• १२ साउन २०८१, शनिबार

बुवा–छोराको कथा ‘एनिमल’

blog

काठमाडौँ, मङ्सिर १६ गते । बुवा–छोराबिच द्वन्द्व र प्रेम हुनु सामान्य कुरा हो र यही विषयलाई लिएर बलिउडमा धेरै चलचित्र बनिसकेका छन् । अमिताभ बच्चन र दिलीपकुमार अभिनित चलचित्र ‘शक्ति’, अमिताभ बच्चन र प्राण अभिनित ‘सराबी’ बुवा–छोराबिचको कथा भएको चलचित्र हो । पुरानो जमानाको भए पनि यी चलचित्रलाई अहिले पनि धेरैले सम्झिने गरेका छन् । अहिले युवावर्गलाई लक्षित गरेर निर्देशक सन्दीप रेड्डी वाङ्गाले बुवा–छोराकै सम्बन्धको विषयलाई लिएर एउटा द्वन्द्वले भरिएको चलचित्र ‘एनिमल’ दर्शकसामु पस्कनुभएको छ । साथै निर्देशकले बलिउडमा केही नाम चलेका कलाकारलाई पनि चलचित्रमा अभिनय गराउनुभएको छ । 

बलवीर सिंह (अनिल कपुर) एक व्यस्त व्यवसायी हुन्, जसले आफ्नो व्यस्त तालिकाका कारण आफ्ना छोरा अर्जुन सिंह (रणवीर कपुर) लाई बाल्यकालमा बुवाले एउटा छोरालाई दिनुपर्ने माया दिन सक्दैनन् । अर्जुन सिंहले मनमा यो तितोपन सधैँभरि बसिरहन्छ तर पनि उनी आफ्ना बुवालाई हृदयदेखि माया गर्छन् र उनलाई कुनै समस्या पर्‍यो भने कतै सहन सक्दैनन् । अर्जुनको यही मनोवृत्तिले गर्दा उनी कहिले अपराधको संसारमा पाइला टेक्छन्, पत्तै हुँदैन । अर्को चलचित्रभित्र उनको सबैभन्दा ठुलो शत्रु विराज सर्व (बबी देवल) हुन्छन् । त्यसपछि सुरु हुन्छ लडाइँ र रक्तपातको शृङ्खला, जुन अन्ततः ठुलै युद्धमा परिणत हुन्छ । यसपछि अर्जुनलाई के कस्तो अवस्थाले थिचोल्छ । उनीमाथि अझ कस्ता भयानक कुरा आइलाग्छन् भन्ने कुराको समिश्रण हो चलचित्र ‘एनिमल’ ।

चलचित्रमा रणवीर कपुरको अभिनय उत्कृष्ट छ । चलचित्र प्रवर्धनअघि नै यसको ट्रेलर सार्वजनिक भएलगत्तै उनको अभिनयको सर्वत्र प्रशंसा भइरहेको थियो । चलचित्रको एउटा डायलगले धेरै नै चर्चा पनि बटुलेको थियो । ‘म सुन्दै छु, म बहिरा छैन’ भन्ने अनुहारमा भाव लिएर संवाद बोल्दा उनको अनुहार गजबको देखिन्छ । यसपछि उनको डरलाग्दो गुन्डा र पारिवारिक सम्बन्धको ख्याल गर्ने छोराको रूप उनलाई सुहाएको छ । अनिल कपुरलाई रणवीर कपुरका बुवाको भूमिकामा निकै सुहाएको छ । कपुर एक एक अनुभवी अभिनेता हुन् । जसले आफूलाई जुनसुकै भूमिका दिए पनि पूर्ण समर्पणका साथ गर्छन् ।

चलचित्रमा सुरेश ओबेरोय पनि लामो समयपछि देखिएका छन् । उनी रणवीरको हजुरबुवाको भूमिकामा देखिएका छन् । रश्मिका मन्डन्नाले आफ्नो चरित्रमा पूर्ण न्याय गरेकी छिन् । बबी देओल एक्सन र अभिनय दुवैमा जजेका छन् । चलचित्रमा उनले खासै संवाद नबोले पनि अनुहारको हावभावमा भने अचम्मको अभिनय देखिन्छ । त्यस्तै शक्ति कपुर र प्रेम चोपडा पनि चलचित्रमा छन्, अभिनयले पक्कै नै राम्रो छाप छाड्छ ।सुरेश बन्डारु, सौरभ गुप्ता र परनाई रेड्डी वाङ्गाले लेखेको चलचित्रलाई सन्दीपले निर्देशन गरेका हुन् । जसले यसअघि ‘कबिर सिंह’ जस्ता सुपरहिट बनाएका थिए । चलचित्रको स्व्रिmप्टलाई पर्दामा कसरी भव्य ढङ्गले प्रस्तुत गर्न सकिन्छ भन्ने कुरा निर्देशकले राम्ररी बुझेका छन् । सन्दीप प्राविधिक रूपमा पनि धेरै धनी छन् र चलचित्रका जटिलताबारे उनीसँग राम्रो ज्ञान भएको देखिन्छ । उनीसँग कलाकारबाट शतप्रतिशत काम कसरी लिने सकिन्छ भन्ने कुराको राम्रो ज्ञान छ । उनले आफ्ना यी सबै गुणलाई चलचित्रमार्फत प्रमाणित गरेका छन् । चलेका र दिग्गज कलाकारसँग काम गर्नु आफैँमा चुनौती हो तर उनले यो चुनौतीलाई स्विकारेका मात्रै छैनन्, त्यसलाई राम्ररी पूरा पनि गरेका छन् ।