• १२ साउन २०८१, शनिबार

भारतमा सङ्गठन राम्रो नभएको भए जनयुद्ध १० वर्षसम्म जान सक्ने थिएन : प्रधानमन्त्री

blog

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा खुसीराम पाख्रिनको छैटौँ स्मृति दिवस तथा खुसीराम पाख्रिन स्मृतिग्रन्थ विमोचन गर्नुहुँदै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ । तस्बिर : प्रधानमन्त्रीको निजी सचिवालय

काठमाडौं, मङ्सिर ९ गते। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारतमा राम्रो सङ्गठन बनाउन नसकेको भए जनयुद्ध १० वर्षसम्म अघि बढ्न नसक्ने महसुस गरेको बताउनुभएको छ।  शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा खुसीराम पाख्रिनको छैटौँ स्मृति दिवस तथा खुसीराम पाख्रिन स्मृतिग्रन्थ विमोचन समारोहलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो। 

उहाँले भारतमा राम्रो सङ्गठन नबनाएको भए नेपालमा गणतन्त्र ल्याउने कुरा मुस्किल हुने बताउनुभयो। उहाँले भारतमा सङ्गठन हुनुको कारणले नै आफूहरूले भूमिगत रूपबाट धेरै सहयोग प्राप्त गरेको बताउनुभयो। उहाँले कार्यकर्तादेखि लड्ने योद्धासमेत भारतबाट पाएको बताउनुभयो। 

उहाँले भारतमा भएका लाखौँ नेपालीलाई सङ्गठित र आन्दोलित गर्ने कुराको भूमिका पाख्रिनले गर्नुभएको बताउनुभयो। भारतमा सङ्गठन विस्तार गर्न राजनीतिक नेताहरूको भन्दा पाख्रिन जस्ता सांस्कृतिककर्मीको भूमिका बढी महत्त्वपूर्ण रहेको बताउनुभयो।

उहाँले भन्नुभयो, ‘‘भारतमा हामीले राम्रो सङ्गठन बनाउन नसकेको भए जनयुद्ध १० वर्षसम्म अघि बढ्ने र त्यसले गणतन्त्रसम्म नेपालमा ल्याउने कुरा सायद मुस्किल हुन पनि सक्थ्यो। भारतमा सङ्गठन हुनुको कारणले नै हामीले थुप्रै चिज भूमिगत रूपबाट त्यहाँबाट सहयोग प्राप्त गर्‍यौँ। कार्यकर्ता प्राप्त गर्‍यौँ, लड्ने योद्धा सिधै आएर फौजी मोर्चामा जाने र आउनेहरू पनि भयो। सबै सबै धेरै किसिमका प्राविधिकदेखि सेक्युरिटीसम्म सबै विषयमा इण्डियामा भएका लाखौँ नेपालीलाई सङ्गठित र आन्दोलित गर्ने कुराको भूमिका रह्यो। त्यसो गर्नेमा राजनीतिक नेताको भन्दा कमरेड खुसीराम पाख्रिन जस्ता सांस्कृतिककर्मीहरुको भूमिका बढी महत्त्वपूर्ण भयो। यसले निकै छिटो गतिमा नेपालीलाई सङ्गठित गर्न र आन्दोलित हुन उत्प्रेरित गर्‍यो।’

प्रधानमन्त्री प्रचण्डले पाख्रिनको स्मृति ग्रन्थले भावी पुस्तालाई उहाँको योगदानको बारेमा बुझाउने विश्वास व्यक्त गर्नुभयो।