• २३ पुस २०८१, मङ्गलबार

तिलौराकोटलाई विश्व सम्पदा सूचीमा राख्ने तयारी

blog

काठमाडौँ, कात्तिक १७ गते । गौतम बुद्धले २९ वर्ष बिताएको प्राचीन शाक्य गणराज्यको राजधानी सहर तिलौराकोट दरबार क्षेत्रलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने तयारी भइरहेको छ । सरकारले विश्वको ठुलो खुला सङ्ग्रहालय दाबी गरिएको तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (संयुक्त राष्ट्रसङ्घीय अङ्ग–युनेस्को) को जवाफ पर्खिरहेको छ ।

पुरातत्व विभागका महानिर्देशक सौभाग्य प्रधानाङ्गका अनुसार तिलौराकोट क्षेत्रलाई विश्व सम्पदा क्षेत्रमा सूचीकृत गर्न स्थानीय सरकार, स्थानीय तह, स्थानीय बासिन्दा, विज्ञहरूसँग छलफल र सिमानाबारे प्रस्ट पारेर युनेस्कोलाई पत्र पठाइएको छ ।

उहाँले भन्नुभयो, “तिलौराकोटमा गरिएका अध्ययन अनुसन्धानबाट बुद्धको राजप्रसाद रहेको पुरातात्त्विक प्रमाण, बुद्ध ग्रन्थ, चिनियाँ यात्रीको यात्रा वृत्तान्त र उत्खननबाट प्राप्त सामग्रीले सुरक्षित स्थल रहेको प्रमाणित भए अनुसार संरक्षित क्षेत्रका रूपमा सूचीकृत गर्ने काम भइरहेको छ ।”

उहाँले सन् २०२४ सम्ममा सूचीकृत गर्ने तयारी अनुसार युनेस्कोले पठाएको जवाफ अनुसार तयारी गरेर आगामी विश्व सम्पदा सम्मेलनमार्फत थप प्रक्रिया अघि बढाइने बताउनुभयो । उहाँका अनुसार मठमन्दिर तथा पुराना नेपाली मौलिकता बोकेका घरलाई विश्व सम्पदामा सूचीकृत गर्न युनेस्को तयार देखिएको छ ।

पुरातत्त्व विभागले १६ वटा क्षेत्रलाई सम्भावित विश्व सम्पदा क्षेत्रको सूचीमा राखेर अध्ययन, अनुसन्धानको काम अघि बढाएको भन्दै उहाँले काभ्रेको पनौती क्षेत्रलाई समेत सम्पदा क्षेत्रमा सूचीकृत गर्ने प्रक्रियासमेत जारी रहेको बताउनुभयो ।

ऐतिहासिक, धार्मिक तथा पुरातात्त्विक नगर पनौतीलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने कार्य जारी रहेको छ । युनेस्कोका नेपाल प्रतिनिधिले समेत पनौतीका ऐतिहासिक, धार्मिक तथा पुरातात्त्विक सम्पदाको अवलोकन गरिसक्नुभएको छ । थप प्रक्रिया अघि बढाउनेबारे शुक्रबार नगरपालिकामा थप छलफल हुँदै छ । पनौतीलाई विश्व सम्पदा क्षेत्रमा सूचीकृत गर्न आवश्यक तयारी अनुसार स्थानीय जनतासँग शुक्रबार पनौती नगरपालिकाले अन्तर्क्रिया कार्यक्रमको आयोजना गर्दै छ । उक्त अन्तर्क्रिया कार्यक्रममा विभागका तर्फबाट विभागका अभिलेख अधिकृत देवेन्द्र भट्टराई र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका तर्फबाट सहसचिव सुरेशकुमार श्रेष्ठ सहभागी हुने जनाइएको छ ।

विभागका अभिलेख अधिकृत देवेन्द्र भट्टराईले पनौती नगरपालिका–७ लाई विश्व सम्पदामा सूचीकृत गर्न शुक्रबार स्थानीय जनतासँग छलफल गरिन लागेको बताउनुभएको छ । उहाँले पनौतीलाई यसअघि नै विश्व सम्पदा क्षेत्रमा सूचीकृत गर्ने तयारी भए पनि केही प्रक्रिया पूरा नभएकाले अहिले पुनः सुरुदेखि प्रक्रिया अघि बढेको जानकारी दिनुभयो । विभागले जनकपुर, मुस्ताङ, लोमान्थाङ, खोकना, रामग्राम, पनौती, गोरखा दरबार क्षेत्र, तिलौराकोट, कीर्तिपुर, नुवाकोट दरबार क्षेत्र, दैलेखको दुल्लु, रुरु क्षेत्र, सिँजा उपत्यका, तानसेन र साँखुलाई सम्भावित विश्व सम्पदा क्षेत्रको सूचीमा राखेको छ । उक्त सूचीमध्ये हाललाई तिलौराकोटलाई सूचीकृत गर्ने तयारी अघि बढेको र लगत्तै पनौतीलाई पनि सूचीकृत गरिने विभागले जनाएको छ । 

युनेस्कोले कुनै पनि राष्ट्रको विशेष सांस्कृतिक महत्त्वको धरोहरहरूलाई आफ्नो सूचीमा सूचीबद्ध गरेपछि यसलाई विश्व सम्पदा समितिद्वारा चयन गरिने छ । सूचीबद्ध भएको सम्पदा क्षेत्रको रेखदेख युनेस्कोको तत्त्वावधानमा हुने विभागले जनाएको छ । पनौतीलाई सरकारले प्राचीन स्मारक संरक्षण ऐन, २०३१ अनुसार विसं २०५८ मा ‘स्मारक क्षेत्र’ घोषणा गरिसकेको छ ।

विभागका अनुसार नेपालको चार क्षेत्रलाई विश्व सम्पदा सूचीमा सूचीकृत गरिएको छ । काठमाडौँ उपत्यकाका वसन्तपुर दरबार क्षेत्र, पाटन दरबार क्षेत्र, भक्तपुर दरबार क्षेत्र, पशुपतिनाथको मन्दिर, स्वयम्भूनाथ, बौद्धनाथ र चाँगुनारायण मन्दिरलाई सांस्कृतिक, चितवन राष्ट्रिय निकुञ्ज, लुम्बिनी र सगरमाथा राष्ट्रिय निकुञ्ज रहेका छन् । 

  

Author
मीनराज भण्डारी

भण्डारी पर्यटन र नागरिक उड्डयन क्षेत्रमा कलम चलाउनुहुन्छ ।