन्ड रियालिटी तयार गरेको धारणा राख्नुहुन्छ । यद्यपि यसलाई दलहरूले कतिको आत्मसात् गरेर जान सक्छन् या सक्दैनन् भन्ने विषय चेतनाको विकासको आधारमा हुने उहाँको भनाइ छ । 

उहाँले भन्नुभयो, “जेनजी आन्दोलनले कम्युनिस्टको एकताको आवश्यकतालाई दर्शाएको चाहिँ छ । अब एकता नभई हुँदैन भन्ने त्यो स्थिति पैदा गराएको छ । अब्जेक्टिभ रूपमा त्यो कुरा पैदा गराएको छ । त्यो कुरालाई हामीले कति सब्जेक्टिभ रूपले आत्मसात् गर्न सक्छौं या सक्दैनौं भन्ने कुरा हो । ग्राउन्ड रियालिटी तयार भएर मात्रै त पुग्दैन त । आफ्नो चेतनाको हिसाबले पनि त्यो तयारी हुनुपर्दछ ।”

त्यसो त, माओवादी केन्द्र र नेकपा एसबिचको एकताको विषय लामो समयदेखि उठे पनि व्यावहारिक रूपमा कार्यान्वयन किन नभएको हो भन्ने जिज्ञासामा नेता गुरुङले समान विचारको आधारमा कम्युनिस्ट पार्टी एकीकरण हुने भए पनि  समय–समयमा उठ्ने फरक विचारका कारण केही विलम्ब भएको बताउनु भयो । 

उहाँले भन्नुभयो, “हामी मार्क्सवादमा विश्वास गर्ने भएको हुनाले मार्क्सवादले के भन्छ भने हरेक वस्तुमा नेगेटिभ र पोजेटिभ गुण छ । सोचमा पनि एकता गर्नुपर्छ भन्ने पनि र एकता गर्नुहुन्न भन्ने पनि छ । एकता गर्न सकिन्छ भनेरै सबै घटकका बिचमा सैद्धान्तिक स्तरमा नीतिगत निर्णय त गरे । प्राथमिक रूपमा निर्णय गर्ने प्रक्रियामा त कसैले के, कसैले के भनिरहेकै हुन्छन् । त्यसकारण त्यस्तो किसिमको विलम्बबाहेक  केही पनि देखिँदैन ।”

यसैगरी, एसका नेता खनालले सबै वामपन्थीहरूले समाजवादी कार्यक्रम लिइनसकेको अवस्थामा समाजवादी मोर्चा बनेको जसकारण, यसले सफलता हासिल गर्न नसकेको धारणा राख्नुभयो ।

उहाँले भन्नुभयो, “सबै वामपन्थीहरूले समाजवादी कार्यक्रम लिइसकेकै छैन । ज–जसले कार्यक्रम लिइसकेका छन्, उनीहरूले मात्रै समाजवादी मोर्चाको कुरा गर्न सुहाउँछ र उपयुक्त पनि हुन्छ । समाजवादी मोर्चा बनाउने परिपक्व परिस्थिति तयार भएको थिएन । त्यस्तो अवस्थामा भनिएको हुनाले त्यो सफल पनि भएन ।”

समाजवादी मोर्चामा रहेको नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको कम्युनिस्ट पार्टी, नेपाल नामक दल बुधबार निर्वाचन आयोगमा दर्ता भएको छ । कम्युनिस्ट पार्टी, नेपालको पछिल्लो केन्द्रीय समितिको बैठकले वामपन्थी शक्तिबिचको एकतामा जोड दिए पनि सत्तामा पुगेका पुराना कम्युनिस्ट पार्टीहरूबाट परिवर्तन नहुने र जेनजीसहितको पुनर्गठन आवश्यकता रहेको निष्कर्ष निकालेको थियो । 

Author
सपना थामी

उहाँ राजनीति र समसामयिक विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।