• २१ असार २०८१, शुक्रबार

नयाँ वर्षमा पोखरामा सडक महोत्सव

blog

महोत्सवबारे पत्रकार सम्मेलनमा जानकारी गराइँदै । तस्बिर : फडिन्द्र अधिकारी

फडिन्द्र अधिकारी

लेखनाथ, मङ्सिर १० गते । पोखराको लेकसाइड क्षेत्रमा रेस्टुरेन्ट एन्ड बार एसोसिएसन (रेवान) पोखराले अङ्ग्रेजी नयाँ वर्षमा सडक महोत्सव गर्ने भएको छ । पोखराको पर्यटन प्रवर्धनमा पृथक् पहिचान बनाउन सफल यो महोत्सवको पच्चिसौँ संस्करण आगामी पुस १२ देखि १६ गतेसम्म हुनेभएको हो ।

रेवान पोखराले आइतबार पत्रकार सम्मेलन गरी यसपालिको महोत्सवलाई रजत महोत्सवका रूपमा मनाउने तय भएको जनाएको छ । आन्तरिक तथा बाह्य पर्यटकका लागि पोखरालाई अङ्ग्रेजी नयाँ वर्षको गन्तव्य स्थलका रूपमा चिनाउन महोत्सव गर्दैआएको रेवान पोखराका कार्यवाहक अध्यक्ष विश्वराज पौडेलले बताउनुभयो । 

यसअघिका सडक महोत्सवको अवधिका साढे चार लाखदेखि पाँच लाखसम्म पर्यटक पोखरा आउनेगरेकोमा यसपालि त्यसमा एक लाख थप गर्ने लक्ष्य लिइएको छ । पाँच दिने महोत्सव पोखराको लेकसाइड क्षेत्रको करिब ३ किमीमा हुनेछ । महोत्सव फिस्टेल गेटदेखि गैराको चौतारा हुँदै जरेबरसम्मको सडकमा हुनेछ । 

सडकमै खाऔँ, सडकमै रमाऔँ भन्ने उद्घोषसाथ हुने महोत्सवलाई पृथक् र थप आकर्षक बनाउने प्रयत्न गरिएको महोत्सवका संयोजकसमेत रहनुभएका रेवानका कार्यवाहक अध्यक्ष पौडेलको भनाइ छ । “सडकमै सांस्कृतिक कार्यक्रममा बढी जोड दिएका छौँ । समग्र पोखराको पर्यटन प्रवर्धनमा यसले सघाउने अपेक्षा छ” उहाँले भन्नुभयो । 

महोत्सवमा सांस्कृतिक कार्यक्रम, मौलिक भेषभूषा प्रदर्शनसँगै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खानाको प्रदर्शनी, दोहोरी गीत प्रतियोगिता, झाँकी प्रदर्शन, रात्रिकालीन कन्सर्ट, बोट रेस, वेटर रेस, टग अफ कारजस्ता कार्यक्रम हुनेछन् । सँगसँगै भलिबल प्रतियोगिता, सचेतनामूलक सडक नाटक, टक सो, हस्तकला, चित्रकला, मूर्तिकला तथा कृषि, वनस्पतीलगायतका सामग्री प्रदर्शन गरिने बताइएको छ ।  

विदेशी मुद्रा आर्जन, रोजगारी सिर्जना, समग्र आर्थिक विकास र समृद्धिमा महोत्सवले टेवा पुग्ने पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले बताउनुभयो । नेपाल पर्यटन बोर्ड, पोखरा महानगरपालिका, गण्डकी प्रदेश सरकार र पोखरा पर्यटन परिषद् महोत्सवको प्रवर्धकको भूमिकामा छन् ।