• २१ असार २०८१, शुक्रबार

लैङ्गिक हिंसाविरुद्ध अभियानअन्तर्गत महिलाको व्रत

blog

आइतबार ब्रतमा दिनकरलाई अर्घ दिदै ब्रतालु महिला । तस्बिर : धीरेन्द्रप्रसाद साह

धीरेन्द्रप्रसाद साह

जनकपुरधाम, मङ्सिर १० गते । लैङ्गिक हिंसाविरुद्ध अभियान मुलुकभर चलिरहेको छ । यस अभियानमा महिला, पुरुष, युवती, विभिन्न सङ्घ संस्थाका अगुवाहरू बढी सक्रिय भएर लागेको देखिन्छ । तर, सन्तान प्राप्त गरेका महिलाको व्यस्तता अर्कोतिर रहेको देखियो । 

सन्तान प्राप्त महिला आइतबार पुनः दिनकर सूर्य भगवानको पूजामा व्यस्त भएको देखियो । यसअघि छठ पर्वको सप्तमीका दिन उदाउँदो सूर्यको (दिनकर) पूजा गरिएको थियो । दुवै पूजामा व्रतालुले दिनकरकै पूजागरी प्रसाद चढाउँछन् । तर, विधि प्रक्रिया भने फरक भए पनि उद्देश्य धेरै साझा रहेको छ । 

मधेश प्रदेशमा जिल्लामा महिला आइतबार आइतबारे व्रत अर्थात् दिनकरको पूजापाठ गरी शुभारम्भ कार्यमा व्यस्त भएको भेटिन्थ्यो । निष्ठा एवम् सन्तानको दीर्घायुको कामना गर्दै महिलाले आइतबार व्रत सुरु गरेका हुन् । आयु एवं सौभाग्य वृद्धि, सबै किसिमका कामनासिद्धिका लागि तथा नेत्र रोग, कुष्ठ रोग, एवम् चर्म रोग निवारणका निम्ति आइतबारको व्रत लिनेगरेको व्रतालु रमिलादेवी साहले बताउनुभयो । 

व्रत लिँदा मार्ग (मङ्सिर) महिनाको शुक्ल पक्षको पहिलो आइतबारबाट सुरु गरिने बताउँदै उहाँले कम्तीमा एक वर्षसम्म व्रत लिनुपर्ने बताउनुभयो । कुनै कारणले एक वर्ष पूरा गर्न नसकेको अवस्थामा १२ वटा आइतबार अवश्य व्रत लिएमा मनोकामना पूरा हुने उहाँले बताउनुभयो । 

केही महिलाले ६ महिनासम्म मात्र आइतबार व्रत लिई वैशाखमा समापन गरिन्छ । व्रतका दिन व्रतालु महिला रातो कपडा, गरगहनामा सजिएर प्रसादलाई पोखरी तथा जलाशयमा अर्घ दिएका छन् । यस दिन गहुँको रोटी मात्र सेवन गर्ने, भोजन गर्नुभन्दा पहिले स्नानगरी शुद्ध रातो कपडा लगाएर ॐ सूर्य नमः मन्त्रको जप थोरैमा पाँच माला सके व्रतको अवधिभरि गरिरहनु पर्ने बताइएको छ ।

यसपछि आइतबारको व्रतकथा पढ्ने वा सुन्ने अनि सूर्यलाई रातो अक्षता, रातो फूल र दुबोको जलले नमः सहस्रकिरण ! सर्वव्याधिविनासिने । गृहाणार्घयं मया दत्तं सन्ध्या सहितो रवे मन्त्र पढ्दै अर्घ दिनुपर्ने मान्यता रहेको रामकुमार शास्त्रीले बताउनुभयो । 

आइतबारे व्रतबारे मैथिली महिला परिषद्की पूर्वअध्यक्ष सुमित्रा दास भन्नुभयो, ‘यस व्रतमा केरा, ठेकुवा, सखर खिचडी तथा फलफुलसहितका सामग्री जलाशयमा लगेर पूजापाठ गरी दिनकर अर्थात् सूर्य भगवानलाई अर्घ दिने गरिन्छ । अर्घ दिएपछि परिवारका सदस्यले प्रसाद ग्रहण गरिन्छ भने व्रतालुले प्रसादसहित अरबा भोजन गरिन्छ ।

फलफूल तथा यी सामग्रीलाई कलात्मक डालीमा सजाएर महिलाले सन्तानको दीर्घायु र घामपानीबाट कुनै असर नगर्नु भनेर दिनकरलाई अर्घ दिनेगरेको दासको भनाइ छ । आइतबारे व्रतको तयारीमा यहाँ“का महिला शनिबार बिहानदेखि बजारमा किनमेलमा व्यस्त रहेका थिए । केरा, अग्रोतिवधि तथा फलफूल किन्नमा महिला व्यस्त रहेका थिए । आइतबार व्रत विवाहित महिलाले मात्र लिनेगरेका छन् ।

व्रत बसेका धेरै महिलाले जारी लैङ्गिक हिंसाविरुद्ध अभियानको अग्रपङ्तिमा रहनेगरेका छन् । आइतबार व्रतमा बसेको यी अगुवा महिला जारी लैङ्गिक हिंसाविरुद्ध अभियान अन्तर्गतको विभिन्न कार्यक्रममा सहभागी जनाएका थिए ।