• १३ वैशाख २०८३, आइतबार

उपभोक्तामा महँगीको मार

blog

महँगी नेपाली जनजीवनको सबैभन्दा गम्भीर समस्यामध्ये एक बनेको छ । दैनिक उपभोग्य वस्तु खाना पकाउने ग्यास, इन्धन, खाद्यान्न सामग्रीको मूल्य निरन्तर बढ्दै जाँदा सर्वसाधारणको जीवनयापन झन् कठिन बन्दै गइरहेको छ । सीमित आम्दानी र बढ्दो खर्चबिच सन्तुलन कायम गर्न नसक्दा धेरै परिवार आर्थिक दबाबमा परिरहेका छन् । महँगी केवल आर्थिक समस्या मात्र नभई सामाजिक र मानसिक तनावको कारण पनि बनेको छ । पश्चिम एसिया (मध्यपूर्व) मा उत्पन्न भूराजनीतिक तनावका कारण अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य आकासिएको छ, जसको प्रत्यक्ष असर नेपालको अर्थतन्त्रमा पनि परिरहेको छ । दैनिक उपभोग्य वस्तु खाद्यान्न, तरकारी, खानेपानी, फलफूलदेखि यातायात भाडासम्ममा उच्च मूल्यवृद्धि भएको छ । 

विश्व आज आपसमा गहिरो रूपमा जोडिएको छ । कुनै पनि क्षेत्रको राजनीतिक वा आर्थिक सङ्कटले अन्य देशमा प्रत्यक्ष/परोक्ष प्रभाव पारिरहेको छ । पश्चिम एसिया विश्वको महत्वपूर्ण क्षेत्र हो, जहाँ तेल र ग्यास जस्ता ऊर्जाका स्रोत प्रशस्त पाइन्छन् । यही कारणले यहाँ उत्पन्न हुने द्वन्द्वको तनावले विश्व अर्थतन्त्रमा ठुलो असर पारिरहेको छ । यसको प्रभाव नेपाल जस्तो आयातमुखी देशमा झन् बढी देखिएको छ । जसको मुख्य रूप महँगीका रूपमा प्रकट भएको छ । नेपाल जस्तो विकासोन्मुख देशमा महँगीको प्रभाव अझ गहिरो रूपमा देखिएको छ । जहाँ अधिकांश जनसङ्ख्या कृषिमा निर्भर छ भने आयस्रोत सीमित छ । बजारमा बिचौलियाको प्रभाव, आयातमा निर्भरता र आर्थिक अस्थिरताले मूल्यवृद्धिलाई थप बढावा दिएको छ । यसको प्रत्यक्ष असर शिक्षादेखि स्वास्थ्यसम्म सबै क्षेत्रमा परेको छ । 

महँगीको सबैभन्दा ठुलो असर निम्न र मध्यमवर्गीय परिवारमा देखा परेको छ । दैनिक ज्यालादारी गरेर जीवन निर्वाह गर्ने व्यक्तिका लागि त झन् दैनिक खर्च धान्न नै मुस्किल पर्न थालेको छ । दैनिक अत्यावश्यक उपभोग्य वस्तुको मूल्यवृद्धि हुँदा घरखर्च व्यवस्थापन चुनौतीपूर्ण बनेको छ । महँगीको सबैभन्दा ठुलो असर निम्न तथा मध्यम वर्गीय परिवारमा पर्नु केवल आर्थिक समस्या मात्र होइन, यो सामाजिक असमानताको स्पष्ट सङ्केत पनि हो । निम्न तथा मध्यम वर्गका मानिस प्रायः दैनिक आम्दानीमा निर्भर हुन्छन् । जीवन धान्नकै लागि सङ्घर्ष गर्नुपर्दा उनीहरूको भविष्यप्रतिको आशा र अवसर दुवै कमजोर बन्दै गइरहेको छ । महँगीले यी दुवै वर्गलाई केवल आर्थिक रूपमा मात्र होइन, मानसिक र सामाजिक रूपमा पनि असर पारिरहेको छ । घरखर्च धान्न नसक्ने चिन्ताले तनाव, निराशा र पारिवारिक विवादसमेत उत्पन्न भइरहेको छ । यसले समाजमा धनी र गरिबबिचको दुरी झन् फराकिलो बनाइदिएको छ । धनी वर्गले महँगीको असर सजिलै झेल्न सक्छन् तर निम्न र मध्यम वर्गका लागि दैनिक जीवनकै सङ्कट बन्न थालेको छ । निरन्तर आर्थिक दबाब, ऋणको बोझ र भविष्यप्रतिको अनिश्चितताले मानिसमा तनाव, चिन्ता र निराशा बढाइदिएको छ । 

नेपालमा बढ्दो महँगीको चर्चा गर्दा प्रायः बाह्य कारण जस्तै– अन्तर्राष्ट्रिय बजारको मूल्यवृद्धिलाई प्रमुख मानिन्छ । यसको जडमा पुगेर हेर्दा आन्तरिक उत्पादनको कमी एउटा मूलभूत र गम्भीर कारणका रूपमा देखा परेको छ । जब देशभित्र आवश्यक वस्तु पर्याप्त मात्रामा उत्पादन हुन सक्दैन तब आयातमा निर्भरता बढ्छ र त्यसले मूल्यवृद्धिको चक्रलाई तीव्र बनाउँछ । 

नेपाल कृषिप्रधान देश भनेर चिनिए पनि वास्तविकता भने त्यति सुदृढ छैन । परम्परागत खेती प्रणाली, आधुनिक प्रविधिको अभाव, सिँचाइ सुविधाको कमी र कृषिमा लगानी नहुनुले उत्पादन क्षमता घटाएको छ । युवापुस्ता वैदेशिक रोजगारीतर्फ आकर्षित हुनु पनि उत्पादन घट्नुको प्रमुख कारण रहेको छ । गाउँघरमा काम गर्ने जनशक्ति अभाव हुँदा खेतीयोग्य जमिन बाँझो रहन थालेको छ । यसले खाद्यान्न उत्पादनमा कमी ल्याएको छ र बजारमा आपूर्ति घट्दा मूल्य बढ्ने अवस्था सिर्जना भएको छ । नेपालको औद्योगिक क्षेत्रको अवस्था पनि त्यति सन्तोषजनक छैन । उद्योगधन्दा पर्याप्त रूपमा विकास हुन नसक्नु, ऊर्जा आपूर्ति, पूर्वाधारको कमजोरी र नीतिगत अस्थिरताले उत्पादन क्षेत्रलाई कमजोर बनाएको छ । जब देशभित्रै वस्तु उत्पादन हुँदैन तब विदेशी वस्तुमा निर्भरता बढ्छ । आयातित वस्तुमा ढुवानी खर्च कर र विनिमय दरको प्रभाव जोडिँदा ती वस्तु महँगो पर्न जान्छन्, जसको भार अन्ततः उपभोक्तामाथि पर्छ । 

नेपालमा बढ्दो महँगीको अर्को प्रमुख तर प्रायः ओझेलमा पर्ने कारण हो, बजार अनुगमनको कमजोरी । जब बजार प्रभावकारी रूपमा नियमन गर्न सकिँदैन तब मूल्य निर्धारणको अधिकार व्यापारीको हातमा पुग्छ र उपभोक्ता शोषणको जोखिम बढ्छ । व्यापारीले कृत्रिम अभाव सिर्जना गर्ने, भण्डारण गरेर वस्तु लुकाउने, कालोबजारी गर्ने वा मनपरी मूल्य निर्धारण गर्ने प्रवृत्ति कमजोर अनुगमनकै परिणाम हो । बजार अनुगमन प्रभावकारी नहँदा उपभोक्ताको अधिकार पनि कमजोर हुन्छ । गुणस्तरहीन वस्तु महँगो मूल्यमा बेचिनु, म्याद नाघेका सामग्री बजारमा पाइने जस्ता समस्या देखिन्छन् । यसले महँगीलाई मात्र होइन, जनस्वास्थ्यलाई समेत जोखिममा पार्छ । 

नेपालको बढ्दो महँगीको जरो केवल उत्पादन वा आयातमै सीमित छैन । यसको गहिरो सम्बन्ध भ्रष्टाचार र बिचौलिया प्रणालीसँग पनि जोडिएको छ । भ्रष्टाचारले बजार व्यवस्थालाई कमजोर बनाउँछ । आपूर्ति प्रणालीमा अनियमितता ठेक्का प्रक्रियामा मिलेमतो र सरकारी निकायमा हुने ढिलासुस्ती वस्तुको वास्तविक लागतभन्दा धेरै मूल्य उपभोक्ताले तिर्नु पर्छ । यसरी अनावश्यक खर्च अन्ततः सामानको मूल्यमा थपिन्छ र महँगी बढ्न जान्छ । फलस्वरूप सस्तोमा उत्पादन भएको वस्तु उपभोक्तासम्म आइपुग्दा महँगो हुन्छ । किसानले उचित मूल्य नपाउने तर उपभोक्ताले महँगो शुल्क तिर्नुपर्ने अवस्था यही प्रणालीको परिणाम हो । 

नेपालमा बढ्दो महँगीको अर्को महत्वपूर्ण कारण हो प्राकृतिक विपत्ति । बाढीपहिरो, सुक्खा जस्ता प्रकोपले उत्पादन र आपूर्तिमा असर पु¥याउँछ । जब खेतबारी नष्ट हुन्छ, ढुवानी अवरुद्ध हुन्छ वा वस्तु बजारमा पाइँदैन तब आपूर्ति घट्छ र मूल्य बढ्न थाल्छ । प्राकृतिक विपत्तिले केवल मूल्य बढाउने मात्र होइन, दैनिक जीवनमा सङ्कट र असुरक्षा पनि निम्त्याउँछ । किसान र व्यवसायीले उत्पादन बेहोर्नु पर्छ भने उपभोक्ताले महँगो मूल्य तिर्न बाध्य हुन्छन् । यसले अर्थतन्त्रमा अस्थिरता ल्याउँछ र दीर्घकालीन रूपमा महँगीको चक्रलाई तीव्र बनाउँछ । 

नेपालमा महँगी नियन्त्रणको दीर्घकालीन र प्रभावकारी उपाय भनेको आन्तरिक उत्पादन बढाउनु हो । जब देशभित्र खाद्यान्न, उद्योग वस्तु र दैनिक आवश्यक सामग्री पर्याप्त मात्रामा उत्पादन हुन्छ तब आयातमा निर्भरता घट्छ र मूल्यवृद्धि स्वतः कम हुन्छ । आन्तरिक उत्पादन वृद्धि गर्दा किसान, व्यवसायी र उद्योगधन्दाले उचित मूल्य पाउँछन् । उपभोक्ताले सस्तोमा आवश्यक वस्तु पाउँछन् । आधुनिक कृषि, प्रविधि, पर्याप्त सिँचाइ, ऊर्जा र पूर्वाधार विकास तथा दक्ष जनशक्ति उपयोगले उत्पादन क्षमतामा सुधार ल्याउँछ । उत्पादन वृद्धि केवल आर्थिक स्थिरता मात्रै होइन, महँगी नियन्त्रण र दीर्घकालीन विकासको आधार पनि तयार गर्छ । आन्तरिक उत्पादनको मजबुत संरचना बनाउनु नै नेपालमा महँगी न्यूनीकरण र आत्मनिर्भर अर्थतन्त्रको मूल आधार हो । 

महँगी नियन्त्रणका लागि कडा र पारदर्शी बजार अनुगमन अपरिहार्य छ । नियमित निरीक्षण, कडा कारबाही र उपभोक्ता सचेतनाले मात्र बजार व्यवस्थित बनाउन सकिन्छ । अन्यथा कमजोर अनुगमनले महँगीलाई झन् संस्थागत बनाउने खतरा रहिरहन्छ । भ्रष्टाचार नियन्त्रण र बिचौलियाको अन्त्यले बजारलाई पारदर्शी बनाउँछ । यसले उत्पादनदेखि उपभोक्तासम्म सामानको मूल्य सन्तुलित रहन सहयोग पु¥याउँछ । उत्पादनकर्तालाई उचित मूल्य, उपभोक्तालाई उचित पहुँच र समग्र अर्थतन्त्रलाई स्थिरता दिन यस प्रणालीको सुधार अपरिहार्य छ । महँगी नियन्त्रणका लागि पारदर्शी नीति, कडा अनुशासन र बिचौलियाको न्यूनीकरण गर्न आवश्यक छ । नेपालमा महँगी बढ्नुमा प्राकृतिक विपत्तिको पनि ठुलो भूमिका छ । प्राकृतिक विपत्तिको सक्दो रोकथाम गर्न आवश्यक छ । पूर्वसावधानी, ढुवानीमार्ग सुरक्षित गर्नु र आपूर्ति शृङ्खला मजबुत बनाउनु महँगी नियन्त्रणका लागि अत्यावश्यक उपाय हुन् । जब वित्तीय व्यवस्थापन प्रभावकारी हुन्छ तब दैनिक आवश्यक वस्तु उपभोक्तासम्म सहज र उचित मूल्यमा पुग्छ । 

महँगी नियन्त्रणमा सरकारको नीतिगत हस्तक्षेप पनि हुन जरुरी छ । आवश्यक वस्तुमा भन्सार कम गर्ने, मूल्य स्थिरता र न्यूनतम मूल्य सुनिश्चित गर्ने नीति लागु गर्नु पर्छ । आयातनिर्यात सन्तुलन, भण्डारण र मूल्य नियन्त्रणमा कानुनी व्यवस्था लागु गर्नु पर्छ । उपभोक्ताले पनि कुनै पनि वस्तुको अनावश्यक भण्डारण गर्नुहुँदैन । आवश्यक अनुसार मात्रै सामान किन्नु पर्छ । स्थानीय उत्पादनको प्रयोग बढाएर मूल्य नियन्त्रणमा सहयोग गर्नु पर्छ । महँगीले नेपाली जनजीवनलाई केवल आर्थिक रूपमा मात्र होइन, सामाजिक र मानसिक रूपमा समेत गहिरो प्रभाव पारेको छ । सीमित आम्दानीमा बढ्दो खर्चको बोझले निम्न र मध्यम वर्गको जीवन दिनप्रतिदिन कष्टकर बन्दै गइरहेको छ । यसले गरिबी, असमानता र असुरक्षालाई थप गहिरो बनाउँदै लगेको छ । महँगी नियन्त्रणको दीर्घकालीन उपाय खोज्नु पर्छ । आन्तरिक उत्पादन वृद्धि, पारदर्शी बजार व्यवस्था, भ्रष्टाचार नियन्त्रण र प्रभावकारी सरकारी नीति कार्यान्वयनमार्फत मात्र जनताको जीवन सहज बनाउन सकिन्छ । महँगीलाई सामान्य आर्थिक प्रक्रिया होइन, राष्ट्रिय चुनौतीका रूपमा बुझी सबै पक्षको सक्रिय सहकार्यबाट मात्र जनजीवनलाई यस मारबाट मुक्त गराउन सकिने छ ।