• १३ पुस २०८१, शनिबार

बुढो मान्छे

blog

मेरा एक जना साथीकी छोरीले एसइई पास गरिछन् । च्याटमा कुरा गर्दै थिएँ– ओहो दाहालजी, ल बधाई छ है, छोरीले पास गरिछन् ।

उनले धन्यवाद भने ।

एक क्षण रोकिएर मैले फेरि भनेँ– दाहालजी, तपाईंलाई अब कता कता बुढो भएछु जस्तो पनि लाग्यो होला है ? छोराछोरी एसएलसी पास गर्ने भइसके ।

उनले जवाफ दिए– ध्रुवजी, कहाँं आज हो र ! म त उहिले बुढो भएको थिएँ, मेरो १५ बर्से कलिलो उमेरमै ।

मैले बुझिनँ– कसरी हौ, के भन्न खोज्नुभएको ?

उनले बडो भावुक हुँदै भने– जब म भर्खर १५ वर्षको मात्र थिएँ, मेरा यी ओठमाथि जुँगाले रेखी हाल्दै थियो । जवानी के हो राम्रोसँग अनुभव गर्न पनि पाएको थिइनँ । जवान त के म किशोर नै थिएँ । मेरा बाले बिहे गर्दिए, मेरो इच्छा नहुँदानहुँदै पनि । मलाई इमोसनल ब्लाकमेल गरे– “हेर बाबु, तँ मेरो एक मात्र सन्तान, हामीले तँलाई बल्ल बल्ल बुढेसकालमा जन्माएका । थाहा छ तँलाई पाउन तेरी आमाले कति जडीबुटी खाएकी थिई, कति अस्पातल र वैद्यखाना धाएकी थिई । बल्लबल्ल म ६० पुग्दा जन्मेको छोरो होस् तँ । तैँले यो कुरा बुझ्नुपर्छ बाबु । मैले ७५ पार गरिसकेँ, ८० पुग्ने बेला हुन लाग्यो । म त अब २, ४ दिनको पाहुना मात्र हुँं । भगवानले कुन दिन बोलाउँछन् । मर्नुभन्दा पहिले नातिनातिनाको अनुहार हेर्न चाहन्छु, कमसे कम एउटै भए पनि ।”

म विवश भएँ, मैले आफ्नो खुसीको लागि हैन, मेरा बाआमाको खुसीका लागि बिहे गर्न राजी हुनै प-यो ।

एक वर्षपछि नै हो यो छोरी जन्मिएकी अनि त्यसको दुई वर्षपछि छोरो जन्मियो । गुलेली र मट्याङ्ग्रासँग खेल्ने, सुसेली हाल्दै हिँड्ने, मेरा साथीहरूसँग होहल्ला गर्दै हिँड्ने ती जवानीका दिन कहिले आएनन् । म त श्रीमती, बालबच्चा र आमाबाबुको जिम्मेवारी निभाउँदैमा बुढो भएँ, जवानी मै बूढो भएँ । 

निदरल्यान्ड्स