• २१ वैशाख २०८१, शुक्रबार

किन ८१ प्रतिशत नर्स अनुत्तीर्ण भए ?

blog

काठमाडौं, मङ्सिर १२ गते । स्टाफ नर्स (पीसीएल नर्सिङ) तर्फको नाम दर्ता (लाइसेन्स) परीक्षामा सहभागीमध्ये ८१ प्रतिशत अनुत्तीर्ण भएका छन् । नेपाल नर्सिङ परिषद्ले शनिबार दुईवटा परीक्षा केन्द्रबाट लिएको लाइसेन्स परीक्षामा पीसीएलतर्फ सहभागीमध्ये ८१ प्रतिशत अनुत्तीर्ण भएका हुन् ।

परीक्षा समितिका प्रवक्ता शकुन्तला प्रजापतिका अनुसार पीसीएल नर्सिङतर्फ कुल एक हजार २७० जना सहभागी भएकामध्ये २४६ जना अर्थात् १९.३४ प्रतिशत मात्रै उत्तीर्ण भएका छन् ।

बीएस्सी नर्सिङतर्फको लाइसेन्स परीक्षामा पनि आधाभन्दा बढी अनुत्तीर्ण भएका छन् । बीएस्सी नर्सिङमा कुल सहभागी ४१४ जनामध्ये २०३ जना अर्थात् ४९.०३ प्रतिशत विद्यार्थी पास भएका छन् । लाइसेन्स परीक्षाको नतिजाले धेरैले नर्सिङ पढाइको गुणस्तरमै शङ्का उठेको छ ।

विद्यार्थी अनुत्तीर्ण हुनुको कारण ?

धेरै पटक अनुत्तीर्ण भएका विद्यार्थीहरू सहभागी भएकाले यो पटक कमजोर नतिजा आएको प्रजापतिको भनाइ छ ।

पहिला परिषद्ले लिएको लाइसेन्स परीक्षामा ५० प्रतिशत विद्यार्थी उत्तीर्ण हुने गरेको भए पनि यो पटक पुराना विद्यार्थीको सङ्ख्या बढी भएकाले धेरै अनुत्तीर्ण भएको प्रजापतिले प्रष्ट पार्नुभयो ।

उहाँ भन्नुहुन्छ, “अघिल्लो परीक्षामा नयाँ विद्यार्थीहरू धेरै हुन्थे त्यसैले नतिजा पनि राम्रै हुन्थ्यो । तर यस पटक विगतमा धरै पटक अनुत्तीर्ण भएका विद्यार्थी सहभागी हुँदा अधिकांश विद्यार्थी फेल भएको देखियो ।’’

यसैगरी, नेपाल नर्सिङ सङ्घका अध्यक्ष मनकुमारी राईको भनाइ पनि त्यस्तै छ । अध्यक्ष राईले  धेरै जसो विद्यार्थी क्लिनिकल एक्सपोजर नभएको र मेहनत नपुगेकाले पनि धेरै विद्यार्थी फेल भएको बताउनुभयो ।

उहाँका अनुसार १२ वर्षदेखि अनुत्तीर्ण हुँदै आएका विद्यार्थी परीक्षामा सहभागी थिए ।

लाइसेन्स परीक्षामा अनुत्तीर्ण हुनुको मुख्य कारण आफ्नो अस्पताल नभएका नर्सिङ कलेजका विद्यार्थी, अस्पतालमा एक्सपोजर नभएका विद्यार्थीको सङ्ख्या धेरै रहेको उहाँको भनाइ छ ।

त्यसका अलावा सरकारले एक पटक विशेष कार्यक्रमअन्तर्गत प्रवेश परीक्षा नलिई नर्सिङ पठाउने निर्णय गरेको टिमबाट पनि धेरै विद्यार्थी रहेको राईले स्पष्ट पार्नुभयो । यसैगरी, परीक्षामा विद्यार्थीहरूले तीन वर्ष पढेको विषयबाटै प्रश्न सोधिएका कारण गाह्रो नहुने  उहाँको तर्क छ ।

उहाँले भन्नुभयो, “प्रश्न गाह्रो भएर फेल भएको हो भने विद्यार्थीले प्रश्न गर्न सक्नुपर्थ्यो ।” परिषद्ले वर्षमा तीन पटक नर्सिङ लाइसेन्स परीक्षा लिँदै आएको छ ।

Author
सिर्जना खत्री

उहाँ स्वास्थ्य विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।