अमरराज नहर्की
तनहुँ, वैशाख १३ गते । तनहुँको ऋषिङ गाउँपालिकामा दुई नयाँ पुल सञ्चालनमा आएपछि स्थानीयको जोखिमपूर्ण यात्राको अन्त्य भएको छ । ऋषिङ–५ र ७ जोड्ने फलामे पुल तथा ऋषिङ–४ र ७ जोड्ने झोलुङ्गे पुल निर्माण सम्पन्न भएपछि वर्षायाममा खोला वारपार गर्दा भोग्नुपर्ने सास्ती सदाका लागि हटेको हो ।
गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले यी संरचनाले स्थानीय विकासमा दीर्घकालीन योगदान पुर्याएको बताउनुभयो बताउनुभयो । अध्यक्ष श्रेष्ठले भन्नुभयो, “विगतमा वर्षायाममा खोला बढ्दा स्थानीयले ज्यानको जोखिम मोलेर हिँड्नुपर्ने वा लामो बाटो घुमेर जानुपर्ने बाध्यता थियो । अब पुल बनेपछि कृषि उत्पादन बजार पुर्याउन, विद्यार्थीलाई विद्यालय जान र स्वास्थ्य उपचारका लागि आवागमन गर्न निकै सहज भएको छ ।”
पुल निर्माण भएपछि गाउँ–गाउँबिचको दूरी घटेको छ भने कृषि उपज ओसारपसार र बजार पहुँचमा उल्लेख्य सुधार आएको उपभोक्ता समितिका अध्यक्ष केशरबहादुर थापाले जानकारी दिनुभयो । पुल सञ्चालनमा आएपछि ऋषिङका वडा नम्बर ४, ५ र ७ का बासिन्दा प्रत्यक्ष लाभान्वित भएको उहाँ बताउनुहुन्छ । गाउँपालिकाका अनुसार एनजिओ नेटवर्क तनहुँमार्फत ३२ लाख रुपियाँको लागतमा फलामे पुल र ३४ लाख रुपियाँको लागतमा झोलुङ्गे पुल निर्माण गरिएको हो । नव निर्मित दुवै पुलको गाउँपालिका अध्यक्ष श्रेष्ठले हालै उद्घाटन गर्नुभएको थियो ।