• १३ असोज २०८१, आइतबार

ज्याग्दीखोला साहित्य–कला पुरस्कार तीन स्रष्टा सम्मानित

blog

ज्याग्दीखोला साहित्य प्रतिष्ठान स्याङ्जाले गरेको सम्मानमा तीन स्रष्टा । तस्बिर : अर्जुन काफ्ले

अर्जुन काफ्ले
स्याङ्जा, मङ्सिर ९ गते । 
पुतलीबजार नगरपालिका–१ मा ज्याग्दीखोला साहित्य प्रतिष्ठान स्याङ्जाले स्रष्टा/द्रष्टा सम्मान, पुरस्कार वितरण तथा ज्याग्दीखोलाको तरङ्ग–३२ को लोकापर्ण कार्यक्रम गरेको छ ।

यहाँ  ज्याग्दीखोला साहित्य–कला पुरस्कारले कवि पोषराज पौडेल, विश्वराधानेत्रा साहित्य पुरस्कार २०८० ले साहित्यिक व्यक्तित्व डा. गोविन्दप्रसाद शर्मा(सुकुम) र कथाकार वनमाली निराकारलाई ज्याग्दीखोला साहित्य सम्मान–२०८० ले सम्मान गरिएको छ ।

२०७६ सालमा हरेक वर्ष प्रदान गर्ने गरी प्रतिष्ठान स्याङ्जाले स्थापना गरेको १० हजार राशिको साहित्य–कलाबाट पुरस्कृत ७९ वर्षीय पौडेल कास्की, पोखराको घार्मीमा जन्मनु भएको थियो ।

खण्डकाव्य, जीवनी, काव्य, कविता लगायतका दुई दर्जन पुस्तक प्रकाशित गर्नु भएका पौडेल गण्डकी वाङ्मय पुरस्कार, मदनमोहन स्मृति पुरस्कार लगायतका पुरस्कार सम्मानित भइसक्नु भएको छ । 

यस्तै प्रतिष्ठानका अध्यक्ष देवेन्द्र लम्सालले मातापिताका नाममा २०७५ सालमा स्थापित १५ हजार राशिको विश्वराधानेत्रा साहित्य पुरस्कारले तिन दशकभन्दा बढी समयदेखि निरन्तर साधनारत साहित्यकार डाक्टर शर्मालाई प्रदान गरिएको हो ।

चार जना साहित्यकार सम्मानित यो पुरस्कार समाजवादी यथार्थवाद अथवा आलोचनात्मक यथार्थवादी धारामा कलम चलाउने स्रष्टा–द्रष्टालाई प्रदान गरिँदै आएको हो ।

प्रगतिवादी साहित्यको उन्नयनमा समर्पित हुँदै समालोचना, निबन्ध, आख्यान, कवितालगायतका विधामा कलम चलाउँदै आउनु भएका सुकुमका ३४ भन्दा बढी सिर्जनात्मक, समालोचनात्मक तथा अनुसन्धानमूलक कृतिहरू प्रकाशित भएका छन् भने एक दर्जन पुरस्कार प्राप्त गर्नु भएको छ ।

यस्तै, २०७४ सालमा प्रतिष्ठानले स्थापना गरेको साहित्य सम्मानले सम्मानित निराकार २००६ चैत्रमा पाल्पाको तानसेनमा जन्मनु भएको थियो ।

आधुनिक नेपाली कथा हस्तिका रूपमा परिचित वनमालीका पाँच वटा कथासङ्ग्रह प्रकाशित भएका छन् । यस सम्मानबाट यसअघि छ जना साहित्यकार सम्मानित भई सहेका छन् ।

३२ वटै कथा, कविता, लघुकथा, निबन्ध लगायतका रहेको ज्याग्दीखोलाको तरङ्ग–३२ को भीम रानाभाटले चर्चा गर्नु भएको थियो । पुरस्कार वितरण तथा ज्याग्दीखोलाको तरङ्ग–३२ को लोकापर्ण प्रा.डा. ताराकान्त पाण्डेले गर्नु भएको थियो ।

कार्यक्रममा पूर्वमन्त्री त्रिलोचन ढकाल, सांसद ध्रुव लम्साल, साहित्यकार विश्वप्रेम अधिकारी, चिन्तु गिरी लगायतले मन्तव्य राख्नु भएको थियो ।