खलङ्गा समाचारदाता
खलङ्गा (दार्चुला), वैशाख १३ गते । बैतडीको पुर्चौडीमा रहेको इलाका प्रशासन कार्यालयमा नागरिकता वितरण प्रक्रिया ढिलो हुँदा सेवाग्राही दुई सातासम्म कुर्न बाध्य छन् । इलाका प्रशासन कार्यालयमा कार्यरत नागरिकता दिने अधिकारी शाखा अधिकृत शङ्करबहादुर बोहोराको गत मङ्सिर २२ गते जिल्लाकै सिगास गाउँपालिकामा सरुवा भएपछि उतिबेलादेखि नै नागरिकता सेवा बन्द भएको हो । उहाँको सरुवा भएपछि दुई महिना नागरिकता सेवा पूरै ठप्प भएको इलाका प्रशासन कार्यालय पुर्चौडीमा कार्यरत कम्प्युटर अपरेटर एवं सूचना अधिकारी बोमबहादुर खत्रीले जानकारी दिनुभयो ।
श्रीमतीको नागरिकता बनाउन इलाका प्रशासनमा गत चैत २७ गते आवश्यक कागजात बुझाएको र सो नागरिकता लिन दुई साता लागेको पुर्चौडी नगरपालिका‐३ का नवीन धामीले गुनासो गर्नुभयो । सेवाग्राही धामीले भन्नुभयो, “रोजगारीका लागि भारत जानुपर्ने बाध्यता एकातिर छ । नागरिकता बनाउन ढिलाइ हुँदा झन् बेरोजगारी बढ्यो ।” श्रीमती र बहिनीको नागरिकता बनाउन गएका पुर्चौडी‐३ कै अर्का सेवाग्राही सुरज धामीले पनि नागरिकता लिन दुई साता लागेको बताउनुभयो । उहाँले भन्नुभयो, “नागरिकता बनाउनकै लागि लगातार तीन/चार दिन इलाका प्रशासन धायौँ, फेरि पनि बनेन, ग्रामीण क्षेत्रका नागरिकका दुःख जुन सरकार आए पनि उस्तै छ ।” यहाँ नागरिकता दिने अधिकारी नहुँदा कागजात जिल्ला प्रशासन कार्यालय बैतडी पठाउनुपर्ने बाध्यताका कारण नागरिकता दिलाउन केही ढिलाइ भएको सूचना अधिकारी खत्रीले बताउनुभयो । इलाका प्रशासनमा खटिएका नागरिकता दिने अधिकारीको बेला बेला हुने सरुवाले यहाँका सेवाग्राही मर्कामा पर्ने गरेका छन् । जिल्ला प्रशासन कार्यालय बैतडीमार्फत पाँच महिनायता जम्मा भएका निवेदनका नागरिकता तयार भएर आएको सूचना अधिकारी खत्रीले बताउनुभयो । स्थानीय सरोकारवालाले समयमै नागरिकता दिने अधिकारी व्यवस्थापन गर्न नसक्नु राज्यको कमजोरी भएको बताएका छन् ।
यता जिल्ला प्रशासन कार्यालय बैतडीका प्रजिअ डा. डिजन भट्टराईले इलाका प्रशासनमा देखिएको समस्या समाधानका लागि गृह मन्त्रालयमा पत्राचार गरेको तथा नागरिकता दिने अधिकारी नायब सुब्बालाई खटाइएको जानकारी दिनुभयो ।
जिल्ला प्रशासन कार्यालयमै कार्यरत नायब सुब्बा उत्तम विष्टलाई आगामी सोमबार हाजिर हुने गरेर रमाना दिएर पठाइसकिएको प्रजिअ भट्टराईले बताउनुभयो । उहाँले भन्नुभयो, “नागरिकलाई सेवा प्रदान गर्न कर्मचारी पठाएका छौँ, अब सहज हुन्छ ।’’ २०७३ सालमा स्थापना भएको इलाका प्रशासन कार्यालय पुर्चौडीमार्फत पुर्चौडी नगरपालिकाका १० वटै वडा र डिलासैनी गाउँपालिका–४ का नागरिकलाई सेवा प्रदान गरिँदै आएको बताइएको छ ।