• १३ वैशाख २०८३, आइतबार

अत्यधिक गर्मीले जनजीवन प्रभावित

blog

अत्यधिक गर्मीका कारण सुनसान नेपालगन्जको मुख्य सडक । तस्विर : सिराज खान

नेपालगन्ज समाचारदाता

नेपालगन्ज, वैशाख १३ गते  । एक सातादेखि नेपालगन्ज र आसपासका क्षेत्रमा तातो हावा लु चल्नुका साथै तापक्रम निरन्तर बढ्दै गएपछि सर्वसाधारणको दैनिक गतिविधि प्रभावित हुन थालेको छ । अत्यधिक तातो हावा लु चलेर एक्कासि बढेको गर्मीका कारण बाँकेसहित पश्चिम नेपालको तराई क्षेत्रको जनजीवन प्रभावित भएको हो । बिहानैदेखि घाम अत्यधिक चर्किने, शरीर पोल्ने तातो हावा चल्ने गरेका कारण बजार तथा ग्रामीण क्षेत्र सुनसान जस्तै बन्न थालेका छन् भने सर्वसाधारणको हिँड्डुलसमेत घट्दै गएको छ ।

नेपालगन्ज उपमहानगरपालिका वडा नं ११ का वडाध्यक्ष नन्दकिशोर कश्यपले गत सातायता एक्कासि बढेको गर्मी र तातो हावा लु ले स्थानीयको जनजीवन प्रभावित भएको बताउनुभयो । उहाँले अहिले अत्यधिक गर्मीका कारण बिहान र साँझबाहेक बाहिर निस्कनै कठिन भएको जनाउँदै दिनको समयमा बजार पनि सुनसान देखिन थालेको बताउनुभयो । गर्मीका कारण दैनिक ज्यालादारी गरेर जीविकोपार्जन गर्ने विपन्न वर्ग सबैभन्दा बढी प्रभावित बनेका छन् । अटो रिक्सा चालकहरूले गर्मीका कारण काम गर्न असहज भएको बताएका छन् । 

स्थानीय अटो रिक्सा चालक मुन्ना हलवाईले अत्यधिक तापका कारण सडकमा सवारी सञ्चालन गर्ने जाँगरसमेत कम भएको जनाउँदै गर्मीले बेहोस हुने डर बनेको बताउनुभयो । उहाँका अनुसार अहिले बजारमा यात्रुसमेत निकै कम भेटिने गर्दा अटो रिक्सा चदाउन समस्या भएको बताउनुभयो । अन्य समयमा व्यस्त रहने बजारका चोकमा अटो रिक्साको उपस्थितिसमेत अहिले निकै पातलो देखिएको छ । मौसम पूर्वानुमान महाशाखाले विशेष बुलेटिन जारी गर्दै लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा आगामी तीन दिनसम्म मध्यमस्तरको तातो लहर चल्ने चेतावनी दिएको छ । केही स्थानमा तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि पुग्न सक्ने अनुमान गरिएको छ । बाँके, बर्दिया, कैलाली, कञ्चनपुर, कपिलवस्तु र रुपन्देहीलगायतका जिल्ला अझ बढी प्रभावित हुने देखिएको छ ।

यसैबिच चिकित्सकले अत्यधिक गर्मीबाट बच्न दिउँसोको समयमा बाहिर ननिस्कन, चिसो स्थानमा बस्न र अत्यावश्यक अवस्थामा मात्र बाहिर निस्कँदा टाउको छोप्ने, टोपी लगाउने तथा हल्का सुती कपडा प्रयोग गर्न सुझाव दिएका छन् । 

भेरी अस्पतालका सूचना अधिकारी वरिष्ठ चिकित्सक डा. सङ्केतकुमार रिसालले शरीरमा पानीको कमी हुन नदिन पटक–पटक पानी, जुस वा अन्य झोल पदार्थ सेवन गर्नु आवश्यक रहेको जनाउँदै असामान्य स्वास्थ्य समस्या देखिएमा तुरुन्त स्वास्थ्यकर्मीको सल्लाह लिनुपर्ने बताउनुभएको छ । 

छालारोग विशेषज्ञ डा. कुमार पोखरेलका अनुसार गर्मीका कारण छाला पोल्ने, सक्खा हुने, एलर्जी र घमौरा आउने समस्या बढ्ने गर्छ । त्यसैले प्रशस्त पानी पिउने, सुती कपडा लगाउने र अनावश्यक रूपमा बाहिर ननिस्कन उहाँले सुझाव दिनुभएको छ ।