• १३ वैशाख २०८३, आइतबार

पाइलैपिच्छे विद्यालय र क्याम्पस विद्यार्थी भने जिल्लाबाहिर

blog

विद्यार्थी खोज्न गाउँका विद्यालयमा जगन्नाथ बहुमुखी क्याम्पसका प्राध्यापक  । तस्बिर : गोकर्ण दयाल

बैतडी समाचारदाता 

बैतडी, वैशाख १३ गते । जिल्लामा पाइलैपिच्छे गरी करिब ५५० वटा शैक्षिक संस्था भए पनि गुणस्तरीय शिक्षा र प्राविधिक विषयको अभावका कारण विद्यार्थी अध्ययनका लागि जिल्लाबाहिर गएका छन् । बैतडीमा ५३४ सरकारी विद्यालयमध्ये कक्षा १२ सम्म पढाइ हुने ६७ मावि छन् । स्नातक तहका क्याम्पस १२ वटा र स्नातकोत्तर तहसम्म पढाइ हुने दुई वटा क्याम्पस भए पनि अध्ययन गर्ने विद्यार्थी छैन । उनीहरू काठमाडौँ, धनगढी र महेन्द्रनगर जस्ता सहरमा जान थालेपछि शिक्षा क्षेत्रका हुने लगानी खेर जान थालेको छ । विद्यार्थी नहुँदा दशरथ चन्द नगरपालिका–४, जर्गौस्थित शिवस्थली माविबाट यो वर्ष दुई जना विद्यार्थी मात्रै एसइई परीक्षामा सहभागी भएका छन् । 

शिक्षा विकास तथा समन्वय एकाइ बैतडीको तथ्याङ्क अनुसार शैक्षिक सत्र २०८१ को तुलनामा २०८२ मा सात हजार ८५४ विद्यार्थी घटेका छन् । अघिल्लो वर्ष २०८१ मा जिल्लामा करिब ७० हजार विद्यार्थी अध्ययनरत रहेकोमा २०८२ मा आइपुग्दा यो सङ्ख्या घटेर ६२ हजारमा झरेको छ । 

तथ्याङ्क अनुसार उच्च माध्यमिक तहमा ठुलो सङ्ख्यामा विद्यार्थी घटेका छन् । २०८१ को तुलनामा २०८२ मा चार हजार २२१ विद्यार्थी घटेको पाइएको छ । २०८३ को शैक्षिक सत्रको भर्ना सुरु भएको छैन । यद्यपि बर्सेनि विद्यार्थीको सङ्ख्या घट्ने क्रममा रहेको शिक्षा विकास तथा समन्वय एकाइका परीक्षा फाँटका सूचना अधिकारी रामचन्द्र भट्टले बताउनुभयो । उहाँले भन्नुभयो, “शैक्षिक सत्र २०८१ मा बैतडीका माध्यमिक विद्यालयमा ९ कक्षादेखि १२ सम्म १५ हजार ४१४ जना विद्यार्थी अध्ययनरत रहेकोमा २०८२ मा आइपुग्दा ११ हजार १९३ जना विद्यार्थी अध्ययनरत छन् । एक वर्षकै अवधिमा माध्यमिक तहमा मात्रै चार हजार २२१ विद्यार्थी घटेका छन् ।” 

जिल्ला सदरमुकामस्थित दशरथ चन्द नगरपलिका–४ को गोठालापानी र शाहीलेक क्षेत्रको एक किलोमिटरमा दुई वटा क्याम्पस सञ्चालनमा भए पनि यहाँ विद्यार्थी सङ्ख्या छैन । बैतडी सदरमुकाममा रहेको जिल्लाकै पुरानो जगन्नाथ बहुमुखी क्याम्पस, गोठलापानीमा दुई सय विद्यार्थी भर्ना भए पनि नियमित अध्ययन गर्ने एक सय जना विद्यार्थी रहेको क्याम्पस प्रमुख डा. सुरेन्द्र वमले बताउनुभयो ।  

उहाँले भन्नुभयो, “कक्षा १२ सम्मको पढाइ हुने विद्यालयमै विद्यार्थी नभएपछि क्याम्पसमा विद्यार्थी घट्दै गएका छन् । क्याम्पस पढ्ने विद्यार्थी खोज्न हामीले २०८२ को पुस र माघ महिनामा घरदैलो अभियान सञ्चालन गर्दा पनि विद्यार्थी भेटिएन ।”  

जिल्लाको गोकुलेश्वर क्षेत्रमा सेटीगाउँ बहुमुखी क्याम्पस, कृषि क्याम्पस, सिगस क्षेत्रमा सिगास शिक्षा क्याम्पस, हाटमा पुर्चौडी बहुमुखी क्याम्पस छन्, तर विद्यार्थी छैन । २०४२ सालमै स्थापना भएको जिल्लामै पुरानो पाटन बहुमुखी क्याम्पसमा १३९ जना विद्यार्थी छन् । यहाँ स्नातक तहका विभिन्न सङ्काय शिक्षामा ८६ जना, मानविकीमा २० र व्यवस्थापनमा ३३ जना मात्रै विद्यार्थी छन् । 

त्यसै गरी श्रीकोट बहुमुखी क्याम्पस, दोगडाकेदार, मणिलेक बहुमुखी क्याम्पस मेलौली, नवप्रभात बहुमुखी क्याम्पस पञ्चेश्वरमा पनि क्याम्पस सञ्चालनमा रहेका छन् । जिल्लाका आधारभूत र मावि तहमै शिक्षाको गुणस्तर र विद्यार्थी दुवै घटेपछि क्याम्पसमा विद्यार्थी सङ्ख्या नपुगेको जगन्नाथ बहुमुखी क्याम्पसका प्राध्यापक बमले बताउनुभयो । उहाँले बैतडीका शैक्षिक संस्थामा राज्यले वार्षिक छदेखि सात अर्ब रुपियाँ खर्च गरे पनि लगानी अनुसारको प्रतिफल नआएको जिकिर गर्नुभयो । शिक्षा क्षेत्रमा गुणस्तर वृद्धि र प्राविधिक शिक्षाका बारेमा शैक्षिक बहस जरुरी भएको शिक्षा विकास तथा समन्वय एकाइ बैतडीका प्रमुख नरेन्द्रप्रसाद अवस्थीले बताउनुभयो ।