• १३ वैशाख २०८३, आइतबार

विस्तार हुँदै जीवन बिमा व्यवसाय

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, वैशाख १३ गते । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो नौ महिनामा जीवन बिमा कम्पनीले एक खर्ब ४० अर्बभन्दा बढी बिमाशुल्क सङ्कलन गरेका छन् । कम्पनीको कुल व्यवसाय ११.३१ प्रतिशतले बढेको छ भने नयाँ व्यापार ३० प्रतिशतभन्दा धेरै बढेको छ ।

नेपाल बिमा प्राधिकरणले सार्वजनिक गरेको तथ्याङ्क अनुसार सञ्चालनमा रहेका १४ जीवन बिमा कम्पनीले चैत मसान्तसम्म एक खर्ब ४० अर्ब ४५ करोड ७० लाख रुपियाँ कुल बिमाशुल्क सङ्कलन गरेका छन् । सो अवधिमा एक करोड १५ लाखभन्दा बढी बिमा पोलिसी बिक्री भएको छ । 

सबैभन्दा बढी व्यवसाय गर्नेमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी रहेको छ । नेपाल लाइफले ३६ अर्ब ८६ करोड १९ लाख रुपियाँ बिमाशुल्क सङ्कलन गरेको छ । दोस्रो स्थानमा नेसनल लाइफ इन्स्योरेन्सले १७ अर्ब सात करोड ९४ लाख रुपियाँ सङ्कलन गरेको छ भने तेस्रोमा लाइफ इन्स्योरेन्स कर्पोरेसन (एलआइसी नेपाल) ले १५ अर्ब १७ करोड आठ लाख रुपियाँ सङ्कलन गरेको छ ।

त्यसै गरी हिमालयन लाइफ इन्स्योरेन्सले १३ अर्ब २६ करोड ६१ लाख, राष्ट्रिय जीवन बिमा कम्पनीले नौ अर्ब ११ करोड ८३ लाख, सूर्यज्योति लाइफले आठ अर्ब ५५ करोड १५ लाख र एसियन लाइफ इन्स्योरेन्सले सात अर्ब २४ करोड ७० लाख रुपियाँ बिमाशुल्क सङ्कलन गरेका छन् । 

यस्तै मध्यम तथा साना कम्पनीमध्ये सिटिजन लाइफले छ अर्ब छ करोड ७१ लाख, सानिमा रिलायन्स लाइफले पाँच अर्ब ४२ करोड ४४ लाख, आइएमई लाइफले चार अर्ब ९५ करोड १३ लाख, मेट लाइफले चार अर्ब ९० करोड ५४ लाख रुपियाँ बिमाशुल्क आर्जन गरेका छन् । त्यस्तै रिलायबल नेपाल लाइफले चार अर्ब ४४ करोड ९० लाख, प्रभु महालक्ष्मी लाइफले चार अर्ब १९ करोड २२ लाख र सन नेपाल लाइफले तीन अर्ब १७ करोड १९ लाख रुपियाँ बिमाशुल्क आर्जन गरेका छन् ।

चैतमा मात्रै जीवन बिमा कम्पनीले तीन लाख ५५ हजारभन्दा बढी बिमालेख जारी गर्दै १५ अर्ब ७३ करोड रुपियाँ बिमाशुल्क सङ्कलन गरेका छन् । यस्तै नयाँ व्यापार (प्रथम बिमाशुल्क) तर्फ कम्पनीले ३१ अर्ब ८७ करोड रुपियाँ सङ्कलन गरेका छन्, जुन अघिल्लो वर्षको तुलनामा ३०.६१ प्रतिशतले बढी हो । 

नयाँ व्यापारमा पनि नेपाल लाइफ अग्रस्थानमा रहेको छ भने वृद्धिदरका आधारमा आइएमई लाइफ सबैभन्दा अगाडि छ । यस्तै नवीकरण बिमाशुल्कतर्फ करिब नौ प्रतिशत वृद्धि देखिएको छ । आइएमई लाइफ, रिलायबल नेपाल लाइफ र सन नेपाल लाइफ नवीकरण व्यवसाय वृद्धिमा अगाडि देखिएका छन् ।