• २ जेठ २०८३, शनिबार

अमेरिका र नेपालको खेल : खेलाडीलाई हौसला बढाउन कीर्तिपुरमा सभामुख अर्याल र मन्त्री पोखरेल

blog

नेपाल र अमेरिकाको खेल हेर्नुहुँदै प्रतिनिधि सभाका सभामुख डोलप्रसाद अर्याल र सरकारका प्रवक्ता सस्मित पोखरेल । तस्बिरः क्यान

काठमाडौँ, जेठ २ गते ।  आइसिसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शनिबार भएको रोमाञ्चक खेलको सभामुख डोलप्रसाद (डिपी) अर्याल र शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री एवम् सरकारका प्रवक्ता सस्मित पोखरेलले मैदानमै उपस्थित भई अवलोकन गर्नुभएको छ । 

उक्त खेलमा नेपालले अमेरिकालाई नौ विकेटले पराजित गरेको छ । अमेरिकाले दिएको १९६ रनको लक्ष्यलाई नेपालले मात्र एक विकेट गुमाएर ३६ ओभर ४ बलमा १९९ रन बनाउँदै पूरा गरेको हो । प्रतिनिधि सभाका सभामुख अर्याल केही समय उपस्थित भएर खेलाडीलाई हाैसला दिनुभयो भने युवा तथा खेलकुद मन्त्रीसमेत रहनुभएका सरकार प्रवक्ता पोखरेलले खेल अवधिभर मैदानमा बसेर खेलाडीको हौसला बढाउनुभएको हो । 

खेलमा नेपालको जितका लागि ओपनर कुशल भुर्तेलले अविजित शतकीय पारी खेल्नुभयो । उहाँले ११८ बलको सामना गर्दै चार छक्का र १३ चौकाको मद्दतले १२० रन बनाउनुभयो । त्यसैगरी अर्का ओपनर आशिफ शेखले ७२ बलमा ५८ रनको अर्धशतकीय योगदान दिनुभयो । तेस्रो क्रममा ब्याटिङ गर्न आउनुभएका इशान पाण्डेले ३० बलको सामना गरी २० रन थप्नुभएको थियो ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अमेरिकाले निर्धारित ओभरमा १९५ रन बनाएको थियो ।