• २१ असार २०८१, शुक्रबार

रामघाटमा मेला भर्नेकाे घुइँचो

blog

नारद कोहार 

तौलिहवा, मङ्सिर ११ गते । कपिलबस्तुको ऐतिहासिक र ठूलो रामघाट मेला भर्न भक्तजनको घुइँचो लागेको छ । कार्तिक शुक्ल पूर्णिमाका दिन सोमबार बाणगङ्गा नदीको रामघाटमा लाग्ने मेला भर्न आइतबार रातिदेखि नै हजारौँ भक्तजन पुग्ने गर्छन् । 

धार्मिक दृष्टिकोणले महत्वपूर्ण भएकाले टाढाबाट तीर्थालु एक दिनअघि नै आएर बस्ने गर्छन् । रामघाटमा भारतको शोहरतगढ, तुल्सीपुर, शोहरतगढ, अलीगढवा, नौगढ तथा छिमेकी जिल्ला दाङ, रुपन्देही, अर्घाखाँचीलगायतका स्थानका भक्तजन आएका थिए । भक्तजनहरु रातभर भजनकीर्तन, पूजापाठ, प्रवचन र भागवतको पाठ गरेका थिए । यो रामघाट मेला जिल्लाकै सबैभन्दा पुरानो मेला हो ।

त्रेतायगुमा भगवान राम वनवास जाने क्रममा प्यास लागेपछि पानीको अभाव पूर्ति गर्न वाण हानेर पानी निकाली स्नान गरेकाले यस क्षेत्रलाई रामघाट भन्न थालिएको धार्मिक किम्वदन्ती छ । रामले पानी खाएपछि यस स्थानको नाम रामघाट हुन गएको बुढापाकाहरु बताउँछन् । कतिपयले रामघाटमा स्नान गरी नदी छेउमा गौदान पनि गर्ने गर्दछन् । गौदान गरे मनोकांक्षा पूरा हुने जनविश्वास रहेकाले धेरै भक्तजन यहाँ गौदान गर्न पनि आउने गरेको कपिलबस्तु नगरपालिका ६ का रामशब्द मिश्राले बताउनुभयो । 

प्राचीन भागीरथी र अहिले बाणगंगा नदीमा लाग्ने मेला प्राचिन र धार्मिक महत्व बाकेको भक्तजनहरु बताउँछन् । कपिलवस्तु नगरपालिका– ६ थुम्हवाबाट रामघाट आएकी राजमति भुजले यस वर्ष पनि गौ, अन्न सहीत पैसा दान गरेकी थिइन् । ‘हामीले हरेक वर्ष रामघाटमा कार्तिक पूर्णिमामा दान गर्ने गर्छौं,’ उहाँले भन्नुभयो, "बाजे बज्यैको पाला देखिको परम्परालाई कामय राखेका छौं, जसले गर्दा हामीलाई पारिवरिक शान्ति र सुख मिलेको छ ।"

बाणगंगाको रामाघाट, लक्ष्मणघाट, बर्गदीघाट, कजराहवा र हर्दौनामा सोमबार लागेको मेलामा ठुलो सङ्ख्यामा श्रद्धालु पुगेका छन् । मेलालाई व्यवस्थित गर्न, कुनै पनि किसिमको घटना नहोस् भनेर ठूलो सङ्ख्यामा सुरक्षाकर्मी समेत खटिएका छन् । सो अवसरमा जिल्लाको कपिलवस्तु, महाराजगंज, कृष्णनगर नगरपालिका, मायादेवी, शुद्धोधन, यशोधरा र विजयनगर गाउँपालिकाले स्थानीय बिदा दिएको हो ।