हेटौँडा समाचारदाता
हेटौँडा, वैशाख १३ गते । बागमती प्रदेशमा आर्थिक अपराधका घटना दिनहुँ बढ्दै गएका छन् । प्रदेशका काठमाडौँ, ललितपुर र भक्तपुरबाहेकका १० जिल्लामा पाँच आर्थिक वर्षको तथ्याङ्कले आर्थिक अपराधका घटना बढेको देखाएको हो ।
आर्थिक वर्ष २०७८/७९ मा ५६३ सङ्गठित तथा आर्थिक अपराध सम्बन्धित घटना घटेकोमा चालु आव २०८२/८३ को चैत मसान्तसम्म आइपुग्दा एक हजार ३५१ आर्थिक अपराधको घटना भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख छ ।
प्रहरीको तथ्याङ्क अनुसार आव २०७८/७९ मा ५६३, आव २०७९/८० मा ९०४, आव २०८०/८१ मा एक हजार ३३४, आव २०८१/८२ मा बढेर एक हजार ४७५ आर्थिक अपराधको घटना भएका थिए । पछिल्लो पाँच आवको तथ्याङ्क अनुसार चालु आवको साउनदेखि चैतसम्म आपराधिक घटना बढेको तथ्याङ्क छ ।
चालु आर्थिक वर्ष २०८२/८३ को १०महिनाको अवधिमा एक हजार ३५१ बैङ्किङ कसुर र वित्तीय अपराधका घटना भएको छ । बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले सार्वजनिक गरेको तथ्याङ्क अनुसार चालु आवको चैतसम्म ज्यानसम्बन्धी ६३१, आत्महत्यासम्बन्धी ६१९, चोरीका २०४, सामाजिक अपराधका ८५१, सवारीसम्बन्धी २५६ र अन्य २३७ अपराधसँग सम्बन्धित घटना भएका छन् ।
त्यसै गरी आव २०७८/७९ को अनुपातमा २०७९/८० मा ६.२२ प्रतिशत, आव २०७९/८० को अनुपातमा २०८०/८१ मा ५.१८ प्रतिशतले मुद्दा दर्ता वृद्धि भएका प्रहरीले जनाएको छ । त्यसै गरी आव २०८०/८१ को अनुपातमा २०८१/८२ मा २.६३ प्रतिशतले मुद्दा दर्ता भएको देखिएको छ । आव २०७८/७९ मा चार हजार ४०५ मुद्दा दर्ता भएकामा आव २०७९/८० मा बढेर चार हजार ६७९ पुगेको थियो भने आव २०८०/८१ मा पाँच हजार १९७ मुद्दा दर्ता भएकामा आव २०८१/८२ मा पाँच हजार ३३३ मुद्दा दर्ता भएको थियो । प्रहरीको तथ्याङ्क अनुसार चालु आवको चैत मसान्तसम्म चार हजार १४९ मुद्दा दर्ता भएका छन् । अघिल्ला आवको तुलनामा यस आवको १० महिनामा दर्ता भएको मुद्दा तुलनात्मक हिसाबले धेरै रहेको छ ।
त्यसै गरी चालु आवको चैत मसान्तसम्म ४३८ लागुऔषध, ३२ कर्तव्य ज्यान, १४८ जबरजस्ती करणी, पाँच वटा मानव बेचबिखन तथा ओसारपसार, अपहरण तथा शरीर बन्धक तथा डाँकाका एक एक र अन्य १८ अपराधका घटना भएको प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ । महिला तथा बालबालिकाविरुद्धको अपराध पनि बढ्दै गएका छन् । चालु आवको चैत मसान्तसम्म १४८ वटा जबरजस्ती करणी, २६ बहुविवाह, २४ जबरजस्ती करणी उद्योग, पाँच वटा मानव बेचबिखन तथा ओसारपसार र बाल विवाहसँग सम्बन्धित एक वटा अपराधका घटना भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख छ ।