काठमाडौँ, वैशाख १० गते । कुमार गजुरेलको डेब्यु निर्देशनमा निर्माण हुने चलचित्र ‘सारथि’ को शुभमुहूर्त गरिएको छ । काठमाडौँस्थित भद्रकाली मन्दिरमा शुभमुहूर्त गर्दै छायाङ्कनका लागि म्याग्दीको गुर्जाखानी प्रस्थान गरेको हो ।
करिब ४० दिनको छायाङ्कन सक्ने चलचित्रका निर्देशक गजुरेलले बताउनुभयो । सो चलचित्रबाट वरिष्ठ सम्पादक तारा थापा ‘किम्भे’ ले निर्मातामा हात हाल्नुभएको छ । किम्भे प्रोडक्सन तथा धीरज इन्फिनिटी फिल्म्सको सहकार्यमा निर्माण हुन लागेको चलचित्रबाट कलाकार उत्तम प्रधान र निरुता सिंहको जोडी करिब दुई दशकपछि पुनः एकसाथ देखिन लागेको छ ।
कार्यक्रममा चलचित्रकर्मी लक्ष्मीनाथ शर्मा, प्रकाश सायमी र मन्जुनाथ श्रेष्ठ विशेष अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो । अतिथिका रूपमा नेपाल छन्त्याल सङ्घका भूतपूर्व महासचिव तथा वर्तमान सल्लाहकार दीपबहादुर छन्त्याल पनि सहभागी हुनुहुन्थ्यो । चलचित्रमा उत्तम र निरुतासँगै मुकुन्द श्रेष्ठ, सम्रान्त थापा, गिरी विश्वकर्मा, गायत्री जोशी, मदन थापालगायतका कलाकारको अभिनय रहने छ ।